
✍️ टीका ढुंगेल ‘रटन’
एसपी ‘आसा’-का ऐतिहासिक उपन्यासहरूको विश्लेषण लेखक तिलबहादुर गुरुङ ‘सुशान्त’ । प्रकाशित उमा घिमिरे, विध्या घिमिरे, सुशान्त कृष्ण गौतमबाट २०६३-मा प्रकाशित भएको हो । समर्पण, लेखकको माता-पितालाई गरिएको छ । अम्बरबहादुर गुरुङ, ज्ञानमाया गुरुङमा पहिलो कृति सभक्ति समर्पित गरिएको छ ।
‘प्रकाशकीय’का शब्दहरू कम्तीमा आफ्ना पिताको कदर गरी प्रकाशकको भारवहन गर्दै माथि उल्लेखित नामहरूका प्रोत्साहनका शब्दहरूले प्रतिभाको मूल्यांकन भएको पाइयो । एसपी आसा श्रीप्रसाद उपाध्याय घिमिरे साहित्य-साधक समाजसेवी चेतनशील धार्मिक भावनाले ओतप्रोत भएका कर्तव्यनिष्ठ कर्तव्यपरायण व्यक्ति हुन् भन्ने कुरा यो पुस्तक अध्ययन गरेपछि थाहा लाग्छ । उत्तराधुनिकको प्रश्नमा आसा र सुशान्त कृष्ण गौतम साहित्यका रसिला शब्दलाई चयन गर्दै आसा र सुशान्तबीचमा रहेर प्रतिभाको परिचय राखेका छन् । एसपी आसा २००९ नेपालको ऐतिहासिक राजनीतिक तथा सामाजिक विषयमा साहित्यिक संकल्प लिएर चिन्तन गर्ने लेखक हुन् ।
खुशीको कुरा के छ भने एकातिर लेखक आसाजी छन्, अर्कोतिर शोधक सुशान्तजी । शुभकामनाका दुई थुंगा डा.दुर्गाबहादुर घर्ती विश्वविद्यालयका पाठयक्रममा परेका र प्रसिद्धि कमाइसकेका लेखकका उपन्यासहरूमा मात्र कलम चलाउन जाँगर गर्ने समीक्षकभन्दा भिन्न किसिमले आफूलाई उभ्याउँदै गुरुङले झण्डै चार दशकदेखि नेपाली उपन्यासको विकासमा लागिपरेका हुन् । समीक्षकको दृष्टिमा खासै पर्न नसकेका एसपी आसाको व्यक्तित्व र कृतित्वको परिचय दिँदै उनका ऐतिहासिक उपन्यासहरूको वस्तुपरक ढंगमा विश्लेषण गरेका छन् । ऐतिहासिक उपन्यास विधाको एउटा प्रकार हो । उनले किरातकालीन, बुद्धकालीन, लिच्छविकालीन, शाहकालीन एवं राणाकालीन इतिहासलाई आफ्नो उपन्यासको विषय सामग्री बनाएका छन् ।
नेपाली साहित्यमा विविध विधामा कलम चलाउने बहुमुखी व्यक्तित्व एसपी आसाको नेपाली साहित्यको क्षेत्रमा हालसम्मको योगदानलाई मूल्यांकन गर्दा यहाँलाई साधनारत तथा विविध विधामा लेखनी सक्रिय तुल्याउने र खासगरी ऐतिहासिक उपन्यास विधामा सक्रिय रहेका उल्लेखनीय प्रतिभाका रूपमा स्थापित गर्न सकिन्छ ।
ऐतिहासिक पत्रलाई आफ्नो उपन्यासको नायक बनाएर उसकै मुखबाट पावन वृत्तान्त कहन लगाउनु आसाको औपन्यासिक शिल्प हो । वस्तुत ऐतिहासिक नेपाली उपन्यासको विकासमा डायमन शमशेर र एसपी आशाको योगदान परिमाणात्मक एवं गुणात्मक दुवै दृष्टिले सराहनीय छ । यस्तै समाजोपयोगी शब्दहरूले आसाको प्रतिभालाई साहित्यको मञ्चमासँगै राखेको पाइन्छ । ‘लेखककै गन्थन’ मा कृतित्व र व्यक्तित्वको तुलना गरेका छन् तिलबहादुर गुरुङ सुशान्तले । इतिहास प्राचीन समाजमा घटेको घटनाहरूको शृंखला हो । यसरी हेर्दा इतिहासभित्र प्राचीनता हुन्छ । उपन्यास साहित्यको कान्छो विधा हो । यसैले उपन्यासमा कलात्मक नवीनता निहित हुन्छ ।
एसपी आसाजस्ता विशिष्ट र बहुमुखी प्रतिभाका बारेमा यसअघि गहन अध्ययन हुनसकेको छैन । यस पुस्तकमा एसपी आसाको जीवनी, व्यक्तित्व र कृतित्वलाई चिनाउनका साथै उनका औपन्यासिक यात्रा र प्रवृत्तिलाई पनि प्रस्तुत गरिएकाले उनका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहने विद्वान, शिक्षक तथा विद्यार्थीवर्गलाई मात्र नभई आरण्यानात्मक कृतिको विश्लेषण गर्न चाहने विद्वानवर्गलाई पनि आवश्यक खुराक प्राप्त हुनेछ भन्ने आशा लिइएको छ । धेरै विद्वान साहित्यकारहरूले आसाका बारेमा पत्र-पत्रिकामा लेखिसकेको कुरा अवगत गराउँदै आसाको उपन्यास विधामा राम्रो प्रकारले साहित्यकार तिलबहादुर गुरुङ ‘सुशान्तले’ दर्शाएको पाइन्छ ।
एसपी आसाको जीवनी, व्यक्तित्व र कृतित्वमा धेरै कुरा जान्न सकिन्छ । उनलाई साहित्यकार सुशान्तले ऐनामा आसालाई देखाएका छन् । ऐतिहासिक, ज्ञानका कुराहरू यस विषयभित्र समावेश भएको सत्य तथ्यहरू पाउन सकिन्छ । सामान्यदेखि गहन विषय वस्तुलाई गहिरिएर सरल र बोधगम्य भाषाशैलीमा कवितात्मक अभिव्यक्ति दिनु आसाको प्रमुख प्रवृत्ति हो । समसामयिक राजनीतिक विषयमतालाई समेटिएको एकमात्र नाट्य कृतिबाट आसाको नाट्य व्यक्तित्वलाई बुझ्न सकिन्छ । सानै उमेरदेखि वेद, पुराण, गीताजस्तो हिन्दू दर्शनका पुस्तक पढेकै कारण आसाले वेदान्त दर्शनबाट अत्याधिक प्रेरित र प्रभावित भई त्यस्तै जीवन दर्शन बनाएको पाइन्छ ।
साहित्यको क्षेत्रमा उनले पुर्याएको योगदानको लेखा-जोखा गरेरै सकिँदैन । श्रीप्रसाद उपाध्यय घिमिरे नेपाली साहित्यमा एसपी आसाका नामले सुपरिचित छन् । उनले उपन्यास, कथा, कविता, नाटक, समालोचना जस्ता विविध विधामा कलम चलाएर कृतिहरू साहित्यका मञ्चमा चढाइसकेका छन् । एसपी आशाको औपन्यासिक यात्रा र प्रवृत्ति नेपाली उपन्यासको इतिहासमा आधुनिकताका साथै आदर्शोन्मुख पर्यायवादी धारा भएको पाइन्छ । यस धाराका अन्य उपन्यासहरूमा रूद्रराज पाण्डेको चप्पा काजी १९९३ प्रायश्चित १९९३, काशीबहादुर श्रेष्ठको उषा १९९५, टुकराज पद्धराज मिश्रको रजवन्धकी १९९६, रामकृष्ण कुँवर राणा १९९९, शोभाचन्द्र उपाध्ययको पाटलीपुत्र २००३, सुरेन्द्र बहादुर शाहको पारिजात २००३, मोहनबहादुर मल्लको उजेली छामा २००८, समयको हुरी २०१५, दौलतविक्रम विष्टको मञ्जरी २०१६, भवानी भिक्षुको आगत २०३२, धनुषचन्द्र गौतमको घामका पाइलाहरू २०३४ आदि उपन्यासहरू उल्लेखनीय रहेको पाइन्छ ।
विसं १९९३-मा प्रकाशित रूपनारायण सिंहको भ्रमर उपन्यासबाट नेपाली उपन्यास परम्परामा स्वच्छन्दतावादी धारा सुरु भएको देखिन्छ । यस धाराका अन्य उपन्यास अच्छा राई, ‘रसिक’–को लगन २०१२, शिवकुमार राईको डाक बांगला २०१३, रवीन्द्रकुमार मोक्तानको वरको भोको भूत २०१९, कृष्णसिंह मोक्तानको अशेष यात्रा २०२१, प्रकाश कोविदको संगम २०१२ गोपाल गुरुङको शेष यात्रा २०२२, सुवास घिसिङको नीलो चोली २०२२, सुधिर थापाको जिन्दगी २०२२, अधुरो जिन्दगी २०२४, लक्ष्मीप्रसाद देवकोटाको चम्पा २०२४, चेतन कार्कीको हनिमून २०२४, लीलबहादुर छेत्रीको अतृप्त २०२६, भीमचरण थापाको माया २०३१, रामचन्द्र पोख्रेलको यो जुनीको भेट २०३४, हिरण्य भोजपुरेको छिटेन २०५८ आदि उपन्यासहरूमा परम्परागत मूल्य र मान्यतायुक्त हुने आग्रह अभिव्यक्तिगत तीव्रता, प्रेम–प्रणयको प्रस्तुति, प्राकृतिक सौन्दर्यको चित्रण मानवतावादी दृष्टिकोण पाइन्छ । यस्ता प्रवृत्ति भएका उपन्यासहरू आजसम्म पनि लेखिँदैछन् । सामाजिक उपन्यास लेखनमा एसपी आशाको पनि योगदान छ ।
एसपी आसा नेपाली उपन्यास परम्पराको आधुनिक कालमा देखापरेका उपन्यासकार हुन् । हालसम्म उनका पन्ध्रवटा उपन्यासहरू प्रकाशित भएका छन् । एसपी आसाका यस चरणका सामाजिक उपन्यासहरूमा युवा-युवतीबीच हुने सहज आकर्षण तथा प्रेम विषयलाई मुख्य विषय वस्तु बनाएको देखिन्छ । प्रेम वियोगमा पात्रहरू तड्पिएका देखिन्छन् भने आदर्श पात्रहरूको उपस्थिति पनि पाइन्छ । एसपी आसाको अर्को औपन्यासिक प्रवृत्ति राष्ट्रवादी चिन्तन हो । उनका ऐतिहासिक उपन्यासहरूमा राष्ट्रप्रतिको ममता, प्रेम तथा प्रजातन्त्रमाथि आघात माया पाइन्छ । आजको नेपाल राष्ट्रको एकीकरणका जन्मदाता पृथ्वीनारायण शाहको उपन्यासमा देखाउने जमर्को गरेका छन् । तसर्थ यो उपन्यास पढ्दा जो कोहीलाई पनि लाग्न सक्छ, यो राष्ट्रिय गौरव र महत्वबढाउने ऐतिहासिक उपन्यास हो भन्ने । यस्तै रसमय शब्दहरू उपन्यासबारे धेरै ज्ञानका वाणीहरू पाइन्छ ।
‘एसपी आसाका ऐतिहासिक उपन्यासहरूको विश्लेषण’ अब मूल उद्देश्यतिर लम्कने प्रयास गर्दैछु । एसपी आसाको उपन्यास कृतिलाई तिलबहादुर गुरुङ ‘सुशान्त’ले विश्लेषण गरेर साहित्य समाजमा आसासँगै आफू पनि उपन्यासभित्र मनन-चिन्तन गरी कृतित्व र व्यक्तित्वको मूल्यांकन गरेको देखिन्छ । यस उपन्यासमा कुन पात्रले कस्तो काम गरेको छ ती सबै पात्र पात्राहरूको सामान्य परिचय यहाँ प्रस्तुत गरिेको छ । संरचनात्मक शैलीको दृष्टिकोणले हेर्दा यो उपन्यास एघार खण्डमा संरचित छ । उपन्यास घटनाको वर्णन गर्ने शैली वा कथा भन्ने शैलीमा लेखिएकाले वर्णनात्मक शैली देखिन्छ । आषाढ पूर्णिमाको दिन आँपको रस झिकेर आँपको बीउ रोप्नका लागि बुद्धले आनन्दलाई निर्देशन दिएर बीउ रोपेको ठाउँमा हात धोए, त्यसपछि आँप उम्रिएर एकछिन् पछि फल लागेर पाक्यो अनि सबैले आँप खाए । त्यो वृक्षको नाम ‘गण्ड’ वृक्ष रहृयो र यही वृक्षमुनि बसेर बुद्धले प्रायश्चित गरे । यस उपन्यासमा किरात र बुद्धकालीन इतिहासलाई विषय वस्तु बनाइएको हुनाले कथाको स्रोत इतिहास हो । यस उपन्यासको घटना वृत्त बुद्धको कथाको केन्द्रियतामा घुमेको हुनाले यही कथानक नै मुख्य देखिन्छ ।
उपन्यासको घटना क्रमलाई हेर्दा शहीद काण्ड भइसकेपछि भरतसिंह तौलिहवामा बडा हाकिम भई अत्याचार गर्नथालेको अवस्थासम्मलाई आदि पछि अतुल विष्टको हत्यासम्मको भागलाई मध्यभाग र जुद्ध शमशेर शासन सत्ता परित्याग गरेर हिँडेको घटनालाई अन्य भाग मान्न सकिन्छ । पृथ्वीनारायण शाह शाहकालीन ऐतिहासिक विषय वस्तुमा आधारित उपन्यास हो । प्रस्तुत उपन्यासमा पृथ्वी नारायण शाहको जीवनीलाई प्रमुख विषय सामग्रीका रुपमा राखिएको छ । एक दिन पृथ्वीनारायण शाहका माता कौशल्यावतीले सूर्य निलेको सपना देख्छिन् र चन्द्र प्रभावतीलाई बताएपछि शुभ संकेत भएको थाहा पाउँछिन् । उसैगरी उपन्यासमा पृथ्वी नारायण शाहले मेरो बुबाले टेकेको पैतालाको डोबको माटो घरमा लगेर राखेको अवस्थामा भूतप्रेत, बोक्सी लाग्दैन भन्ने जनविश्वास रहेछ । संरचनागत शैलीको आधारमा हेर्दा प्रस्तुत उपन्यास पन्ध्र भागमा विभाजित छ । घटना वर्णन शैली वा कथा भन्ने शैलीमा लेखिएकाले वर्णनात्मक शैली देखिन्छ ।
ऐतिहासिक उपन्यासहरूको आधारमा उनलाई मूल्यांकन गर्दा नेपाली ऐतिहासिक उपन्यास परम्परामा उनको ठूलो योगदान देखिन्छ । ऐतिहासिक नेपाली उपन्यास परम्परामा एसपी आसा एक सफल उपन्यासकार हुन् । उपसंहारमा तिलबहादुर गुरुङ ‘सुशान्त’ले एसपी आसाको योगदानलाई समाजमा पस्केको देखिन्छ । धेरै पुस्तकबाट जानकारी प्राप्त भएकोले नै यी उपन्यासहरूको विश्लेषण राम्ररी गरेको देखिन्छ ।
एसपी आसाका ऐतिहासिक उपन्यासहरू लिच्छवीकालीन, किरात र बुद्धकालीन र शाहकालीन इतिहाससँग सम्बन्धित विषय वस्तुमा आधारित छन् । उनका उपन्यासहरूमा शृंखलित र सुगठित कथानक रहेको पाइन्छ र उपन्यास घटना प्रधान बन्न पुगेको छ । उनका उपन्यासमा धेरै पात्रहरूको प्रयोग गरिएको पाइन्छ । त्यसले उपन्यासलाई स्वाभाविक रोचक र जीवन्त तुल्याएको छ । उनका कतिपय उपन्यासहरूको शीर्षक उपन्यासको मुख्य पात्रका नामका आधारमा र कतिपय उपन्यासहरूको शीर्षक उपन्यासको कथाका आधारमा राखिएको छ । एसपी आसाका ऐतिहासिक उपन्यासहरूको विश्लेषणभित्रका रसमय शब्दहरूलाई संक्षिप्तमा पस्कने प्रयासमात्र गरे । तिलबहादुर गुरुङ सुशान्तले एसपी आसाका उपन्यासलाई राम्ररी विश्लेषण गरेका छन् ।
उपसंहार विसं २००९ सालमा काठमाडौं सीता पाइलामा विष्णुप्रसाद उपाध्याय घिमिरे नेपाली साहित्यमा एसपी आसाका नामले सुपरिचित छन् । परिणात्मक दृष्टिले हेर्दा एसपी आसाले डेढ दर्जन जति उपन्यासहरू रचना गरेर नेपाली उपन्यास परम्परामा ठूलो योगदान दिएका छन् र छवटा ऐतिहासिक उपन्यास लेखेर नेपाली ऐतिहासिक उपन्यास परम्परामा योगदान दिएका छन् । यसैगरी अन्य ऐतिहासिक उपन्यासकारको उपन्यासभन्दा उनको उपन्यासमा विषय वस्तुगत विविधता पाइन्छ । यसरी हेर्दा अन्य नेपाली ऐतिहासिक उपन्यासकारभन्दा आसा विषय वस्तुगत दृष्टिले फेरिएको देखिन्छ । एसपी आसाका ऐतिहासिक उपन्यासहरूमा धेरै पात्रहरूको प्रयोग रहेकाले बहुपात्रीय हुन पुगेका छन् । मूल रूपमा उग्रवर्गका पात्रहरूलाई प्रमुख पात्रको रूपमा उभ्याइएको छ । नेपाली साहित्यमा विविध विधामा कलम चलाउने बहुमुखी व्यक्तित्व एसपी आसाको नेपाली साहित्यको क्षेत्रमा हालसम्मको योगदानलाई मूल्यांकन गर्दा यहाँलाई साधनारत तथा विविध विधामा लेखनी सक्रिय तुल्याउने र खासगरी ऐतिहासिक उपन्यास विधामा सक्रिय रहेका उल्लेखनीय प्रतिभाका रूपमा स्थापित गर्न सकिन्छ । उनले आफ्नो ढंगबाट नेपाली उपन्यास, कविता, जीवनीमूलक कृति र साहित्य समीक्षामा सक्दो योगदान दिएका छन् ।
विधागत लेखका आधारमा हेर्दा अन्य विधागत लेखनका आधारमा हेर्दा अन्य विधाहरूमध्ये उपन्यास लेखनमा उनी सफल देखिन्छन् । उपन्यासमा पनि ऐतिहासिक उपन्यास लेखनमा उनी सफल देखिन्छन् र उपन्यासमा पनि ऐतिहासिक उपन्यासमा बढी सफल देखिन्छन् । उनका ऐतिहासिक उपन्यासहरूको आधारमा उनलाई मूल्यांकन गर्दा नेपाली ऐतिहासिक उपन्यास परम्परामा उनको ठूलो योगदान देखिन्छ । ऐतिहासिक नेपाली उपन्यास परम्परामा एसपी आसा एक सफल उपन्यासकार हुन् । उपसंहारमा तिलबहादुर गुरुङ ‘सुशान्त’ले एसपी आसाको योगदानलाई समाजमा पस्केको देखिन्छ । धेरै पुस्तकबाट जानकारी प्राप्त भएकोले नै यी उपन्यासहरूको विश्लेषण राम्ररी गरेको देखिन्छ । एस.पी.आसा एक सफल साहित्यकारलाई अर्का साहित्यकार तिलबहादुर गुरुङ सुशान्तले उपन्यासलाई मूल्यांकन, मनन, चिन्तन गरेर समाजमा आसाको प्रतिभालाई ऐनामा देखाएझैं छर्लंग देखाएको देखिन्छ ।
पिता अम्बरबहादुर गुरुङ माता ज्ञानमाया गुरुङका छोरा तिलबहादुर गुरुङ सुशान्त विसं २०३९ पौष २९ गते ठूलो गाउँमा गाविसा वाडा नं-५ रसुवा नेपालमा जन्मनु भएर साहित्य समाजमा धेरै काम गरेको देखिन्छ । साहित्य, संगीत लेखनमा रूचि राखेर विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित गर्दै एसपी आसाका ऐतिहासिक उपन्यासहरूको विश्लेषण कृति तयार गरेर साहित्य समाजमा ठूलो योगदान पुर्याउनु भएको देखिन्छ । आजसम्म पढेका कृतिहरूमा एसपी आसाझैं उपन्यासमा सिद्धहस्त व्यक्तित्व मैले पाउन सकेको थिइन । उनको व्यक्तित्व र कृतित्वलाई कदर गरेर म एक साधारण पाठकका तर्फबाट बधाईका शब्दहरूले स्वागत गर्दछु । एसपी आसाका ऐतिहासिक उपन्यासहरूको विश्लेषण पढिसकेर त्यसभित्रको सार तत्वहरूलाई केलाउन नसके पनि म गर्व गरेर भन्न सक्छु, यो उपन्यास, उपन्यासमात्र नभएर एउटा दस्तावेज बन्न पुगेको छ । साङ-छलमथाङ, सिक्किम ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच