असोज २ गते बुधबारबाट क्रमशः
बिहान सबेरै उठेर मार्निङ वाकमा निस्किएका धनीराम घर पुग्दा नौ बज्दै थियो । घर भित्रबाट निस्किएको छोरा बुहारीबीचको बिबाद सुनेका ऊनी केहीबेर बरण्डामा नै उभिइरहे ।
बुहारीले भन्दै थिइन्, ‘बुबाले उर्दी जारी गरे अनुसार मैले यो घरका जहानलाई खाना बनाएर ख्वाउनुपर्ने हो भने म माइत गएर बस्छु । म यस्तो बुहार्तन खेप्न सक्दिन ।’
‘काम गर्नाको पीरले जोगी भएँ, जोगी भएको भोलिपल्ट भोकै रहें’, भन्ने उखान चरितार्थ होला नि मोनिका ! तिम्रो यो अशिष्ट व्यवहारको जानकारी तिम्रा माइतीले थाहा पाएमात्र भने तिमीलाई घरभित्र पस्न पनि नदिई ‘भ्याकुरा खेदे जसरी’ ढोकैबाट लखेटेर फिर्ता पठाउन बेर लगाउँदैनन् ! भन्दै हाँस्यो अजय ।
मोनिकाले ठुल्ठुलो स्वरमा भनीन्, ‘गर्दिन भनेपछि गर्दिन ! बिबाहको बेला कुन कुराको कमी गरेका थिए मेरा माइतीले र म यहाँ भान्से बनेर बसौं ?’
‘खाना पनि माइतीघरबाटै आउने त होला ?’ भन्दै पुनः हाँस्यो अजय ।
अजयले माइतीको प्रसंग निकाल्ने बित्तिकै मोनिकाले रुँदै फलाक्न सुरु गरिन, ‘हो खाना पनि माइतीघरबाटै मगाउँछु । तिम्रा बाबुको भन्दा मेरा माइतीको दश गुणा बढी सम्पत्ति छ बुझ्यौ । खेत बारीको आयस्ता यति धेरै छ कि, तिम्रो घरमाजस्तो छोराको तलब, बाबुको पेन्सन कहिले आउला र दाल चामल किनौला भनेर कसैको मुख ताक्नु पर्दैन मेरो माइतीमा ।’
अजयले शान्त भावमा भन्यो, ‘धेरै नबोल है मोनिका । बुबाले कुनै नराम्रो कुरा भन्नु भएको छैन । जे जस्तो छ आफ्नो घरपरिवार हो, आफैंले सम्हाल्नुपर्छ भन्ने सोच तिमीभित्र किन पलाउन नसकेको ? घरको कुनै काम गर्नु पर्यो कि अनेक खाले नखरामात्र देखाउनुपर्ने तिमीलाई ? टिकटक र युट्युव चलाएर नै जिन्दगी बित्छ कि क्या हो ?’
रिसले रन्थनिँदै भोको पेट अफिसतिर लाग्यो अजय । घुक्यार्येर ढोका बन्द गरेकी बुहारी दिनभरि भोकै बसिन् कि अनलाइनबाट खाना मगाएर खाइन् धनीरामले मेसो पाएनन् ।
छोरा बुहारीको झगडा सुनेर जिल्लिएका धनीराम विचित्रको स्थितिमा पुगेका थिए ।
अर्को दिन मार्निङ वाकमा जान मन नलागेका धनीराम कोठामा चुपचाप सुतिरहेका थिए । त्यस्तैमा भान्सामा बसेर गन् गन् गर्दै गरेका सासु बुहारीको वार्तालाप ठोक्किन आइपुग्यो उनको कानमा ।
रिसले रन्थनिएकी बुहारीले भन्दै थिइन्, ‘बुबालाई आइन्दा घर-व्यवहारमा हस्तक्षेप नगर्न भन्दिनुहोस् है आमा ! म यो बुहार्तन खेपेर बस्न सक्दिन नि ! बरू छुट्टिएर अलग्गै बस्छु ।’
बुहारीको चर्को स्वर सुनेर त्रषित भएकी निरूले भनिन्, ‘मैले त कति पटक भनि सकें, सुन्ने भए पो !’
लगत्तै जिब्रोमा एक डाडु घ्यू घसेजसरी चिप्लो घस्दै भनिन्, ‘हेर न, बुबाले त्यत्तिकै रडाको मच्चाउनुभयो । भान्साको काम मैले गरेकै छु । घर-धन्दा गर्ने केटो पालेकै छ । बुबालाई बिनसित्ति किन बोल्नु परेको हो कुन्नि ? बिनाकाम घरमा बसेर कचकच गर्ने लोग्नेमान्छे त मलाई पटक्कै मन पर्दैन मोनिका । घरमा बसिरहन पनि कति सकेको हो कुन्नी ? म आफैं पनि दिक्क भइसकें’ भन्दै चेब्य्राई पारेर बुहारीसँग चोचोमोचो जोडिन् ।
जीवन प्रकृतिको नियमअन्तर्गत प्रतिपल चलिरहने एउटा स्वाभाविक प्रक्रिया हो ! उमेर बढ्दैमा आफूलाई ‘आफलेको ठाँडो’ सरह ठान्नु बुद्धिमानी नभएर हीन भावनाले ग्रस्त मानसिकताको प्रतीक हो । उमेरले साठी वर्ष हुँदैमा के फरक पर्छ ? हिम्मतमा कुनै कमी आएको छैन ।
मोनिकाले भनिन्, बुढो भएर के भयो ? स्वस्थ हुनुहुन्छ । कुनै काम खोजे हुँदैन ? घरखर्चमा भरथेग पनि हुन्थ्यो, घरमा शान्ति पनि हुन्थ्यो । छोराको कमाइमा मात्र कति रमाउने ? मैले भनिदिएकी छु है आमा, दोहोर्याएर म बुबाको गन् गन् र कच् कच् सुन्न चाहन्न नि !’
सासु बुहारीको बार्तालाप सुनेका धनिरामलाई परिवारसंँग आनन्दित भएर बुढेसकाल व्यतीत गर्ने आफ्नो सोच एउटा भयावह सपनाजस्तो आभाष हुनथाल्यो । दिग्भ्रमितझैँ हुन पुगेका उनले बुझ्नै सकेनन् के हो प्रेम ? र, के हो पारिवारिक आत्मीयताको परिभाषा ? भाउन्न होलाजस्तो भई आँखा चिम्लिएका उनले आफ्नो विवशतालाई एउटा क्रुर बिरालोसंँग दाँज्न पुगे अनि आफूलाई एउटा मुसा । जसले न सजिलै मर्न दिन्छ न त जीवित नै छोड्छ ।’
छोरा बुहारीको झगडा भएको सात दिन पनि नबित्दै एक दिन हतार-हतार बैठक कोठामा पसेकी निरूले भनिन्, बुहारीलाई खै के भएको छ आजकल ? छोराको टाउको खान लागिसकीन् । छोरामान्छेले श्रीमतीसँग सधैंभरि झगडा गरेर बस्ने कुरा पनि भएन ! के गरोस वेचरा ! केही सीप नचलेर बाध्य भएको अजय छुट्टिएर अलग्गै बस्नुपर्ने भयो भन्दैछ ।
त्यो कुरा सुन्दा छातीमा कसैले तातो फलामले डामे जसरी झस्किएका धनीराम सोधे, ‘किन एकाएक यो कुरा निस्कियो ? के म आउनु अगाडि पनि यो प्रसंग उठ्ने गथ्र्याे ?’
निरूले प्रष्ट शब्दमा भनिन्, तपाईं आउनु अगाडिसम्म अजय र मोनिका यो घरका मालिक थिए । बुहारीका मित्रमण्डलीको तास खेल्ने अखडा थियो यो घर । तास खेल्न आउनेको थरि-थरिका खाजाको फर्माइस मैले पूरा गर्नेगर्थें । बसन्तीलाई पनि त्यो कुरा रमाइलो लाग्थ्यो । तपाईं आएपछि त्यो सब बन्द भएको छ । अहिले आएर तपाईंप्रति धेरै गुनासो छ, खासगरी बुहारीको । छोरा बुहारीबीचको झगडा र छुट्टिन्छौं भन्ने धम्किको पछाडिको मुख्य कारण पनि त्यही नै हो जस्तो लाग्छ मलाई त । त्यसमाथि तपाईंले बच्चाबच्चीलाई जसरी बेला न कुबेला यो गर, त्यो नगर भनेर कच्-कच् गरिरहनु हुन्छ अरे !
श्रीमतीको कुरा सुनेर ‘छाँगाबाट खसेजस्तो’ भएका धनीरामले बिस्तारै भने– बच्चाबच्ची त हुन्, आला-काँचा छन्, व्यवहार बुझेका छैनन् । बिस्तारै बुझ्दै जान्छन् । सम्झाई-बुझाई गरेर उनीहरूलाई परिपक्व बनाउने जिम्मेवारी पनि हाम्रै त हो ।
सोचमग्न अवस्थामा क्षणभर चुप लागेका धनीरामले एकाएक भने, ‘आज म तिमीलाई एउटा जिम्मेवारी सुम्पिन गइरहेको छु निरू ।’
‘भन्नुस न, कस्तो जिम्मेवारी हो ?’
तिमीलाई थाहा छ निरू, आमा भनेको खोलाका दुई किनारलाई जोड्ने पक्कि पुलजस्तै हो जसले बच्चाबच्ची र बाबुबीचको सम्बन्धलाई जोडेर राखेको हुन्छ । आज तिमीले त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुपर्ने भयो । अजयलाई छुट्टिएर अलग बस्न हतार नगर्नको लागि तिमीले सम्झाई-बुझाई गर्नु पर्यो । यो बीचमा म पनि केही सोच्दछु, भन्दै कोठाभित्र पसे धनीराम ।
पराजित मन लिएर कोठाभित्र पसेका धनीरामले आफूलाई कुहिरोमा रुमलिएको कागको स्थितिमा पाए । उनलाई परिवारको दृष्टिमा आफू टुटफूट भई फ्याँकिएको प्रयोजनविहीन एउटा ‘आफलेको ठाँडो’ शरह भएको अनुभूति भयो, जसलाई दोहो¥याएर न उपयोगमा ल्याउन सकिन्छ न त त्यसको कुनै मूल्य नै हुन्छ ।
मनमा असैहृय पीडा अनुभूत गरेका धनीराम सोचमग्न मुद्रामा कोठाको झ्यालमा गएर उभिए । बाहिर आकाशमा सूर्यदेव विना कुनै बाधा चम्किरहेका थिए । सडकमा एक अर्कोलाई उछिन्दै हिँड्ने मानिसको आवाजाही उस्तै थियो । संसारका सबै कारोबार उस्तै गरेर चल्दै थिए । तर, धनीरामलाई चारैतिर सुनसान व्याप्त भएको भान भइरहेको थियो । कहीँ कुनै कतै आकर्षण बाँकी थिएन । सबै कुरा निरस र फिक्का भएको थियो । निकैबेरसम्म शून्यमा नियालेर यथास्थितिमा उभिइरहे उनी ।
त्यस्तैमा उनको अन्तरात्मामा अनायास एउटा भाव झंकृत भयो । त्यो भावको झङ्कारले धनीरामको मन तरङ्गित हुँदै गयो । उनीभित्र एकपछि अर्को गर्दै धेरै खाले प्रश्नले टाउको उठाउँदै थिए ।
ओहो ! मेरो मन किन विचलित हुँदैछ ? किन निरास हुँदैछु म ? संसार भनेको कर्म थलो हो । के म कर्म गर्नबाट पन्छिन खोज्दैछु ? कि भावनामा मात्र बगेर एउटा निस्क्रिय जीवन व्यतित गर्न सोच्दैछु ? सहज ढंगले जीवन जिउनका लागि यथार्थको धरातल चाहिन्छ । कसैलाई केही दिनु छ वा आफूले केही पाउनु छ भने पनि त्यही धरातलमा टेकेर यहाँ कर्म गर्नुपर्छ । मैले कर्मको अर्को एउटा लडाइँ लड्न पुनः हिम्मत जुटाउनुपर्दछ । हार्नका लागि होइन, जित्नका लागि ।
जीवन प्रकृतिको नियमअन्तर्गत प्रतिपल चलिरहने एउटा स्वाभाविक प्रक्रिया हो ! उमेर बढ्दैमा आफूलाई ‘आफलेको ठाँडो’ शरह ठान्नु बुद्धिमानी नभएर हीन भावनाले ग्रस्त मानसिकताको प्रतीक हो । उमेरले साठी वर्ष हुँदैमा के फरक पर्छ ? हिम्मतमा कुनै कमी आएको छैन ।
शारीरिक र मानसिक स्वास्थ स्थिति अझै पनि पैंतालीस वर्षकोजस्तो छ । कार्य कौशलताको कमी पनि छैन । आफूसँग भएको सीप र सामर्थको उपयोग गरेर परिवारको इच्छा किन पूरा नगर्ने ? अर्थोपार्जनको उपाय किन नखोज्ने ? पुनः एकपटक सक्रिय जीवन जिएर आफ्नो परिवारको भविष्य किन सुरक्षित नबनाउने ? समय बलबान हुन्छ, सम्हाल्ने काम उसैले गर्छ ।’
धनीरामको मनमा फैलिएको तरंग एउटा दृढ संकल्पमा रूपान्तरित हुँदै गयो । क्षणभरमा नै उत्साह र उमंगले भरपुर भएका उनले एउटा अठोट गर्दै प्रसन्न चित्तले त्यसलाई मसक्क पारेर बाँधे ।
मनमा असैहृय पीडा अनुभूत गरेका धनीराम सोचमग्न मुद्रामा कोठाको झ्यालमा गएर उभिए । बाहिर आकाशमा सूर्यदेव विना कुनै बाधा चम्किरहेका थिए । सडकमा एक अर्कोलाई उछिन्दै हिँड्ने मानिसको आवाजाही उस्तै थियो । संसारका सबै कारोबार उस्तै गरेर चल्दै थिए । तर, धनीरामलाई चारैतिर सुनसान व्याप्त भएको भान भइरहेको थियो । कहीँ कुनै कतै आकर्षण बाँकी थिएन । सबै कुरा निरस र फिक्का भएको थियो ।
तत्क्षण ‘म एक क्षण बाहिर निस्किएँ है निरू !’ भन्दै घरबाट बाहिरिएका उनी आफ्नो गन्तव्यतर्फ लागे ।
साँझमा घर फर्किँदा हातमा एउटा ठूलो खाम लिएर ट्याक्सीबाट ओर्लिएका धनीराम ‘ए निरू कता छ्यौ ?’ भन्दै घर भित्र पसे ।
भान्साबाट हस्याङ्गफस्याङ्ग गर्दै फरियाँको फेरले हात पुछ्दै आइपुगिन निरू ।
मन्द-मन्द मुस्कुराउँदै गरेका धनीरामले भने, बुझ्यौ निरू ! ‘तँ चिता, म पुर्याइदिन्छु’ भन्ने भगवत उक्ति आज मेरो जीवनमा लागु हुन गयो !
अचम्मित भएकी निरूले सोधिन् ‘त्यस्तो के भयो र ?’
हातमा लिएको ठूलो खाम देखाउँदै भने, ‘एकजना मित्रले धेरै दिनदेखि कामको अफर दिइरहेको थियो । विकट दुर्गममा के जानु भन्दै मैले नै आलटाल गर्दै आएको थिएँ । तर, आज जाने निधो गरें । उसले एउटा ठूलो कामको जिम्मेवारी सुम्पिएको छ मलाई । काम सम्पन्न गर्न पाँच–सात वर्ष लाग्छ होला । कार्यस्थल भने अलि टाढा नै छ । त्यहाँसम्म पुग्न झण्डै दुई दिनको बाटो गाडीमा जानुपर्छ । मैले यो हप्ता नै कार्यस्थलमा पुग्नु छ ।’
निरूले सोधिन, ‘कहाँ पुग्नुपर्ने हो कुन्नि ?’
धनीरामले हाँस्दै भने, ‘मनाङ, तिमी पनि जाने हो ?’
‘म पनि गएँ भने घर लथालिंग हुँदैन ? त्यसमाथि हुर्किएकी छोरी छ घरमा । म कसरी जान सक्छु र ?’ निरूले सशर्त उत्तर दिइन् ।
‘ठिक छ, तिमी यहीं बस । मैले त त्यत्तिकै भनेको हुँ ।’
‘धेरै टाढा दुर्गममा जाँदै हुनुहुन्छ । तलब भत्ता त राम्रै दिएका होलान् ? धेरै खर्च नगर्नु नि ! प्रत्येक महिनाको तलब पठाउन नबिर्सिनु ! छोरीको लागि जम्मा गर्नुपर्छ । बिबाहमा थुप्रो खर्च हुन्छ’ भन्दै भान्सातिर लागिन् ।
पत्नीको कुरा सुनेर एकाएक गहिरो मौनमा डुबे धनीराम ।
तेस्रो दिन अजयले तत्परताकासाथ् बेडिंग बाँध्यो । आफ्नो श्रीमान्को कमाइभन्दा ससुराको कमाई धेरै हुन्छ भन्ने कुराको गन्ध पाएकी बुहारीले बाटोमा खानका लागि ठूलो टिफिन क्यारियर भरी खाजा बनाएर ल्याईन् । बाबु बाटो लाग्नेबित्तिकै ठाडो पुच्छर लगाएर घाँस चोर्न कुद्ने कोरली गाई जसरी बुर्कुसी मार्दै कुद्न पाउने आशमा बसेकी बसन्तीले सुटकेस मिलाई ।
अफिसबाट गाडी आउँदासम्म धनिरामले लिएर जाने सबै सामान तयार भइसकेका थिए । गाडीमा चडेका धनीरामले काँतर दृष्टिले एकपटक परिवारलाई हेरे । त्यहाँ निरू थिइनन् । आँखा सजल भएर आएका उनले तत्कालै अनुहार अर्कोतिर फर्काए । आफूलाई सम्यमित राख्ने प्रयास गर्दा गर्दै पनि धनीरामका आँखाबाट तप...तप आँसु झरे ।
‘भयो हैन बुबा, जाउँ अब ?’ भन्दै ड्राइभरले गाडी थानकोटतर्फ दौडायो ।
त्यस्तै बेला आईपुगेकी निरूले, ‘ए, बाथरुममा पसेकी थिएँ, हिँडिसक्नु भएछ !’ भन्दै चैनको लामु सास फेरिन् ।
गाडी ओझेल हुने बित्तिकै बुहारीले अनुहार हँसिलो पार्दै श्रीमान्तिर फर्किएर भनीन्, ‘मल्टिप्लेक्समा श्रद्धा कपुरको हिन्दी हिट मुभी लागेको कति दिन भईसक्यो, हेर्न जाने होइन ?’
वसन्तीले भनी, ‘म पनि जान्छु है भाउजू !’ इति ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच