काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गर्नुभएको छ । बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू समाजवादी मोर्चालाई, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्रै पार्टी एकताको समाचार सुन्न पाइने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा छौँ । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुने छ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौँ । सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति, योजना र कार्यक्रम गर्नेछ ।’ उहाँले अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गरिरहेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी शक्तिहरूलाई प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । तपाईँ सडकको बाघ भएर निस्कनोस् । म संसद्मा सिंह भएर निस्केको छु ।’ उहाँले सोहीअनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशनसमेत दिनुभयो ।
उहाँले दशैँलगत्तै बस्ने केन्द्रीय समिति बैठक पार्टीको लागि माइलस्टोन (कोशेढुंगा) हुने दाबी गर्नुभयो । ‘केन्द्रीय समिति बैठक माइलस्टोन हुनेछ । देशमा देखापरेको राजनीतिक समस्या हल गर्नेगरी निर्णय गर्नेछ’, उहाँले भन्नुभयो, ‘यतिबेला नै क्रान्तिकारीको सम्मेलन राख्नुको ठूलो अर्थ छ । तपाईंको भव्यताका साथ सम्मेलन सफल गर्नुहोस् । यसले हामीलाई थप ऊर्जा मिल्नेछ ।’ अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने पनि दाबी गर्नुभयो । सरकारमा जान आफूहरूले हतार नगरेको बताउँदै उहाँले तर यो गठबन्धन धेरै नटिक्ने जिकिर गर्नुभयो ।
भ्रष्टाचारी र भू-माफियाको विरुद्धमा जेहाद
पूर्व-प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा हुँदा भ्रष्टाचारी र भू-माफियाको विरुद्धमा जेहाद छेडेको दाबी गर्नुभयो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले ललितानिवासदेखि बाँसबारीसम्मको जग्गा प्रकरणमा लडाइँ लडेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘भू-माफियाहरूले जनता र व्यक्तिको जग्गा व्यक्तिको नाममा पार्ने षड्यन्त्रविरुद्ध लागेकै हो । भू-माफियाविरुद्ध हामीले अभियान छेडेकै हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘चाहे ललितानिवास होस् वा बाँसबारी होस्, चाहे देशभरीका जग्गा होस् । त्यसका विरुद्धमा हामीले लडाइँ छेडेकै हो ।’ उहाँले सामाजिक न्यायमा पनि आफू नेतृत्व सरकारले ऐन बनाएर लडाइँ लडेको दाबी गर्नुभयो । ‘सामाजिक न्यायमा मिटरब्याज पीडितविरुद्ध ऐन बनाएर हामीले लडाइँ छेडेकै हो । नागरिकताको समस्याबाट वञ्चित लाखौँ नेपाली युवाहरूलाई नागरिकता प्रदान गर्ने ढोका हामीले खोलेकै हो,’ प्रचण्डले दाबी गर्नुभयो ।
‘सहमति नभए चुनावमा जानू, गुटबन्दी नगर्नू’
अध्यक्ष प्रचण्डले अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा गुटबन्दी नगर्न आग्रह गर्नुभएको छ । उहाँले सहमति नभए चुनावमा जान आग्रह गर्नुभयो । ‘सक्नुहुन्छ, सहमति बनाउनुहोस् । सक्नुहुन्न, निर्वाचनबाट जानुहोस्’, प्रचण्डले भन्नुभयो । आफूले अध्यक्ष यसलाई नै बनाउनुपर्छ भनेर व्यक्ति नतोकेको उहाँको स्पष्टोक्ति थियो । ‘यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन । नेतृत्वको दाबी गर्ने सम्भव भएसम्म सबैलाई भेटेको छु । उहाँहरूको बुझाइ, भोलिको कुरा के हो भनेर सुनेको छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो । प्रचण्डले पार्टी कार्यालयमा विद्यार्थीले सहजीकरण गरिदिए हुन्थ्यो भने मात्रै भूमिका खेल्ने कुरा भएको सुनाउनुभयो । कसैले गुटबन्दी नगर्ने सहमति गरेको पनि उहाँले बताउनुभयो । उहाँले अहिलेको सम्मेलन गुटबन्दीबाट पर जाने अवसर भएको समेत बताउनुभयो । ‘गुट, स्वार्थ समूह बनाउने कुराले पार्टी आन्दोलन विद्यार्थी केहीलाई पनि भलो गर्दैन । हामीले धेरै दुःख पाइसकेका छौँ । गुटबन्दीबाट पर जाने यो अवसर पनि हो’, उहाँले भन्नुभयो ।
विद्यार्थी संगठनमा गुटगत राजनीतिको छायाँ, नेतैपिच्छेका दाबेदार
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ सम्मेलन काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बिहीबारदेखि सुरु भएको सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । असोज १४ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । २१औँ राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट रञ्जित तामाङ अध्यक्ष चुनिनुभएको थियो । त्यसपछि २०७४ भदौमा सम्पन्न २२औँ सम्मेलनले नेतृत्व नै छान्न सकेन । लामो समयसम्म नेतृत्व चयन हुन नसकेपछि पार्टी अध्यक्ष प्रचण्डले नै पञ्चा सिंहलाई अध्यक्ष घोषणा गर्नुभएको थियो । ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३औँ राष्ट्रिय सम्मेलन’ मूल नारासहित सुरु भएको सम्मेलनले प्रतिस्पर्धाबाट नेतृत्व छान्ने नेताहरूको दाबी छ । अधिकांश कमिटीहरूमा निर्वाचनबाट नेतृत्व र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट पनि भइसकेका छन् ।
पार्टीमा अभ्यास भइरहेको गुटगत राजनीतिको छायाँ विद्यार्थी संगठनमा पनि देखिएको छ । पार्टीका शीर्ष नेतैपिच्छेका अध्यक्ष र पदाधिकारी आकांक्षी छन् । संगठनको अध्यक्षमा मात्रै झण्डै एक दर्जन आकांक्षी छन् । तीमध्ये उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पक्षका आकांक्षीलाई बलियो दाबेदार मानिएको छ । त्यसैमा नारायणकाजी पक्षका उम्मेदवारले पनि बलियै देखिएको अखिलका नेताहरू बताउँछन् । उसो त उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङ खेमाबाट पनि अध्यक्षमा दाबेदारी दिइरहेका छन् । उनीहरूको समर्थन रहेका नरेश रेग्मीले अध्यक्षमा दाबी प्रस्तुत गर्नुभएको छ । वर्षमान पुनको समर्थन महासचिव दिपेश पुन अध्यक्षको दौडमा हुनुहुन्छ ।
नारायणकाजी श्रेष्ठ समूहका पवन कार्की पनि अध्यक्षमा भिड्ने दाउमा हुनुहुन्छ । लुम्बिनीका पूर्व-मुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान पनि अध्यक्षका दाबेदार हुनुहुन्छ । २१औँ सम्मेलनसम्म अखिल क्रान्तिकारीमा जनार्दनका भाइ अनिल शर्मा नेतृत्वको दाबेदार हुनुहुन्थ्यो । तर, उहाँ रञ्जित तामाङसँग पराजित हुनुभयो । जनार्दनको समूहमा अध्यक्षका प्रत्यासीहरूको भिड छ । मदन भूल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, डा. अच्युतप्रसाद भट्टलगायत अध्यक्षका दाबेदार हुनुहुन्छ ।
अध्यक्षमा मात्रै होइन अन्य पदाधिकारीमा पनि दर्जनौँ आकांक्षी छन् । महासचिवमा धादिङका सञ्जीव रेग्मीले दाबी गर्नुभएको छ । महासचिवमा सुदन किराँतीका स्वकीय सचिवसमेत रहनुभएका हेमन्त राई, उपत्यका विशेष कमिटी इञ्चार्ज रहनुभएका प्रसुन कार्की लगायतले पनि रुचि देखाउनुभएको छ । हालका उपमहासचिव मदन लिम्बू पनि महासचिवका दाबेदार हुनुहुन्छ । वर्षमाननिकट गण्डकीका सुदिन पौडेल र जनार्दननिकट कास्कीकै नारायण बरालले पनि महासचिवमा रुचि देखाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच