सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

फाइल तस्बिर

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई-चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थालेका छन् ।

पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् । सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार तीन सय ५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताउनुभयो । अघिल्लो वर्षको सोही अवधिमा १० हजार आठ सय ९७ जना पर्यटकले पदयात्रा गरेका थिए । हालसम्म फ्रान्सका एक हजार एक सय ७२, इजरायलका एक हजार ८२, जर्मनीबाट आठ सय ९२, भारतका आठ सय २८ जना पर्यटकले यो भेगको भ्रमण गरेका उहाँले जानकारी दिनुभयो ।

पर्यटक आउने याममा दैनिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेकामा बर्खायाममा पर्यटक नआउँदा दैनिक रु दुई-चार हजार आम्दानी हुँदै आएकामा हाल रु १५ देखि ३० हजारसम्म कारोबार हुने गरेको मस्र्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताउनुभयो ।

हिमाल, उच्च पहाडका र पहाडका साथै यहाँको रीतिरिवाज, वेशभूषाबारे जानकारी लिँदै संसारको सबैभन्दा अग्लो मानिसएको थोराङला पासबाट मुस्ताङक र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् ।

पर्वतारोण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन् । यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने गरेको पदयात्रा व्यवसायीहरूले बताएका छन् । विगतका वर्षहरूमा झै यो वर्ष पनि दैनिक चार सय पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?