सरकारी लक्ष पुरा गर्न जनतालाई अनुभुती हुने गरी काम गर्नुस : उद्याेगमन्त्री भण्डारी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । उद्याेग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले जनतालाई अनुभुती हुने गरी काम गर्न कैलालीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएकाे छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा आयोजित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय, खाद्य, ब्यवस्था तथा गुण नियन्त्रण, बाणिज्य तथा नापतौललगायतका कार्यालयको प्रगती बारे असन्तुष्टी जनाउँदै सरकारी लक्ष र जनतालाई अनुभुती हुने खालले काम गर्न निर्देशन दिनुभएकाे हाे ।

'बाणिज्य कार्यालय, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय, भन्सार र आन्तरिक राजश्व कार्यालयका गतिबिधि बढेको पाइएन', मन्त्री भण्डारीले भन्नुभयाे, “तपाइँहरुको प्रगती पुरानै स्थितिमा छ भन्ने अहिलेको प्रस्तुतिले थाहा भएको छ, प्रगती बढाउनुस, कहाँ कसले समन्वय सहकार्य गर्ने हो गर्नुस र समस्या भएको ठाउँमा सघंले गर्नुपर्ने काम भनिदिनुहोस, तर परिणाम देखाउने गरी काम गर्नुस, अनुगमनको पाटो उहिँ पुरानो छ, चाडबाड आइरहेको छ, अनुगमनको कुनै योजना देखिएन, हालसम्म भएको अनुगमनले दिएको परिणाम केही पाइएन, गलत गर्नेलाई दण्ड जरिवाना भयोकी भएन, कि फेरी गल्ती दोहोरिरहेका छन्, स्पस्ट आउनुपर्थ्याे आएन ।”

'भन्सार कार्यालयले सरकारी लक्ष अनुसार राजश्व उठाइरहेको छैन, के चोरी तस्करी नियन्त्रण गर्नै नसकिने हो ?', मन्त्री भण्डारीले भन्नुभयाे “सरकारी लक्ष भन्दा भन्सार कार्यालयले दोब्बर राजश्व उठाउनुपर्छ, १ सय रुपैयाँको बाहेक अरु समान बिना भन्सार ल्याउन नपाइने कानुन छ नी, त्यसको कार्यान्वयन गर्ने निकाय को हो, त्यही भन्सार कार्यालय र शुरक्षा निकाय होइन, अनी कसरी भन्सार छलेर दैनिक लाखौँको समान भित्रिदैछ, कि हाम्रा शुरक्षा निकाय जिम्मेवार बनेका होइनन्, नेपालमा अनुगमनको बाटो मात्रै प्रभावकारी बन्ने हो भने, चोरी, तस्करी पुर्ण रुपमा रोकिन्छ ।” बिना बिल, बिना भन्सारको समान भित्रिएको पाइए जफत गर्ने कानुनी प्रावधाननै छ अनी त्यो खालको अनुगमन किन हुँदैन उहाँले थप्नुभयाे “भन्सारमा कडाइ, आन्तरिक राजश्व छलीको अनुगमन र बिषेश रुपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्छ, अनी मात्रै सरकारी लक्ष प्राप्त गर्न सकिन्छ, यसमा सम्बन्धित कार्यालय प्रमुख र शुरक्षा निकायलाई नतिजा आउने गरी काम गर्न निर्देशन दिन्छु ।”

'दशैँ तिहार नजिकिदैछ सुपथ मुल्य पसल सञ्चालन छन्, तिनको प्रभावकारीता र सुबिधा बारे कर्मचारीनै अनबिज्ञ देखिन्छन्,' भण्डारीले भन्नुभयाे- “अब त्यस्तो नहोस दशैँ, तिहार देखी छठ सम्म बजार अनुगमन कडाइका साथ गर्नुस तब मात्र जनताले उचित मुल्यमा दैनिक उपभोग्य बस्तु उपभोग गर्न पाउनुहुन्छ, अहिलेको सरकार बिषेश परिस्थितीमा बनेको छ, हामीले यतिबेला पनि जनतालाई सहि तरिकाले सुबिधा दिन नसके हामीमाथि थप प्रश्न खडा हुन्छन्, सरकार प्रधानमन्त्री र मन्त्री मात्रै होइनन्, हरेक कार्यालय प्रमुख सरकार प्रमुख हुन्, तपाइहरुले जती राम्रो सेवा दिन सक्नुहुन्छ त्यती सरकारी लक्ष पुरा हुन्छ र जनताले सहज सेवा पाउने छन् ।”

बैठकमा सुदुरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, सुरक्षा निकायका प्रमुख र जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?