काठमाडौं । बिहीबारदेखि देशका विभिन्न ठाउँमा आएको भीषण वर्षाका कारण गएको बाढी-पहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा जुट्न विभिन्न दल र नेताहरूले आहृवान गरेका छन् । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि उनीहरूले आहृवान गरेका हुन् । विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जीउधनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्धारका साथै स्वास्थ्य उपचार पुर्याउन अपिल गरिएको छ ।
धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता
राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले शनिबार गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको थियो । उहाँले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिएको सचिवालयले जनाएको छ । साथै राष्ट्रपति पोडेलले विपद्को यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गर्नुभएको छ ।
सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आहृवान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी–पहिरोबाट सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको हो । उहाँले वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरणसमेत लिनुभएको थियो । ‘केही ठाउँमा उद्धारमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढाउनुहोला’, प्रधानमन्त्रीले निर्देशन दिँदै भन्नुभएको छ, ‘उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ । भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौँ ।’
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ । बिहीबारदेखि अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको उहाँले बताउनुभयो । सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरू भएको र ठाउँ ठाउँमा पहिरो, बाढी आइरहेको भन्दै सतर्क रहन आग्रह गर्नुभयो । उहाँले सडक सञ्जाल, पुलहरू बाढीले बगाएको र पहिरोका कारण सडक भासिएकोले लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरूसँग आग्रह गर्नुभएको छ ।
नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई व्यवस्थित गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी-पहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै विपद् प्रभावित नागरिकको यथाशीघ्र उद्धार र राहतको व्यवस्था गर्न तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ काम गर्न ध्यानाकर्षण गराउनुभएको हो । ‘मानिसहरू बेपत्ता र घरबारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडकमार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति कांग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ सभापति देउवाले भन्नुभएको छ । उहाँले बाढी–पहिरोमा परेर सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गर्नुभएको छ । कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन पनि दिएको छ । प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरूको आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातारको वर्षाका कारण प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भन्दै राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघ-संगठन तथा आफ्नो पार्टीका कार्यकर्तालाई सतर्क रहँदै जनसेवामा जुट्न आग्रह गर्नुभएको छ । ‘राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघ-संगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई कठिन समयमा जनसेवामा जुट्न निर्देशित गर्दछु । साथै हवाई तथा स्थल यातायातमा सतर्कता अपनाउन पनि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।
बाढी-पहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय
सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो । बैठकले अविलम्ब पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो । कानुनबमोजिम पीडितहरूले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक वस्तुहरू तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ । बैठकले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।
चलिरहेका सबै परीक्षा स्थगित
सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवतजावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय सरकारले गरेको हो । प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिनुभयो । ‘हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,’ गुरुङले भन्नुभयो । विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा सञ्चालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच