काठमाडौं । चिनियाँ परियोजना बिआरआई नेपालका लागि ठूलो अवसर भएको र यसलाई सदुपयोग गर्नुपर्ने वक्ताहरूले बताएका छन् । काठमाडौंमा आयोजित ‘बिआरआई अवसर र चुनौती’ विषयक अन्तरक्रियामा वक्ताहरूले बिआरआईबाट नेपालले लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले बिआरआईलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । संसद्का दुवै सदनबाट टिआरसी विधेयक पास भइसकेपछि नेपाल अब आर्थिक उन्नति र प्रगतिको बाटोमा लम्किनुपर्ने बताउँदै बिआरआईजस्ता परियोजनालाई लगानीका रूपमा सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेकपा एमालेका उपाध्यक्ष गुरूप्रसाद बरालले नेपालले ठूला परियोजना निर्माण गर्न लगानी नभएको अवस्थामा बिआरआई आवश्यक रहेको बताउनुभयो । देशको विकास गर्न बिआरआईलाई ऋणकै रूपमा भए पनि स्वीकार गर्दा कुनै घाटा नहुने उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरमा हाम्रो पहुँच र प्रवेश मार्ग निर्माण हुने भएकाले बिआरआई नेपालको समग्र हितमा रहेको उहाँले उल्लेख गर्नुभयोे ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालको २४ खर्ब ऋणमध्ये वल्र्ड बैंकको मात्रै ४९ प्रतिशत रहेको तर चीनको जम्मा ३.२० प्रतिशत रहेको बताउनुभयो । अत्यन्तै थोरै ऋण भएको चीनबाट बिआरआई परियोजना लिन किन डराउने ? भन्दै उहाँले प्रश्न गर्नुभयो । त्यसलाई सकेसम्म अनुदानमा र नसके थोरैभन्दा थोरै ब्याजमा सञ्चालन गर्नुपर्ने भनाइ उहाँको थियो ।
नेकपा मालेका महासचिव सिपी मैनालीले भौतिक विकास गर्न चाहने विश्वका साना मुलुकहरूलाई चीनले सहयोग गर्ने उल्लेख गर्दै हामीले पनि पूर्वाधार विकासमा बिआरआईलाई प्रयोग गर्नुपर्ने बताउनुभयो । बिआरआईले देश विकासमा सहयोग गर्ने भन्दै उहाँले खोंचे थापेर यसलाई असफल बनाउन नहुने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले परियोजनाहरू राजनीतिक भागबण्डामा लागू हुने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । राजनीतिक विश्लेषक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बिआरआईले वैकल्पिक पारवहनको सुविधा दिएको उदाहरण दिँदै यो कसैको पराधीन नभई आफ्नै खुट्टामा उभिन र सक्षम नेपाल बनाउन सघाउने परियोजना भएको धारणा राख्नुभयो । वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य एकराज भण्डारीले बिआरआईको काउन्टरका रूपमा एमसिसी आएको भन्दै सैन्य रणनीतिस्वरूप ल्याइएको परियोजना पारित गरेर कार्यान्वयनमा जानु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।
नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) सँगको सहकार्यमा यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सिजिटिएनकी नेपाली विभाग प्रमुख सुमेघाले पठाएको भिडियो सन्देश पनि प्रसारण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच