✍️ खेमनाथ दाहाल
प्रारम्भ
‘काव्यशास्त्र विनोदेन, कालो गच्छति धीमताम् व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा’ बुद्धिमान व्यक्ति आफ्नो समय काव्यशास्त्र पठनपाठनमा व्यतीत गर्दछ भने मूर्खको समय सुतेर (निद्रामा) वा झगडा (कलह)मा व्यतीत हुन्छ । पूर्वीय नीतिशास्त्रमा धीमत् र मूर्खका विभेदका कसीका रूपमा लिइएको यो व्याख्या आफैंमा हृदयस्पर्शी र बोधगम्य छ । वास्तवमा एक ज्ञानपिपासु विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो जिज्ञासालाई निरन्तरता दिइरहन्छ । ऊ आफ्नो समयलाई अधिकतम सदुपयोग गर्ने प्रयत्न गरिरहन्छ । यही शाश्वत सत्यलाई पछ्याउँदै कवि गोपाल भण्डारी आफ्नो मातृभूमि नेपालबाट दूर संयुक्तराज्य अमेरिकाको नट्ठिघपथ टेक्सस्मा पुगे, तथापि आफ्नो साधनाबाट विचलित भएनन् । कवि भण्डारीले जीवनमा आइपरेका कयौँ उकाली ओरालीमा खुइयसम्म नगरी समस्याहरूको व्यवधानहरूलाई परास्त गरे । उनले दैवाधिन कालसम्मलाई साधनामा ढाले र सिर्जना कर्मलाई निरन्तरता दिइरहे जसका प्रतिफलका रुपमा ‘गोपाल भण्डारीका छन्दकविताहरू’ नामक दोस्रो प्रकाशन यो कृतिको प्रादुर्भाव भयो । सन् २०२२मा ‘गोपाल भण्डारीका छन्द कविताहरू’ नामक कविता कृति प्रकाशित गरेर नेपाली साहित्य जगत््मा कवि परिचय बनाइसकेका कवि भण्डारीलाई कसीको के प्रयोजन ? बरू कवि भण्डारी यो उमेरमा युवा जोसका साथ दोस्रो कृति लिएर पुनः नेपाली साहित्याकाशमा नक्षत्रका रुपमा अझ सशक्त भएर उदाउनु आफैँमा गौरवमय छ जसको प्रसंशा जति गरे पनि अन्त्य हुँदैन ।
कवि परिचय
२०९७ साल आषाढ १ गते माङदिङ भोजपुरमा माता पवित्रा पार्वती खनाल र पिता पण्डित हरिप्रसाद शर्मा भण्डारीका पुत्ररत्नका रूपमा जन्मिका भण्डारीले बत्तीसपुतली काठमाडौंलाई कर्मथलो बनाए । नेपालीमा एम.ए., वि.एल र वि.एडसम्मको उच्च शिक्षा प्राप्त कवि भण्डारी शिक्षा मन्त्रालयअन्तर्गत विभिन्न पदमा रही स्वदेशका ५६ जिल्ला र विदेशमा भारत, चीन, थाइल्याण्ड, बङ्गलादेश, बर्मा, भियतनाम, लाओस, मलेशिया, सिंगापुर र जापान आदिको भ्रमण गरेर विविध अनुभव सँगालेका आफ्ना क्षेत्रमा स्थापित राष्ट्रसेवक व्यक्तित्व रूपमा चिनिन्छन् । वर्षौंवर्ष राष्ट्रसेवकका रूपमा देशको सेवा गरेर अन्ततः अविभावकसम्मले प्रवासको मुख ताक्नुपर्ने वा विदेसिनुुपर्ने कारुणिक अवस्थाले आज जुन विडम्बनापूर्ण नियति निम्त्याएको छ र धेरै अविभावकले भोग्नुपरेको छ यो आफैंमा खेदपूर्ण छ ।
पृष्ठभूमि
कविका सम्पूर्ण कविता छन्दबद्ध भएकाले छन्दको संक्षेपमा परिचय उल्लेख गर्न समीचीन ठानेर यहाँ प्रस्तुत गरिएको छ । ऋषि कात्ययनका शब्दमा यद् अक्षर परिणााम तच्छन्दः अक्षरको परिणाम नै छन्द हो । साधारणत भन्नुपर्दा छन्द शब्दको व्युत्पत्ति छद् घातु र अशुन् प्रत्ययको संयोगबाट भएको हो भनिन्छ । जसको अर्थ आल्हादित गर्नु अथवा खुस गर्नु हो भन्ने भनाइ रहे पनि यसको व्यपकतामा छन्द भन्नाले नियममा आच्छादित गरिएको वा बाँधिएको रचना भन्ने बुझ्नुपर्दछ । छन्दसूत्र नामक कृतिको २०० ई.पू.आचार्य पिङ्गले रचना गरेको आधारमा उनलाई छन्दशास्त्रका प्रणेताका रूपमा स्वीकार गर्दै उनीद्वारा रचित छन्दसूत्रलाई छन्दशास्त्रको आदि ग्रन्थ भनिन्छ ।
कतिपय विद्वान मुख्यत मात्रिक, वर्णिक र मुक्तछन्द तीन प्रकारका छन्द छन् भन्दछन् तापनि वर्णिकवृत्तलाई पनि थप छन्द मानिन्छ । छन्दमा गति, यति, लय, तुक, चरण, मात्रा वर्ण र गण आठ तत्व निहीत छन् । छन्दः पादौ तु वेदस्य अस्तौ कल्पोद्रथ पठ््यते् छन्दको प्रयोग सर्वप्रथम ऋग्वेदमा भएको उल्लेख छ तसर्थ छन्दलाई वेदको पाउसमेत भनिन्छ ।
देश भ्रष्टाचार र कुसाशनका तापले तप्तछ । जनता सुशासन र भ्रष्टाचामुक्त राज्यको परिकल्पनामा काकाकुलझैँ व्याकुल छन् । लाखौं युवायुवती विदेशिएर वृद्धाश्रम बनेको छ मुलुक । वर्तमानमा स्वदेश परदेश यत्र-तत्र यिनै विषयको अनपेक्षित गीत लेखिन्छन्, कविता कोरिन्छन् र दुःखसाथ गाइन्छन् सर्वत्र ।
कवि भण्डारीको गोपाल भण्डारीका छन्दकविताहरू कृति प्राञ्जल तथा सरल भाषामा कर्तव्यबोध, प्रेम, आदर्श र आध्यात्मिक चेत मिश्रित कविताहरूको गुञ्जन हो । यहाँ सरल, सुवोध काव्यशैलीमा सर्वतः सर्वे भवन्तु सुखिनः को सन्देश दिन खोजिएको छ । कृतिमा कविले वसन्ततिलका, अनुष्टुप तोटक, स्रग्विणी, स्वागता, वियोगिनी, इन्द्रवंश, चित्रलेखा, भुजङ्गप्रयात, दुई उपजाति, स्रग्धरा, शालिनी, चम्पकमाला चौध छन्दमा त्रीचालिस कविताहरू रचनाहरू प्रस्तुत गरेका छन् ।
छन्दमा लेखिएका कविताहरूको रसास्वादन गर्दा यथासक्य छन्दभंग नभई पाठकका दाँतमा ढुंगा नलागोस् यही नै कविको पहिलो चिन्तन हुनुपर्दछ भनिन्छ । त्यसैले यदाकदा आइपर्ने कविका अप्ठ््यारालाई अपि मांस मसं कुर्यात् छन्दो भङ्ग नकारयेत्मार्फत समाधान गर्ने कविलाई छुट पनि यथा स्थानमा छँदैछ तथापि कवि छन्दभंगमा सजग देखिन्छन् । कविता वाचन गर्दा कविले लय र छन्दमा प्रशस्त सजगता अपनाएको आभास हुन्छ । यसले कवि आफ्ना रचनाप्रति सचेत छन् भन्नु अतिशयोक्ति हुने छैन । कृतिभित्रका कविता पढ्दै गर्दा कताकता छन्द कवितामा कविता लेख्नु परम्परालाई पछ््याउनुमात्र होइन अध्ययनलाई फराकिलो बनाउनु पनि हो भन्ने सन्देशसमेत प्रवाहित गर्न खोजेको आभास हुन्छ ।
कृतिभित्रका रचनामा डुब्दा
गोपाल भण्डारीका छन्दकविताहरू नामक यो कृति त्रिचालीस कविता गुञ्छलाई चौध छन्दरूपी सूत्रमा उनेर कवि भण्डारीको रचनाको कृति हो । कविद्वारा रचित कविता अध्ययन गर्दा संस्कृत साहित्य अध्ययनको प्रभाव स्वरूप कविलाई छन्द कविता रचना गर्न प्रेरणा भएको हो कि ? भन्ने आभास कवितामा सहजै पाइन्छ । पाश्चात्य शिक्षा र संस्कृतिको भूमरीमा नाचिरहेको हाम्रो समाजमा छन्दमा कविता रचना गर्नु विरल भएको अवस्थामा कविले एक सिंगो कृति नै नेपाली समाजलाई सुम्पेका छन् जुन मननीय र स्तुत्य छ । हामी पूर्वीय श्रुति र स्मृति परम्पराका उपजहरूलाई अद्यापि कविताभन्दा छन्दमा लय हालेर आनन्दसाथ सुनिने र सुनाइने विधामात्र कविता हो भन्ने मानिसिकता अद्यापि कताकता जीवितै छ ।
यस कृतिका ‘अर्धागिंनी’ र ‘आमोद’ यी दुई कविताहरू वसन्ततिलका छन्दमा रचिना गरिएका छन् । १४ वर्ण हुने यो छन्द ‘उक्ता वसन्ततिलका तभजा जगौ गः’ त,भ,ज, ज, ग ग लक्षण युक्त हुन्छ । वसन्ततिलका छन्द भन्नेबित्तिकै महाकवि देवकोटाको ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनू जहाँ छ ।’ यो श्लोक प्रायः हरेक नेपालीका मानसपलटमा सल्बलाउन थाल्दछ । कवि भण्डारीले अर्धांगिनी कवितामा स्त्री जातिको महिमाको व्याख्या गरेका छन् । स्त्री-पुरुष गृहस्थ संसाररुपी रथका दुई पाङ्ग्रा हुन् भन्ने हाम्रो परंपरागत मान्यतालाई स्थापित गर्न यत्न गरेका छन् । ऋर्धांगिनीको शाब्दिक अर्थ आधाअंग हो । नर र नारी दुवैविना सृष्टिको कल्पना हुँदैन । शिवको अर्धनारीश्वररूप स्वयंमा पूजनीय र उपमेय छ । महाकवि कालिदासले रघुवंश महाकाव्यको प्रथम श्लोकमा ‘जगत् पितरः वन्दे पार्वतीपरमेश्वरौ’ भनेर वन्दना गरेका छन् । कविले भण्डारीले यही भाववाट प्रेरित भएर सृष्टिकी जननीका रुपमा स्त्रीमयी ‘अर्धागिंनी’ कविता रचना गरेर कृतिमा समावेश गरेका हुन् कि !
सृष्टिमा स्त्री पुरूष दुवैको आवश्यता छ । अङ्कुर प्रष्फुटनपछि क्रमशः पुरुष भूमिका छायामा पर्न थाल्दछ गौड देखिन थाल्दछ । जननीका रूपमा नारी प्रधान बन्दछे यही सत्यलाई ‘अर्धागिंनी’ कवितामार्फत कविले यही पुष्टि गर्न खोजेका छन् । कविले यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः र त्वमीश्वरी देवी चराचरस्य यी दुई श्लोकको समभावलाई समायोजन गरेर यो कवितामा प्रकट गरेका छन् । उनी स्त्रीलाई मुटुतुल्य भन्दछन्, हृदयश्वरी भनेर दिलकी रानी मान्दछन् र यसरी लेख्छन्-
भार्या अतीव कुशला दिलदीपिका हुन्
जयासित प्रमुखपुस्पित भावना हुन्
साथी सदा भर दिने शिवसाधना हुन्
अर्धाङ्गिनी प्रणयपावन पुष्पिका हुन्।।
वसन्ततिलक छन्दको अर्को कविता ‘आमोद’ मा कवि सर्वत्र अतुल हर्षको कल्पना गर्दछन् र त्यसैमा डुबेका छन् । आमोदको शाब्दिक अर्थ हर्ष हो । हर्ष भन्नु नै सकारात्मक सोच हो । सकारात्मक सोचले सर्वत्र आनन्दको सुवास छर्दछ । यो कवितामा अमोद शब्दबाट सुरु भएका हरेक श्लोकले समस्यापूर्ति गर्दै सकारात्मक सोचको सन्देश प्रवाह गरेको छ । मानवले आमोद कहाँ कसरी प्राप्त गर्न सक्छ ? यो प्रश्नको सरल उपाय ‘आमोदका भजनमा ममता मिसाऔं’बाट कविले दिएका छन् । कविको यो श्लोक पढ्दै गर्दा धनानि भूमौ पशवश्च गोष्ठे भार्या गृहद्वारि जनः श्मशाने, देहश्चितायां परलोकमार्गे धर्मानुगो गच्छति जीव एकः सारा धन भूमिमै रहन्छ, पशुहरू गोठमा नै छोडिन्छन्, पत्नी विदा गर्न ढोकासम्म मात्र आउने छिन् । सारा कुटुम्ब स्मशानसम्म मात्र आउने छन्, शरीर चितामा जलेर भस्म हुनेछ र अन्त्यमा परलोकको मार्गमा जीवात्मासँग केवल उसको धर्म (कर्म)मात्र साथमा जानेछ । सायद यही भावनाले अभिप्रेरित भएर कवि काम, क्रोध, लोभ, मोह, ईष्र्या, रीस, रागबाट माथि उठेर आमोदका खोजीमा छन् र त्यसैमा तन्मय हुन सबैलाई कवितामार्फत यसरी सल्लाह दिन थाल्छन् ।
आमोदका अतुल आसनमा अटाऔँ
आमोदका अनुभवी अनुराग पाओँ
आमोदमा अमल भाव कला मिलाऔँ
आमोदमा अमल काव्य कथा बनाऔँ
यस प्रकारका सुन्दर कविता सिर्जना गरेर सत्यानुरागीहरू आफू सत्यमार्गमा लाग्छन् र अरूलाई पनि लाग्नको लागि सिर्जनामार्फत प्रेरणा दिने गर्दछन् ।
यस कृतिमा कविले सबैभन्दा बढी, ‘मनु, आदिकवि भानुभक्त आचार्य, राधाराम, विजयादशमी, श्रीकृष्ण, रमा, रीता, सीता, यमुना, तिहार, अञ्जु, मनीषा, पितामाता, गीता, समस्याः खिचडी अब’, पन्ध्र कविताहरू अनुष्टुप् छन्दमा रचना गरेका छन् । अनुष्टुप् छन्द संस्कृत साहित्यमा सर्वाधिक प्रयुक्त हुने छन्द हो । चार पाउ र हरेक पाउमा आठ अक्षर अर्थात् बत्तीस वर्णबाट यो छन्द बनेको हुन्छ । यसको लक्षण ‘श्लोके षष्ठं गुरु ज्ञेयं सर्वत्र लघु पञ्चमम्, द्विचतुष्पादयोह्र्रस्वं सप्तमं दीर्घमन्ययोः” प्रत्येक पाउको छैटौँ वर्ण गुरू र पाँचौँ वर्ण लघु हुन्छ भने प्रथम र तृतीय पादको सातवा वर्ण गुरू हुन्छ र दोस्रो र चौथो पाउको सप्तमाक्षर लघु हुन्छ भन्ने सर्वमान्य सिद्धान्त छ ।
श्रीमद्भगवतगीता, श्रीमद्भागवत, महाभारत जस्ता अधिकांश कृतिहरू यही छन्दमा लेखिएका छन् । ऋषि कवि वाल्मिकिद्वारा उच्चारित ‘मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः यत्क्रौंचमिथुनादेकमधवी काममोहितम्’ यही श्लोकलाई अनुष्टुप् छन्दको पहिलो श्लोक मानिन्छ ।
भण्डारीद्वारा रचित अनुष्टुप् छन्दका प्रायशः कविताहरूमा प्रयुक्त शब्दले स्वतःस्फूर्त आध्यात्मिक भक्तिभाव उत्पन्न हुन्छ । कविताहरू अनुशीलन छन्, ईशमय छन् यसमा द्विविधा रहेन तर यस छन्दमा लेखिएका कतिपय कविताहरूमा प्रयुक्त शब्दहरू जगाऔँ अनुशासन, बढाऔँ चारू चेतन, अनन्य जीवन, आदि धेरै शब्दलाई कविले पटक-पटक दोहार्याएका छन् । यस प्रकारले शब्द दोहार्याउनुको साटो हरेक कवितामा पृथक् पृथक् पर्यायवाची शब्द प्रयोग गरेको भए अझ सुनमा सुगन्ध हुने थियो । कविले मनु कवितामा ‘मनुको ममता मानी भोगौँ अनन्य जीवन’ लेखेका छन् यही शब्द ‘भानुको वन्दना गर्दै भोगौँ अनन्य जीवन’ आदिकवि भानुभक्त आचार्य शीर्षक कवितामा दोहोर्याएका छन् । मेरो यो भनाइ कविले गलत गरे भन्न खोजेको होइन व्याकरण र छन्दको हिसाबले ठिकै भए पनि मैले केवल सुनमा सुगन्ध खोजेको मात्र हो केवल पाठक मनमा उब्जिने कौतुहलको निदान मात्र खोजेको हो ।
कविले पवित्र चाड दशैँ र तिहारको महत्वमा प्रकाश पार्दै ओजपूर्ण कविताहरू रचना गरेका छन् । चाडबाडहरू कुनै पनि सभ्यता संस्कृतिका द्योतक हुन् प्रतीक हुन् । तिहार कवितामा कविले सनातन संस्कृतिको विस्तृत प्रकाश पारेका छन् यो आफैँमा प्रशंसनीय छ । कविको यो कविता गुणरत्न मालाका श्लोकझैँ युगयुग पढिने युगीन कविता हो । यो कविता पढ्दै गर्दा मलाई कवि शिरोमणी लेखनाथ पौडेलको “ऋतु विचार” र आमाले भन्ने गरेका गुणरत्न मालाका निती श्लोकहरूको स्मरण भयो, जसरी म अहिले आमाले वाचन गरेका श्लोकहरू भावी पुस्तामा हस्तान्तरण गर्दैछु त्यसरी नै भविष्यका पुस्तालाई तिहारमा गरिने र गर्नुपर्ने समस्त रीतिरिवाजको सूक्ष्माति सूक्ष्म कुराहरू यस कवितामार्फत कविले सम्प्रेषण गरेका छन् । मलाई लाग्छ यो कविता खास गरेर प्रवासीहरूको जनजिब्रोमा जीवित रहने छ र भावी पुस्तामा सहजै हस्तान्तरण हुनेछ ।
‘सकियो भेलको खेल वर्षा पार्दैन आकुल ।
धूलो दुक्खदिने छैन हिलाको सिद्धियो बल ।।’
आयो शरद्ऋतु प्यारो मान्छे ज्यादै खुशी भए ।
बाटाघाटा सफा पारे पोतेका घर देखिए ।।
यी कवितामार्फत कविले पवित्र चाड आउने बेलाका प्रकृति र त्यसले मानिसमा आउने उत्साहको वर्णन गरेका छन् । कविको यो कवितामा तिहार शरदऋतुमा आउने र त्यसको खुशीयालीमा वर्षाले विगारेका संरचनालाई पुनर्निर्माण, वर्षाले पखालेका घरहरूलाई पुनः रंगले पोतेर सुरम्य बनाउने परम्पराको संकेत गरेको छ ।
यसको अलावा कविका तिहार कवितामा हिन्दूको महान चाड तिहार कहिलेदेखि सुरू हुन्छ र कसरी यो पर्व मनाइन्छ भन्ने सूक्ष्मातिसूक्ष्म रूपमा कविले वर्णन गरेका छन् । सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय यो मौलिक सिद्धान्तमा आधारित सनातन धर्म यति व्यापक छ यति उदार छ कि उसले समस्त सृष्टिलाई सम भावले हेर्दछ । त्यसैले श्रीकृष्ण सगर्व शुनि चैव श्वपाके च पण्डिता समदर्शिनः उद्घोषण गर्दछन् । उनका अनुयायी काग, कुकुर, गाई, गोरू र मानवको प्रतिनिधिका रूपमा दाजुभाइलाई पूजा गरेर यमपञ्चक मनाउँछन् । यिनै संस्कृति र संस्कारका विषयलाई कविले कवितामा सविस्तार निम्न रूपमा प्रकट गरेका छन् ।
तिथि त्रयोदशीबाट कार्तिक कृष्णपक्षको ।
तिहार हुन्छ आरम्भ पाँचदिने छ पर्व यो ।।
पहिलो दिनमा दिन्छौ काकबली मिलीजुली
गाईपूजा गरी दिन्छौ औँसीमा भव्य भोजन ।
यसै दिवसमा हुन्छ लक्ष्मीपूजा छ पावन ।।
भइटीका द्वितीयामा हुन्छ विधिविधानले ।
द्वितीया यमको यै हो भन्छन् शास्त्र र विज्ञले ।।
स्रग्धरा छन्दमा कविले ‘भण्डारीवंश’ शीर्षकमा सुन्दर कविताको रचना गरेका छन् । स्रग्धरा छन्द २१ वर्णको योगबाट बनेको हुन्छ । म्रभ्नैैर्यानां त्रयेण, त्रिमुनियतियुताः, स्रग्धरा कीर्तितेयम् म, र, भ, न, य, य, य गण यसका लक्षण हुन् । सात-सातवर्णको तीन यतिबाट यसमा लय मिलाइन्छ । स्रग्धरा संस्कृत साहित्यमा एक चर्चित छन्द हो । नेपाली साहित्यमा कवि शिरोमणि लेखनाथ पोडेलले सत्य सन्देश स्रग्धरा छन्दमा नै यसरी सम्प्रेषण गर्नु भएको छ ।
थोत्रो पाटी ऊज्यालो, मलिन तृणकुटी, कन्दरा झन् ऊज्यालो,
भिक्षा भारी ऊज्यालो, अझ वन-वनको साग सिस्नु ऊज्यालो ।
फ्याङ्लो गुन्द्री ऊज्यालो, वरपर घुमदा जीर्ण कन्था ऊज्यालो,
तृष्णाको तुच्छ जालो मनबीच नभए, जो मिल्यो सो ऊज्यालो ।।
डार्विनवादीहरू मानिस वानरको विकसित रुप हो भनेर तर्क गर्दछन् । मुस्लिम, क्रिश्चियनहरू एडम र इभलाई आफ्नो पुर्खा मान्दछन् र सनातनीहरू आफूलाई ऋषि कुलका मान्दछन् । यस कवितामा कविले “हाम्रा हुन् मान्य मूली ऋषिवरभवका ध्यानधर्मी वशिष्ठ” भनेर आफू वशिष्ठ ऋषिको सन्तान भएको प्रस्ट किटान गरेका छन् । पूर्वीय दर्शनले अंगिरस, अत्रि, गौतम, कश्यप, भृगु, वशिष्ठ, कुत्स र भारद्वाजका अलवा तपोबलद्वारा मान्यताप्राप्त ऋषि विश्वामित्रलाई ऋषि भनेको छ । यिनी ऋषिमा पनि शक्तिशाली ऋषि मानिन्छन् । भिन्न भिन्न मनवन्तरमा भिन्न भिन्न ऋषिहरूको प्रादूर्भाव हुने गर्दछ । वर्तमान वैवस्वत मनवन्तरमा सात ऋषिहरू अवतरित भएकाले सप्तऋषि कश्यप, अत्रि, वशिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र भारद्वाजको नामबाट लोकमा पुजिन्छन् ।
कविले भण्डारीवंश कवितामा भण्डारी वंशका बारेमा विविध जानकारी दिँदै गर्दा ईश प्रार्थनालाई पनि समेटेका छन् । यसबाट कविको भगवान्प्रतिको आस्था जहाँ जहाँ धुवाँ त्यहाँ त्यहाँ अग्नि भनेझैँ स्वतः प्रस्ट हुन्छ । यो सुन्दर कवितामा कविले यसरी मनमोहक भावमा भगवान््को अर्चना गरेका छन् ।
पूजा हे देव गर्छौँ प्रमुदितमनले नाश सम्पूर्णकष्ट
प्रज्ञावर्चष्वरक्षा प्रभु गर गुनिला पुण्य देऊ अभीष्ट ।
हामी सौभाग्यशाली सफलहुन सकौँ अस्मिता हून् प्रकृष्ट
हामीलाई बिगार्ने रिपुगणननिका पार सम्पूर्ण नष्ट ।।
कवि भण्डारीले विभिन्न छन्दमा कविता लेख्ने क्रममा ‘बालब्रहृमचारी षडानन्द अधिकारी, बगैँचा र इ.सन्को नयाँ वर्ष’ यी तीन कविताहरू भुजंगप्रयात् छन्दमा रचना गरी यस कृतिमा समावेश गरेका छन् । भुजंगप्रयात छन्द संस्कृत तथा नेपाली साहित्यमा प्रचलित छन्द मानिन्छ । सांस्कृतिक साहित्यमा विशेषत यसलाई स्तोत्र छन्दका रुपमा लिइन्छ किनकि अधिकांश स्तोत्रहरू यसै छन्दमा लेखिएका छन् ।
आचार्य केदार भट्टले भुजंगप्रयातं चतुर्भिर्यकारैः भनेर यसको लक्षण प्रष्ट पारेका छन् । यस छन्दमा चरणन्तमा यति हुन्छ । चार य गण (बाह्र अक्षरका चार श्लोक)बाट बनेका ४८ वर्णको श्लोक नै भुजंगप्रयात छन्द मानिन्छ । यस छन्दमा रचना भएका कतिपय श्लोक नेपाली जनमानसले अत्यन्त रुचाइएका श्लोकमा पर्दछन् । उदाहरणको ‘पमा महाकवि देवकोटाको शाकुन्तल महाकाव्यको, ‘न वा त्यो चरी हो, न वा त्यो परी हो ? न वा कृष्णको मोहनी माधुरी हो ? न वा विश्वसौन्दर्यको चातुरी हो ? यसै कान पीयूषले नै भरी भो ।।’, श्लोकलाई उद्दृत गर्न सकिन्छ ।
पवित्र चाड दशैँ र तिहारको महत्वमा प्रकाश पार्दै ओजपूर्ण कविताहरू रचना गरेका छन् कविले । चाडवाडहरू कुनै पनि सभ्यता संस्कृतिका द्योतक हुन् प्रतीक हुन् । तिहार कवितामा कविले सनातन संस्कृतिको विस्तृत प्रकाश पारेका छन् यो आफैंमा प्रशंसनीय छ ।
कवि भण्डारीले महान् गुरू ऋषि षडानन्दका विषयमा कविता लेखेर अमेरिकामा पनि गुरूलाई जीवन्तता दिन यत्न गरेका छन् जुन, आफैँमा प्रसंशनीय छ । गुरूका बारेमा जति लेखेर पनि सकिँदैन । उहाँ ज्ञानको सागर हो सागरमा एक थोपा पानी हाल्दा थाहा नभएझँै गुरूका बारेमा जति लेखे पनि अन्ततः एक थोपा मात्र हुन्छ तथापि यो पर्याप्त हुन्छ किनकि थोपाविहीन भयो भने समुद्र पनि विलिन हुन सक्छ । हामीले उहाँका बारेमा के लेख्न सक्छौँ ? बरू केवल कविले “षडानन्दका साधना सिद्धि पाऔँ” भनेझैँ उहाँबाट अपेक्षा गर्न सक्छौँ, आर्शीवादको कामना गर्न सक्छौँ । कविले त्यस्तै अपेक्षाका साथ यो कविता लेखेर गुरूप्रति आस्था प्रकट गरेका छन् ।
षडानन्द हुन् जीन्दगीमा अनन्य
षडानन्द हुन् देवतातुल्य धन्य ।
षडानन्द हुन् ज्ञानदाता र मान्य
षडानन्द हुन् सद्गुणी सर्वमान्य ।।
कविको उपरोक्त कविता पढ्दै गर्दा मलाई सुभाषितकारका यी श्लोकहरूको स्मरण भयो । यस कृतिका कविले पनि यो कविता अवश्य पढेको हुनुपर्दछ भन्ने आशयले यो कविता यहाँ उल्लेख गर्न वाञ्छनीय ठानेँ । भुजङ्गप्रयात छन्द पढ्दा प्रायःका जनजिब्रोमा आउने निम्न श्लोक र कविको उपरोक्त श्लोकको लेखाइमा कति समता छ ?
विना गोरसं को रसो भोजनानां,
विना गोरसं को रसो भूपतीनाम् ।
विना गोरसं को रसः कामिनीनां,
विना गोरसं को रसः पण्डितानाम् ।।
यी चारै पङ्क्तिमा गोरस शब्द प्रयुक्त छ तर चारैको अर्थ फरक फरक छ । पहिलोमा गोरसलाई गौबाट प्राप्त हुने दुध र त्यसबाट बन्ने परिकार, दोस्रोमा गोरसलाई पृथ्वी, तेस्रोमा गोरसलाई प्रेम, चौथोमा गोरसलाई वेद वा ज्ञानको भावमा लिइएको छ ।
कविले तोटक छन्दमा मानवजीवन, स्रग्विणी छन्दमा रश्मि, अस्मिता, प्रेम, जानुका, स्वागताछन्दमा सम्झना, अम्बिका, वियोगिनी छन्दमा निकिता, कमला, ममता, समिता, सलिना, कविता, प्रणव, अथिना, इन्द्रवंशा छन्दमा सन्सार, उपजातिमा काव्य (इन्द्रवंशा र वंशस्थ), उपजातिमा आकाश र छन्द (इन्द्रवंशा र उपेन्द्रबज्रा), स्वागता छन्दमा सम्झना, शालिनीमा आन्या, चम्पकमाला छन्दमा जीवन, कविताहरू यस कृतिमा समावेश गरेर पाठकसमक्ष ल्याउने यत्न गरेका छन्, जो आफैँमा स्वागतयोग्य छ । विविध शीर्षकका कविताहरूले पृथक् पृथक् भाव सम्प्रेषण गर्दैगर्दा कवि भण्डारीका छन्द ज्ञान र रचना गर्ने क्षमताका प्रतिबिम्वका रूपमा जन्मिएका यी कविता अवश्य पठनीय र मननीय छन् । तोटक छन्दमा मानवजीवन, स्रग्विणी छन्दमा रश्मि, अस्मिता, प्रेम, जानुका, स्वागताछन्दमा सम्झना, अम्बिका, वियोगिनी छन्दमा निकिता, कमला, ममता, समिता, सलिना, कविता, प्रणव, अथिना, इन्द्रवंशा छन्दमा सन्सार, उपजातिमा काव्य (इन्द्रवंशा र वंशस्थ), उपजातिमा आकाश र छन्द (इन्द्रवंशा र उपेन्द्रबज्रा), स्वागता छन्दमा सम्झना, शालिनीमा आन्या, चम्पकमाला छन्दमा जीवन उल्लेखनीय छन् ।
देश भ्रष्टाचार र कुसाशनका तापले तप्तछ । जनता सुशासन र भ्रष्टाचामुक्त राज्यको परिकल्पनामा काकाकुलझैँ व्याकुल छन् । लाखौँ युवायुवती विदेसिएर बृद्धाश्रम बनेको छ मुलुक । वर्तमानमा स्वदेश परदेश यत्र–तत्र यिनै विषयको अनपेक्षित गीत लेखिन्छन्, कविता कोरिन्छन् र दुःखसाथ गाइन्छन् सर्वत्र । परदेशमा युवाहरू प्रवाश घुमेर घर फर्किएका पक्षीको लस्कर देखेर भावविभोर हुदैँ दुःख बिर्सेर स्वदेश फर्किने परिकल्पनामा तरगिंत बन्दछन् । स्वदेशमा हरेक साँझ आफन्त वियोगको वेदनामा अभिभावक र युवतीहरू आँसु पुछ्न बाध्य बन्छन् । यही छ नेपाल र नेपालीको वर्तमान अवस्था । अहिले पनि मेरा अगाडि भूमिका लेख्न राखिएका अधिकांश प्रवासीका पाण्डुलिपिमा स्वदेशको मायामा परदेशका पीडा घोलिएर प्रकट भएका कथा र व्यथा छन् । कवि भण्डारीका कृतिमा भने देश नदुखेको देख्ता रोम, निरो र बाँसुरीको कथा सम्झदै कतै कविले पृथक् धारमा लेखेका केवल आदर्श चिन्तन, आध्यात्मिक चेतना र नैतिकताभित्र रुमलिएका कविताहरूमात्र यो कृतिमा समेट्न खोजेका हुन् कि भनी चित्त बुझाएँ, तर कविको कवि मन कहाँ मान्छ र उनले पृथक् विधामा लेख्न खोजे पनि आफूलाई थाम्न सकेनन् र ‘समस्याःखिचडी अब’ कवितामा
‘दयाधर्म गरे मात्र मिल्दछन् शुद्ध वैभव ।
दुष्टबाट कहाँ पाक्लान् देशमा खिचडी अब ।।’
लेखेर आफ्नो हृदयमा उकुसमुकुस भएको भाव पोखेको देखेपछि मेरो जिज्ञासा शान्त भयो । कवि कवि हो ऊ जहाँ भए पनि देश रोएको कसरी हेर्न सक्छ प्रश्नको निराकरण गरेँ ।
अन्त्यमा, कवि भण्डारीको साहित्याकाश अझ घनिभूत भएर पुनः नयाँ नयाँकृतिहरू शीघ्रातिशिघ्र लोकार्पित भएको देख्ने अवशर प्राप्त होस् । यही शुभेच्छासहित यस कृतिको सफलता कामना गर्दै कविले चित्रलेखा छन्दमा रचना गरेका यी पद्यलाई उद्धृत गरेर-
नेपालीमा अधिकजनहरू चाड मान्छन् तिहार
खेल्छन् खान्छन् प्रकृतिसितमिली ईशझैँ छन् उदार ।
लक्ष्मी पुज्छन् प्रणवविमलले कर्ममा छन् तयार
नेपाली छन् अतिशय गुनिला दिव्य राख्छन् विचार ।।
लेखनी बन्द गर्दछु । अस्तु ।।