काठमाडौं । देशभरका ७६ जिल्ला डेंगु संक्रमण फैलिएको छ । हुम्लाबाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ७६ जिल्लामा डेंगुका साढे ११ हजार बढी बिरामी छन् । डेंगु रोगका कारण हालसम्म ६ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।
पछिल्लो दुई साता डेंगु संक्रमितको संख्या बढेको हो । पछिल्लो समय देशभर गर्मी बढेका कारण संक्रमितको संख्या बढेको हो । पछिल्लो हप्ता पानी पर्न रोकिएसँगै डेंगुका लार्भा सक्रिय हुन थालेका छन् । जसका कारण डेंगु संक्रमण बढ्दो छ । जनस्वास्थ्यविद्का अनुसार बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकासलगायत कारण डेंगु फैलिएको हो ।
सबैभन्दा बढी गण्डकी प्रदेशमा पाँच हजार ४८२ जना संक्रमित भएका छन् । सबैभन्दा बढी कास्की जिल्लामा डेंगुका बिरामी देखिएका छन् । कास्की, तनहुँमा संक्रमण फैलिरहेको छ । त्यस्तै, बागमती प्रदेशमा भने तीन हजार १७८ जनामा संक्रमण भएको छ । कास्की, तनहुँ, काठमाडौं, पर्वत, चितवन, गोरखा, ललितपुर उच्च जोखिममा छन् ।
डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि-विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ । किट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
नेपालमा पहिलोपटक २००४ मा एक विदेशी नागरिकमा डेंगु संक्रमण देखिएको थियो । त्यसयता हरेक वर्ष देखिन थालेको छ । त्यसयता २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगुको संक्रमण धेरै देखिएको थियो । २०१९ मा डेंगुले महामारीको रूप नै लिएको थियो । डेंगु दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर, यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ ।
अस्पतालमा बिरामीको चाप, बेड अभाव हुन थाल्यो
डेंगु संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । जाँच गराउन आउने र भर्ना हुने बिरामीसमेत बढेको अस्पतालहरूले जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आकस्मिक कक्षमा हरेक दिन सय जनाभन्दा बढी डेंगुका बिरामी आउने गरेका छन् । आकस्मिकबाहेक ओपिडीमा पनि त्यतिकै बिरामीको भिड रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो । अस्पताल आउनेभन्दा नआउनेको संख्या अझ धेरै हुनसक्ने उहाँको भनाइ छ । अस्पतालमा डेंगुका बिरामीको चाप बढेसँगै बेडको अभाव हुन थालेको छ । यही अवस्था रहिरहे केही दिनमा काठमाडौंमा सकसपूर्ण अवस्था आउने उहाँको विश्लेषण छ ।
आकस्मिक कक्षमा आएका अधिकांश मानिस जटिल अवस्थामा मात्रै आइपुगेका छन् । उनीहरूमध्ये कतिपयलाई आइसियुमा राखेर उपचार गर्नुपरेको छ । विगतका वर्षमा डेंगु संक्रमितहरू धेरै गाह्रो नहुँदै अस्पताल आउने गर्थे । तर, यसवर्ष भने निकै गाह्रो र जटिल बनिसकेपछि मात्रै बिरामी आउने गरेको चिकित्सक बताउँछन् । अस्पतालमा डेंगुसँगै स्क्रब टाइफस र रेबिजका बिरामीको पनि चाप बढेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार अत्यधिक उल्टी हुने, फोक्सो, पेटमा पानी जमेका, गिजा, पिसाबबाट रक्तस्राव भएर बिरामी अस्पतालमा भर्ना भइरहेका छन् । डेंगु संक्रमित बिरामीलाई दुईदेखि सात दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेज हुन्छ ।
टेकु मात्रै होइन, उपत्यकाका अन्य अस्पतालमा पनि डेंगुका बिरामी बढेका छन् । वीर अस्पतालमा समेत डेंगुका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको अस्पतालले जनाएको छ ।
अझै चार साता जोखिमपूर्ण छ : डा. दाहाल
डेंगु संक्रमण घट्नाको सट्टा अझै बढिरहेको छ । डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन् । अझै चार हप्ता डेंगु संक्रमण बढ्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यस पटकको दशैँमा डेंगु संक्रमण झन् फैलने सम्भावना देखिएको छ । ‘उच्च रूपमा डेंगु संक्रमण फैलिने भनेकै भदौ र असोज महिना हो ।
अझै २०/२५ दिन जोखिमपूर्ण समय छ । आवश्यक सतर्कता अपनाउन जरुरी छ,’ दाहालले भन्नुभयो । डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । विगत पाँच वर्षको तुलनामा अब देखिने डेंगु बढी पीडादायी र गम्भीर बन्दै गएको छ । डेंगुको उपचार गर्ने कुनै खास औषधी हुँदैन । डेंगुको उपचार नभएको हुँदा सबैभन्दा पहिला त यो रोग लाग्नबाट बच्नु सर्वाेत्तम हो ।
रोगबाट बँच्न डेंगु लगाउने लामखुट्टेको टोकाइबाट बँच्नुपर्छ । त्यसका लागि त्यो जातिको लामखुट्टेलाई आफ्नो वरिपरि बासस्थान दिनु हुँदैन । पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्नुपर्छ, ताकि त्यहाँ यो लामुखट्टेले फुल पार्न नपाओस् । पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर बोत्तल, टायर, प्लाष्टिकमा पानी जम्दा लामखुट्टेले आफ्नो बासस्थान बनाउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच