लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा ७ विकेटको जित हात पारेको छ। घरेलु टोली इंग्ल्यान्डले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३६ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा ३१७ रन बनाएको हो।
गएको १ वर्षदेखि शानदार फर्ममा रहेका हेडले अविजित १५४ रन बनाउनुभयो । १२९ बलको सामना गरेका उनले २० चौका र ५ छक्का प्रहार गर्नुभयो ।
मार्नस लाबुसाङ्गेले ६१ बलमा ७७ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गर्नुभयो । उहाँहरु चौथो विकेटका लागि अविजित १४८ रनको साझेदारी गर्नुभयो । स्टेभन स्मिथ र क्यामरुन ग्रिनले ३२ रन जोड्नुभयो । इंग्ल्यान्डका अदिल रसिदबाहेक अन्य कुनै बलरले १० ओभरको कोटा समेत पुरा गर्नुभयो । रसिदले ५९ रन खर्चेर १ विकेट लिनुभयो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ३१५ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका लागि बेन डुकेटले ९१ बलमा ९५ रन जोड्नुभयो । उहाँले ११ चौका प्रहार गर्नुभयो । उहाँले ली जयाकसँग मिलेर दोस्रो विकेटका लागि १२० रनको साझेदारी गर्नुभएको थियो ।
ज्याकले ५६ बलमा ६२ रन जोडे। ब्याट्सम्यान हाबी भएको खेलमा अस्ट्रेलियाले ८ जनालाई बलिङ गराएको थियो। संयोगवश ब्याटिङमा जमेका हेड र लामुसाङ्गे नै बलिङमा पनि जम्नुभएको थियो ।
अस्ट्रेलियाले स्पिनर हाबी भएपछि यी २ लाई प्रयोग गरेको थियो। एडम जाम्पाले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिनुभयो ।