इलाम । पर्यटक आगमन बढ्दै जाँदा इलाममा महंगो खर्च गरेर होटल खुल्नेक्रम बढेको छ । इलाम बजारसहित कन्याम, अन्तुलगायतका क्षेत्रमा करौडौं लगानीमा होटल खुलेका छन् । सुर्योदय नगरपालिका-५ को अन्तु भञ्ज्याङमा जिल्लामा नै पहिलो पटक चार तारे होटल संचालनमा आएको छ । झापाका रामचन्द्र मैनालीले होटल खोल्नुभएकाे हाे । क्यासिनोसमेत सञ्चालन गर्ने लक्षका साथ खुलेको होटल पूर्णरुपमा निर्माण सकिदा ५० करोड लगानी पुग्ने सञ्चालक मैनालीले बताउनुभयो ।
श्री अन्तु होटल हिल टावर नाम दिइइएको होटलमा मापदण्ड अनुसार सबै खाले सुविधा प्रदान गरिने सञ्चालकको भनाई छ । होमस्टेको रुपमा विकास भएको अन्तुमा अहिले दर्जनौ महंगो लगानीका पनि होटल छन् । सूर्योदय दृष्यावलोकनसहित लोपाेन्मूख लेप्चा जातिको संस्कृति, हराभरा चियावारी र अन्तु पोखरी यहाँका मूख्य आर्कषण हुन् । मेची राजमार्गको फिक्कलवाट १५ किलोमिटर दुरीमा रहेको अन्तुमा रमाउन देशविदेशवाट वाक्लो गरि पर्यटक आउने गरेकाले नै स्थानीय बाहिरका लगानीकर्ताको रोजाईमा अन्तु परेको हो ।
पूर्वका कन्याम, पशुपतिनगर, फिक्कल, नयाँबजार, उत्तरी माइपोखरी, पश्चिमी मंगलवारेलगायत क्षेत्रमा पनि होटलको क्षमता र सेवा सुविधा बढाउनेहरु प्रसस्तै छन् । होटलमा लगानी बढ्नु राम्रो पक्ष भएपनि गुणस्तरीय सेवा र पाहुनाको आदरसत्कारमा विशेष ध्यान दिनु पर्ने होटल व्यवसायी संघ, इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो ।
जिल्लामा ४ सय ५० वटा होटल सञ्चालनमा छन् । ए ग्रेडका ८०, मझौला २ सय र साना १ सय ७० होटल सञ्चालनमा छन् । पर्यटन विकासका लागि मेरुदण्डकोरुपमा रहेको होटल व्यवसायमा देखिएको आर्कषण राम्रो हो । हरेक होटलले दिने सेवालाई प्रभावकारी वनाउदै स्थानीय उत्पादनको खपत र स्थानीयलाई रोजगारी दिन विशेष ध्यान पुर्याउनु पर्ने देखिन्छ ।