काठमाडौं । घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झना गरिएको छ । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले विगतका वर्षहरू जस्तै यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजनाबीच उनीहरूको योगदान र सम्झना गरिएको हो ।
घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण, दीप प्रज्वलित, एक मिनट मौनधारण गरेर कार्यक्रम सम्पन्न गरेको छ । ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।
जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न माल्यार्पण कार्यक्रममा वरिष्ठ समाजसेवी प्रेमसिंह धामी, सनतकुमार गिरी, शिव खत्री, लक्ष्मण तामाङ, यसुधा पौडेल, शान्ति मगरलगायत व्यक्तित्वको उपस्थिति थियो । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोटस्थित दुर्घट्नामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।
विसं २०६३ असोज ७ गते भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा.हर्क गुरुङ, संरक्षणविद् डा.तीर्थमान मास्केसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएउनुभएको थियो । विश्ववन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।