काठमाडौं । ‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नाराका साथ १०औँ विश्व स्कुल दूध दिवस मनाइने भएको छ । नेपाल डेरी एसोसिएसनले असोज ३ गतेदेखि असोज ९ गतेसम्म साताव्यापीरूपमा दिवस मनाउने घोषणा गरेको हो । एसोसिएसनको आयोजना एवं राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र केन्द्रीय दुग्ध सहकारी संघको सहकार्यमा दिवस मनाइने बताइएको छ ।
दिवस विशेष गरी विद्यालयस्तरका विद्यार्थीलाई दूधको महत्व र यसको स्वास्थ्य लाभबारे सचेत गराउने उद्देश्यले हरेक वर्ष विश्वभर सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार दिवसका अवसरमा विभिन्न विद्यालयमा विद्यार्थीलाई दूध सेवन गराइनेछ भने विभिन्न आश्रम र संस्थामा रहेका बालबालिकालाई पनि दुग्ध पदार्थ वितरण गरिनेछ । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग छलफल गरी दूधको महत्वबारे चेतनामूलक कार्यक्रम गरिनेछ । अन्तिम दिन असोज ९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रको उपस्थितिमा औपचारिक कार्यक्रम गरी साताव्यापी कार्यक्रम समापन गरिने दाहालले जानकारी गराउनुभएको छ ।
नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गरिनुपर्ने भए पनि हाल ८५ लिटरमात्र उपभोग हुने गरेको छ । दूधलाई पूर्ण आहारका रूपमा लिइन्छ । मानिस जन्मने बेलाको प्रथम आहार नै दूध हो । जन्मेको छ महिनासम्म बालबालिकाहरूलाई दूधमात्र दिइन्छ । जन्मदेखि मृत्युपर्यन्तसम्म पनि हाम्रो संस्कारका लागि दूधको सधैँ आवश्यकता पर्छ ।
विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थबाट वञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सन् २००० देखि विश्वभर मनाइँदै आएको छ ।