१२औँ खेलमा रोकियो हारको शृंखला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । सिरिजअन्तर्गत आइतबार राती सम्पन्न आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । तीन वान डे र एक टी-२० मा हारपछि नेपालले बल्ल जित निकाल्न सकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औँ खेलमा आएर हारको शृंखलामा पूर्णविराम लगाएको हो ।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १३९ रनमा अलआउट भयो । ओमानका सोहेब खानले सर्वाधिक ४५ रन बनाउनुभयो । रफिउल्लाहले ३३ रन थप्दा फयाज बट १७ रनमा अविजित रहनुभयो । प्रतीक अथाभाले १५ र खालिद कैलले ११ रन बनाउनुभयो । ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिनुभयो । तीन विकेट लिने क्रममा उहाँले ३६ रन खर्चिनुभयो ।

कुशल भुर्तेल र गुल्सन झाले २/२ विकेट लिनुभयो । रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिनुभयो ।
त्यसअघि क्यानडाको किङ सिटीमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहनुभयो । गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्नुभयो भने दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हान्नुभयो । कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाउनुभएको थियो । कुशल भुर्तेलले २० रन थप्नुभयो । कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्किनुभएको थियो ।
ओमानका लागि अकिब इलियासले ३ विकेट लिनुभयो । ओमानविरुद्धको खेलमा अलराउण्डर गुल्सन झा ‘प्लेयर अफ द म्याच’ बन्नुभयो । आफ्नो पहिलो खेलमा भने नेपाल क्यानडासँग १४ रनले हारेको थियो । नेपालले तेस्रो खेलमा मंगलबार क्यानडासँग खेल्दा चौथो खेलमा बुधबार फेरि ओमानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *