हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

हिमालय टाइम्स
Read Time = 2 mins

तेलअवीव । इजरायलले बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत् इजरायली रक्षा बल (आइडिएफ) ले घटनाको पुष्टि गरेको छ । आइडिएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हेजबुल्लाहको आक्रमणका बारेमा जानकारी दिँदै इजरायली रक्षा बलले मुख्यालय बेरुतको उक्त स्थानमा नियम विपरीत निर्माण गरिएको उल्लेख गर्नुभएको छ ।

हागारीले हेजबुल्लाहको आतंकवादबाट आफ्ना नागरिकको रक्षा गर्ने इजरायली दृढतालाई दोहोर्‍याउँदै लेबनानी जनतालाई प्रयोग गर्ने हेजबुल्लाहको रणनीतिको हिस्साका रूपमा गत अक्टोबरमा आक्रमण गरेको बताउनुभएको छ ।

हेजबुल्लाहले इजरायलमा आक्रमण गरेको लगभग एक वर्षपछि इजरायलले विश्वलाई चेतावनी दिँदै हेजबुल्लाहलाई रोक्नुपर्ने जनाएको छ । बेरुतमा भएको विस्फोट हेजबुल्लाहका नेता हसन नस्रल्लाहलाई लक्षित गरी गरिएको सिएनएनले रिपोर्ट गरेको छ ।

एकजना वरिष्ठ इजरायली अधिकारीले नस्रल्लाहलाई लक्षित गरी गरिएको आक्रमण गाजामा हमासका नेता मोहम्मद देइफको निधन भएको अपरेसनसँग मेल खाने खालको रहेको बताउनुभएको छ ।

साथै, लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुतमा भएको इजरायली हमलामा दुईजनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएको जनाएको छ । इजरायलले लेबनानमा हेजबुल्लाहलाई खतराको सामना गर्न बाध्य पारेको छ भने इरान समर्थित समूहले उत्तरी इजरायलमा बारम्बार आक्रमण गरिरहेको छ । द्वन्द्व बढ्दै जाँदा विश्वका प्रमुख देशहरूले युद्धविराम र बन्धक सम्झौताको आहृवान गरिरहेका छन् । रासस/एएनआई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *