गायक खातीलाई सम्मान

काठमाडौं । गायक अमृत खातीलाई ‘दशक गायक सम्मान २०८१’ बाट सम्मान गरिएको छ । उपमा सञ्चार प्रालिद्वारा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीको प्रमुख आतिथ्यता काठमाडौंमा आयोजित सांस्कृतिक राष्ट्रिय संगीत अवार्ड-२०८१ कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । विगत दुईदशकदेखि मौलिक लोकदोहोरी साथै समग्र संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरकास्वरूप गायक खातीलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

दोलखाको भीमेश्वर-१ मा बुबा नरबहादुर खाती र आमा सुन्तली खातीको कान्छो सुपुत्रका रूपममा २०४० साल मंसिरमा जन्मिनुभएका खाती गाउँकै विद्यालयबाट प्रवेशिका उत्तिर्णपछि राजधानी काठमाडौमा अध्ययनका साथमा संगीत कर्ममा जोडिनुभएको थियो । व्यवस्थापनमा स्नातक खातीले झण्डै दुई सय गीतमा स्वर, संगीत र रचनाका साथ सहभागी हुनुभएको छ । उहाँका लोकप्रिय गीतमा ‘मूलको पानीले, पछ्यौरी, बाटुली, ओके छ त, बिउ खायो किरैले, मिरमिरे साइली, रातो माटो, बाँसको कप्टेरो, ऊनीको पछ्यौरी, आलु तामाले, मनमा तिमी, हजुरको आगनीमा’लगायतका छन् ।

खाती तत्ककालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट रारा म्युजिक अवार्डको अवसरमा राष्ट्रिय युवा प्रतिभा सम्मान-२०७९, राष्ट्रपति रामचन्द्र पौडेलबाट नगदसहितको नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार २०७९, सातौं क्यापिटल अवार्ड २०७७, नेपाल लोकसंगीत अवार्ड २०७६ लगायतबाट पनि सम्मानित हुनुभएको छ ।

सांगीतिक कार्यक्रमका क्रममा जापान, इजरायल, दक्षिण कोरिया, कतार, कुवेत, मलेसिया, युएई, सिंगापुर, थाइल्याण्डलगायत मुलुकमा आफ्नो सांगीतिक प्रस्तुति दिइसक्नुभएका खाती राष्ट्रिय लोक सांस्कृतिक संघको कार्यवाहक अध्यक्ष, सांस्कृतिक समाज नेपालको महासचिव, राष्ट्रिय लोकसांस्कृतिक प्रतिष्ठानको मानार्थ सदस्य, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको सल्लाहकारलगायतको भूमिकामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *