काठमाडौं । मुलुकका दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ‘हिंसा’ शब्दले थप टकराव हुने स्थिति देखापरेको छ । गत भदौ १२ गते प्रतिनिधिसभा बैठकमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सचिवसमेत रहनुभएका सांसद योगेश भट्टराईले १० वर्षे माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि एमाले र माओवादी आरोप-प्रत्यारोप सुरु भएको थियो । सांसद भट्टराईले माओवादी हिंसा नभएको भए विद्युत् क्षेत्रमा अझै विकास गर्न सक्थ्यो भन्ने अभिव्यक्ति दिएपछि माओवादी सांसदहरूले नियमापत्ति जनाएका थिए । माओवादी सांसद माधव सापकोटाले माओवादी आन्दोलनलाई हिंसा भन्नु संविधानविपरीत भएको भन्दै रेकर्डबाट उक्त शब्द हटाउन माग गरे । तर, भट्टराईले माओवादी सशस्त्र संघर्ष हिंसा नै भएको पटक-पटक दोहोर्याएपछि माओवादी सांसदहरू थप आक्रोशित भएका थिए ।
दुई दलका सांसदहरू संसद् बैठकमा आमनेसामने भएपछि सभामुख देवराज घिमिरेले अभिव्यक्ति टुंग्याउन निर्देशन दिएपछि पनि भट्टराईले तत्कालीन समयमा माओवादीले धेरै हिंसा नै गरेको बताउनुभएको थियो । त्यसपछि माओवादी र एमाले सांसदबीच वादप्रतिवाद भएपछि सभामुख घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्दका बारेमा अनुसन्धान गर्न सचिवालयलाई निर्देशन दिएका दिनुभएको थियो । एमाले र माओवादी दुवैले भुलेको उक्त विषयलाई तीन दिनपछि भदौ १६ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे आफैँले प्रवेश गराउनुभयो । उहाँले भदौ १२ गते सांसद भट्टराईले प्रयोग गरेको हिंसा शब्द अभिलेखबाट हटाउनुपर्ने निर्णय सुनाउँदै त्यो शब्द असंवैधानिक र असंसदीय नरहेको उल्लेख गर्नुभयो । सभामुख घिमिरे हिंसा शब्द असंसदीय नरहेको निर्णय सुनाएपछि माओवादीका सांसदले फेरि आपत्ति जनाए । उनीहरूले माओवादी आन्दोलनलाई हिंसाभन्दा संविधान र विस्तृत शान्ति सम्झौताकै उल्लंघन हुने जिकिर दाहो¥याउँदै संसद् अवरुद्ध गरे । माओवादीले संसद् अवरुद्ध गरे पनि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा अमेरिका जानुअघि प्रतिनिधि सभामा सम्बोधन गर्ने तय भयो ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठक भने माओवादी केन्द्रले अवरोध गरेन । त्यसपछि संसद्को बर्खे अधिवेशन नै अन्त्य भयो । माओवादीको सशस्त्र द्वन्द्वलाई हिंसात्मक भनेर नेकपा एमाले र सभामुख देवराज घिमिरेले संविधान र विस्तृत शान्ति सम्झौताको उल्लंघन गरेको जिकिर गर्दै आएको माओवादी केन्द्रले आगामी संसद्को हिउँदे अधिवेशनमा पनि विरोध जारी राख्ने जनाएको छ । हिंसा शब्दले संसद्बाट सुरु भएको एमाले र माओवादी बीचको विवाद अहिले सडकमा पुगेको छ । हिंसा शब्दलाई लिएर एमाले र माओवादी केन्द्रका नेताहरूबीच सार्वजनिक स्थानबाटै आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।
माओवादी हिंसा मात्र होइन आतंक थियो : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसा मात्र नभएर आतंक नै थियो भन्दै हिंसा शब्द असंसदीय नरहेको जिकिर गर्नुभएको छ । महासचिव पोखरेलले द्वन्द्वको क्रममा समाज परिवर्तनको लागि भनेर बलिदान दिएका माओवादी कार्यकर्ताप्रति भने एमालेको सम्मान रहेको प्रष्ट्याउँदै भन्नुभयो, ‘माओवादीले गरेको हिंसा मात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसा मात्र थिएनन् आतंक थिए ।
माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौँ कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौँ र अहिले पनि गर्छौं ।’ महासचिव पोखरेलले हिंसा शब्दको विरोध गरेर माओवादीले संसद् अवरोध गर्नुको अर्थ नरहेको भन्दै गैरन्यायिक हत्याका घटनामा माफी नहुने भनेर माओवादीले नै हस्ताक्षर गरिसकेको जिकिर गर्नुभयो ।
‘प्रचण्डको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको छ’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गर्नुभएको छ । सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद् अवरुद्ध गरेको समेत आरोप लगाउनुभएका पोखरेलले भन्नुभयो, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसद्मा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णतः असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसद्भित्रै गतिरोध उत्पन्न भयो । हिंसाको विरोध गर्नु अराजनीतिक पनि होइन, असंसदीय पनि होइन । सत्ता गुमाएको कुण्ठामा हिंसा पनि असंसदीय भयो भनेर संसद् रोक्ने काम भयो, त्यसले कानुन निर्माणको महत्वपूर्ण समयमा संसद् स्थगित गर्नुपर्ने भयो ।’
प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशको हितविपरीत
महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशको हितविपरीत र खेदजनक रहेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढंगले भइरहेको दाबी गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ । मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेका छौँ । हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौँ, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौँ ।’
प्रदीप ज्ञवालीको जिकिर : ‘१० वर्ष लामो अकारण द्वन्द्वले मुलुक पछि पर्यो’
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष लामो अकारण द्वन्द्वले मुलुक पछि परेको टिप्पणी गर्नुभएको छ । इतिहासको मूल्यवान् समय १० वर्षे द्वन्द्वको कारणले खेर गएको जिकिर गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘अकारण मुलुक १० वर्ष द्वन्द्वमा भयो । केही कारण पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन । इतिहासमा एउटा ठूलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान् समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा द्वन्द्वको कारणले नभएकाले अर्को १० वर्ष त्यसको परिपूर्ति गर्न लाग्यो ।’
राजसंस्थाको विषयले प्रचण्ड पुनः विवादमा
पूर्व-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच भएको भेटवार्ताले राजनीति तरंगित भएको छ । प्रचण्ड र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै मिश्रले राजसंस्था पुनस्र्थापना नगर्ने हो भने देश विस्फोटको अवस्थातिर जानसक्नेतर्फ प्रचण्डको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभएको थियो । साथै, भेटमा प्रचण्डले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले सात बुँदामा जानकारी गराउनुभएको थियो । शाही सत्ताविरुद्ध १० वर्ष सशस्त्र विद्रोह गरेका तत्कालीन विद्रोही माओवादीका सर्वोच्च कमाण्डसमेत रहनुभएका प्रचण्डसँग राजसंस्थाको पक्षपोषक राप्रपाका वरिष्ठ नेताको भेटवार्ताबारे पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कटाक्ष गर्नुभयो ।
भेटवार्तालाई लिए प्रचण्डलाई विवादमा ल्याउने भूमिका मिश्र आफैँले खेलेका छन् । प्रचण्डले राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् भन्ने प्रतिक्रिया दिएको रवीन्द्रको भनाइलाई लक्षित गर्दै भट्टराईले बिरालो म्याउ गरेको रूपमा चित्रण गर्दै प्रचण्डको वास्तविकता त्यही भएको टिप्पणी गर्नुभएको छ । तर, मिश्रले प्रचण्डको हवाला दिँदै सार्वजनिक गरेका सात बुँदालाई लिएर प्रचण्डको सचिवालयले गम्भीर आपत्ति जनाएको छ । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र मिश्रको यो मनगढन्ते धारणा भएको उल्लेख गर्दै भन्नुभएको छ, ‘मंगलबार बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ । जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन ।’ अन्तरंग कुराकानी जेसुकै भए पनि प्रचण्ड निवासको छतमा हसिलो मुद्रामा देखिएका दुई परस्परविरोधी खेमाका नेताहरूको भेटवार्तालाई लिएर विपक्षीहरूले खेल्ने राम्रै मौका भने पाएका छन् । प्रचण्डले मिश्रसँग आफ्नै निवासमा बोलाएर भेट्नुको अर्थ सत्तामा रहेका कांग्रेस र एमालेलाई दबाबमा राख्न यो रणनीति अपनाएको हुनसक्ने कतिपयको विश्लेषण छ । भेटघाटको उद्देश्य जे भए पनि प्रचण्ड र मिश्रबीचको छलफलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुनः एकपटक विवादमा भने ल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच