काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय परिसरमा यतिबेला नेता- कार्यकर्ताको भीड लागेको छ ।
आइतबार साँझ पार्टीले नेता कार्यकर्तालाई यथाशक्य चाँडो केन्द्रीय कार्यालय वनस्थलीमा आउन आग्रह गरेपछि नेता कार्यकर्ताको भीड लागेको हो ।
छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गर्नुभएको थियो ।
सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे पक्राउ परेसँगै रास्वपाले आकस्मिक भेला बोलाएको हो ।
यसैबीच कास्की प्रहरीले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अहिलेसम्म पक्राउ पुर्जी जारी नभएको दाबी गरेको छ । तर, रास्वपाले भने सभापतिलाई पक्राउ गर्न खोजिएको भन्दै विरोध गरेको छ ।
गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा रविले सरकारीबाट नियमविपरीत आएको रकम खर्च गर्न भूमिका खेलेको देखिएको भन्दै सहकारी ठगीसम्बन्धी छानबिन समितिले लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।