खोला, वनजंगल, हावापानी, वनस्पति आदि प्रकृति हुन् । यिनीहरू ‘जाने प्युठाने नजाने जिउ खाने’ नेपाली उखान जस्तै हुन् । बाढीपहिरोको वितण्डा भनेको प्रकृतिले देशको नेतृत्व गर्नेहरू सबै पार्टीमा अक्षम छन् भन्ने घोषणा हो । यो असफलता वर्तमान सरकारको मात्रै होइन बहुदलीय व्यवस्थामा बनेका सबै सरकारहरूको एकमुष्ट असफलता हो । सिंहदरबारको बलेसीमा नागरिक बगिरहने, नागरिक डुबिरहने, यात्रामा रहेका नागरिकहरू बसका बस पुरिने, तिनको सुरक्षामा पूर्णतः असफल संयन्त्रलाई जनताले किन मान्ने ? जनता शोकमा प्रधानमन्त्री विदेशी भोजमा । राजधानीमा यस्तो भयावह अवस्था भयो भने मोफसल र दूरदराजमा नागरिकहरूको अवस्था के होला ? नेतृत्व नै असफल भएपछि सरकारको चौतर्फी असफलता छताछुल्ल भयो ।
सबै पार्टीका नेताहरूले आफ्नो असफलता र अक्षमतालाई अविलम्ब आत्मसात गर भन्ने बाढीपहिरो रूपी प्रकृतिको सन्देशलाई अब अवहेलना किमार्थ गर्नु हुँदैन । जनताले तिम्रो काम कारबाहीप्रति संविधानअन्तर्गत शान्तिपूर्ण विरोध गर्दा वर्षने लाठी, अश्रुग्यास र पानीका फोहरा हान्ने प्रभावकारी शक्ति बाढी र पहिरोको वितण्डाबाट पीडित नागरिकको घाउमा मलम लगाउने काममा किन प्रभावकारी देखिएन ? सत्तामा जो आए पनि अक्षम, भ्रष्ट र कुशासकबाहेक देशले के पायो ? भ्रष्टलाई भ्रष्टले प्रतिस्थापन गर्ने यो व्यवस्थामा नागरिकको भविष्य छैन । नागरिकको भविष्य नभएको व्यवस्थामा नागरिकको हित के सम्भव छ ? प्राकृतिक प्रकोपबाट पीडितलाई बचावट गर्ने संयन्त्र कतै प्रभावकारी नदेखिने अवस्थाले यो व्यवस्थाले उत्पादन गरेको नेतृत्व सक्षम छैन भन्ने प्रमाणित भयो ।
पञ्चायत कालमा दशरथ रंगशालामा भीडले केही मानिसहरू मरे । पञ्चायतको सरकारका खेलकुदमन्त्री केशरबहादुर विष्टले त्यसको जिम्मेवारी लिए र पदबाट राजीनामा गरे । उनले जुन स्तरको नैतिकताको प्रदर्शन गरे के बहुदलीय व्यवस्थाका मन्त्रीहरूले, त्यस स्तरको नैतिक जिम्मेवारी लिन किन सक्दैनन् ? पञ्चहरूको तुलनामा यिनीहरू बढी पदलोलुप प्रमाणित भएनन् ?
अब अविलम्ब विकल्प खोज भन्ने प्रकृतिको सन्देशलाई बुझ्नु र त्यसअनुरूप अहिलेको नेतृत्वले खोला, पहाडको भाषालाई सबै पार्टीका मुखियाहरूले व्यवहारबाट कहिले आत्मसात गर्ने ? पुष्पकमल दाहालले पार्टीमा नेतृत्व हस्तान्तरणको बहसमा म मृत्युपछि पनि पार्टीको नेतृत्व गर्छु भन्न भ्याए । यो दृष्टिकोण खड्ग ओली, शेरबहादुर र रामचन्द्र एण्ड कम्पनीलगायत सबै पार्टीहरूको अवस्था भिन्न छैन । यिनीहरू सबैलाई जीवनभर पद चाहिन्छ । हत्याहिंसाको नेतृत्व युगौंयुगसम्म अब इतिहासले पुष्पकमलको जिम्मामा दियो । व्यक्ति हत्याबाट राजनीतिक परिवर्तन ल्याउने नाममा १४ वर्ष व्यक्ति हत्याको आरोपमा जेल बस्ने खड्गप्रसाद एण्ड कम्पनी इतिहासमा कसरी अमर हुने ?
देशमा उद्योग धन्दाहरूलाई व्यक्तिको जिम्मा लगाएर देशलाई परनिर्भरताको खाडलमा जाक्ने र काठमाडौंमा सानु कोठासम्म आफ्नो बलबुतामा भाडा तिर्न र हातमुखसम्म जोर्न कठिन हुने शेरबहादुर, रामचन्द्र एण्ड कम्पनीहरूले बनाएका घर, सर्भेन्ट क्वाटर र उनीहरूको नेतृत्वमा भए गरेका कुशासनका दस्ताबेजले सम्बन्धित सबै इतिहासमा उल्लेखित नाम हुन् । यस्ता घटना र दुर्घटनाको साक्षी नेपाली समाज भएकोले नेतृत्वले जनता र देशलाई दिएको धोखा र भ्रष्टाचारको उपहार इतिहासले किमार्थ भुल्दैन । तसर्थ अब तिमीहरू सत्तामा रहे पनि वा नरहे पनि तिम्रो हिजोको लगानीलाई असुल गरेको कालो इतिहास कहिल्यै मेटिन्न । अमरत्व मानिसले राम्रो वा नराम्रो कामले पाउँछ ।
यो तीस वर्षको नेतृत्वले राम्रो काम यदि झुक्किएर गरेको छ भने ऊ त्यसकै लागि नियुक्त भएको हो त्यसको गणना र हिसाब हुँदैन । नराम्रा कामहरू जस्तो वाइडबढी, यती, ओम्नी, लडाकुको पारिश्रमिक घोटाला, बालुवाटारको, बाँसबारीको, स्काउटको जग्गा र नेपाली नागरिकलाई भुटानी बनाउँदै अमेरिका निर्यात् जस्ता अनगिन्ती कुकर्मले सबै पार्टीका सबै नेता नेपालीहरूको नकारात्मक सूचीमा अजरअमर छन् । तिम्रो कार्यकालको कुशासन तिमीहरूको नाममा इतिहासले सुरक्षित गर्न भुल्ने छैन । यो नकारात्मक सूचीमा दर्ता भएका इतिहासमा सधैं स्मरणमा रहन्छन् । खोलाको र पहाडको भाषा बुझेर सबै पार्टीका नेताहरूले अब राजनीतिको मैदान छोड भन्ने प्रकृतिको आदेशको पूर्णपालनाको अर्को कुनै विकल्प छ ?
प्रकृति मानव मात्रको अभिन्न मित्र मात्रै होइन प्रकृति र मानवको अन्योन्यास्रित सम्बन्ध छ । यस सम्बन्धलाई शब्दमा व्याख्या गर्ने होइन व्यवहारमा अनुवाद गर्नुपर्छ । यसलाई भन्नजस्तो सजिलो व्यवहारमा अनुवाद गर्न हुँदैन र छैन । हाम्रो राजनीतिले आफ्नो र आफ्नाको हितका लागि खोलाहरूलाई, जंगललाई तीव्र रूपमा अतिक्रमण गर्दै आयो । खोला, जंगल बोल्दैनन् भनेर यिनीहरूलाई वर्षौंदेखि अतिक्रमण गर्दै कसैले आर्थिक फाइदा लिए कसैले राजनीतिक फाइदा लिए । यसैलाई सफलता र प्रगति मान्ने हाम्रो राजनीति र समाजलाई गत केही दिनदेखिको अविरल वर्षाका कारण नदीको बहावमा भएको वृद्धिले देशभर विशेषतः राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । राजधानीमा नै सरकारले आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्न पूर्णतः असफल भएको आँखाले देख्यौं तर सरकार आफू असफल भएको विषयमा उच्चारणसम्म गर्न तयार छैन ।
पञ्चायत कालमा दशरथ रंगशालामा भीडले केही मानिसहरू मरे । पञ्चायतको सरकारका खेलकुदमन्त्री केशरबहादुर विष्टले त्यसको जिम्मेवारी लिए । उनले पदबाट राजीनामा गरे । उनले जुन स्तरको नैतिकताको प्रदर्शन गरे के बहुदलीय व्यवस्थाका मन्त्रीहरूले, प्रधानमन्त्रीहरूले, राष्ट्रपति पदमा आसीनहरू कसैले त्यस स्तरको नैतिकता प्रदर्शन गरेर राजीनामा दिने र त्यसको नैतिक जिम्मेवारी लिन किन सक्दैनन् ? पञ्चहरूको तुलनामा यिनीहरू बढी पदलोलुप, स्वार्थी र भ्रष्ट भएको अब प्रमाणित भएन ? जनजीवन नै अस्तव्यस्त भएको अवस्थामा प्रधानमन्त्री जस्तो सरकारको अभिभावकीय पदीय हैसियतमा रहेको व्यक्ति देश यसरी शोकमा रहेको बेला विदेशी पाउनासँगको भोजमा रमाउने ?
अविलम्ब देश फर्केर अवस्थालाई सामान्यीकरण अभियानमा लैजान जुट्नुको साटो अब भोलिदेखि पानी पर्दैन भन्ने विज्ञप्ति निकाल्ने ? के तिनको विज्ञप्तिले पीडितहरूको भोक मेटिन्छ ? वासस्थानको व्यवस्था हुन्छ ? जनताको दुःखमा जनतामाझ हुनुपर्ने न्यूनतम् शिष्टाचारसम्म निर्वाह गर्न नसक्ने पनि जनताको मन्त्री, प्रधानमन्त्री हुन्छ ? जनताको प्रधानमन्त्री पद लिन सजिलो छ तर जनताको वास्तविक प्रधानमन्त्री हुने क्षमता र योग्यता प्रदर्शन गर्ने विषय सजिलो छैन । कुन व्यक्ति जनताको हो कुन होइन भनेर चिन्ने र जान्ने अवस्था भनेको संकटमा हो । जनताको प्रधानमन्त्री भएको भए भोलिपल्टै स्वदेश फर्कन्थे । यी आधुनिक निरोलाई जनता बाँचुन् वा मरुन् मतलब छैन ।
जनता फगत निर्वाचनको समयमा प्रयोग गर्ने र अन्य समयमा यिनीहरूले चिनियाँ सामानलाई जस्तै गर्छन् । चीनियाँ सामानको विशेषता हो युज एन्ड थ्रो । यिनीहरूले नेपाली जनतालाई पनि पुज एण्ड थ्रो गर्दै आएका छन् । त्यसको जबर्जस्त प्रमाण हो विपद व्यवस्थापनमा देखिएको असफलता । मोजमस्तीको लागि नातिनीको घरमा सम्धी भेट्नका लागि वा आफ्नो पदीय अवस्थाको आडम्बर प्रदर्शन गर्न हेलिकप्टर यिनीहरूले आफ्नो हक ठान्छन् । त्यो हेलिकप्टर किन जनताको उद्धारका लागि पूर्णतः प्रयोग हुन सकेन ? राजधानीमै जनताले राहतको अनुभूति नगर्ने र नपाउने अवस्था भनेको जनताको उद्धारका लागि भिजिबिलिटी हेलिकप्टरमा नभएको होइन यसका सञ्चालकहरूको मस्तिष्कमा भिजिबिलिटी नभएको प्रमाण हो ।
देशभरका खोला र बाढीले तिमीहरूमा नेतृत्व क्षमता छैन भन्ने घोषणा गरे । हुन त बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा नै अक्षमका बीचमा हुन्छ । जसले प्रतिस्पर्धामा जिते पनि जनताले पाउने अक्षम प्रधानमन्त्री, अक्षम मन्त्री र अक्षम राष्ट्रपति हुन् भन्ने विषय अहिले यिनीहरूको चरित्र, कार्यशैलीले प्रमाणित गरेको यो कटु सत्य हो । नेपालको एउटा होइन सबै पार्टी खराब, अनैतिक र भ्रष्टहरूको कब्जामा छन् । यिनै भ्रष्ट र अनैतिकहरूको छनौटमा सधैं भ्रष्ट, अनैतिक र यिनका नातागोताका प्राथमिकतामा हुने भएको हुनाले यस्तो व्यवस्थामा असल मानिसको नेतृत्व सम्भव देखिएन । बालेनजस्ता व्यक्तिहरू झुक्किएर निर्वाचित भए भने तिनीहरूका योजना र कार्यक्रमहरूलाई तुहाउने काम गर्नेलाई कसरी जनताको प्रतिनिधि भन्ने ?
अहिले प्रकृतिले घोषणा गर्यो तिमीहरूले अहिलेसम्म विकास र समृद्धिको संज्ञा दिएका सबै सडकहरू जनतालाई मृत्युवरन गर्न बाध्य बनाउने मृत्युको पासो रहेछन् । जनतालाई मृत्युको पासो उपहार दिनेहरूको नेतृत्व नालायक छ भन्ने पहाड र खोलानालाको घोषणालाई अब पनि नबुझे कहिले बुझ्ने ?
जनताको भोटको दुरुपयोग गर्नेहरू कसरी जनप्रतिनिधि हुन्छन् ? बहुदलीय व्यवस्थामा पदमा पुग्नेमा जनप्रतिनिधिको क्षमता कसैमा देखिएन । यिनीहरू सबैले व्यक्तिगत मोजमस्ती र अवैध धनार्जनमा रेकर्ड बनाएका छन् । कुनै राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशले मेरो सम्पति छानविन गर भनेर राज्यका सम्बन्धित निकायलाई भन्न सक्छ ? अब नेतृत्वविरोधीलाई जेल हाल्ने होइन आफैंले आफैंलाई जेल हाल्ने साहस र इमानदार साथै नैतिकताको व्यवहारमा उच्च प्रदर्शन गर्ने नेता देशले खोजेको छ । अहिलेसम्म सबै पार्टीको नेतृत्वले धनप्रतिनिधीको क्षमताको प्रदर्शन गरेका छन् । हिजो अपवादबाहेक पार्टीमा काम गर्ने सबै सुकुम्बासी वा सो सरहका अहिले संसारकै धनाढ्यमा गणना भएको हुनाले यिनीहरूलाई अब जनप्रतिनिधि भन्नुभन्दा देशलाई खोक्रो बनाउने र आफू र आफ्ना मोटाउने धन प्रतिनिधिको संज्ञा दिनु उपयुक्त होला ।
हिजोका सुकुम्बासी अहिले सत्तामा आएपछि आफ्ना नातागोता र पिछलग्गुहरूलाई काठमाडौंमा बसोवासको व्यवस्था गर्न यिनीहरूले वरपरका जंगल र खोलाहरूको चरम अतिक्रमण गरे । सुकुम्बासी आयोग यिनीको खोलाहरू र जंगललाई अतिक्रमण गर्ने नीति हो । यो अख्तियार दुरुपयोगको नमुना हो । यो नीतिगत भ्रष्टाचार हो । अहिले काठमाडौंका खोलाहरू सबैले एकसाथ अतिक्रमणको विरोध गरेका हुन् । प्रकृतिले प्रतिकार गर्दा के हुन्छ ? अब होसियार हुने कि कार्यकर्ता पोस्ने राजनीतिलाई निरन्तरता दिने ? हिजो काठमाडौंमा बस्न कोठा भाडामा लिन नसकेर विद्यार्थीको कोठा र भान्सा सित्तैमा अधियाँ गर्नेहरूको अहिले सर्भेन्ट क्वार्टरसमेतका अनगिन्ती हबेलीहरू कसरी बने ? जनताको आँखामा सधैं छारो हाल्न किमार्थ सकिँदैन ।
अब जनताले त्यो छानविन र तिनीहरूको ज्यादतीलाई कानुनको कठघरामा उभ्याउने सशक्त आन्दोलनविना देशमा सुशासनको आशा गर्नु भनेको मरुभूमिमा पानीको अपेक्षा गर्नुजस्तै हो । हिजो दुःखका दिनहरूमा आश्रय दिने र पाल्नेहरूसँग यिनीहरू अहिले भेट्नसम्म चाहँदैनन् । अहिले नातेदार प्रिय छन् । हिजो काठमाडौंमा साथीहरूले बास दिने बेला तिम्रा नातेदार कहाँ थिए ? जेलमा भेट्न तिम्रा नातेदार कहिल्यै आएनन् । म त्यसको साक्षी छु । कुनै पार्टीको ज्वाइँ, भानिज हुँदैन भन्ने विश्वासले पार्टीमा लाग्नेहरू अहिले सबै पार्टीमा किन निराश छन् ? त्यो लेखाजोखाको विवेकको खडेरी नै अहिलेको राजनीतिक संकट हो ।
अहिले तिम्रो ध्यान सबै नातेदारसँग किन ? स्वार्थको पनि हद हुन्छ । न्यूनतम् इमानदारीलाई निर्वाह गर्न नसक्नेहरूसँग देश हाक्ने हैसियत हँुदैन । यिनीहरू सबैले सत्तामा रहँदा हैसियतलाई उदांगो बनाए । राष्ट्रको गरिमामय पदलाई धरौटी राखेर धन जम्मा गर्नेहरूको नेतृत्व कसरी सफल हुन्छ ? असफलताको पहाड र पहिरोले किच्दा पनि तिमीहरूको होस खुल्दैन भने अब कहिले खुल्छ ? यिनीहरूमा चरित्र, योग्यता, देश निर्माणको दृष्टिकोण शून्य भएको कुरा यिनीहरूको नातागोता मोह र धन मोहले प्रमाणित गरेका विषय हुन् । नयाँ दृष्टिकोण, विकासको योजनाबिहीनहरूको बहकाउमा भएका सबै आन्दोलनहरू जनताको विपक्षमा भएको कुरा अब प्रमाणित भयो ।
यिनीहरूमा लाज छैन । लाज हुनेलाई पो लाज लाग्छ । यी लाज शून्यलाई लाजको डर छैन् । लाजको डर नभएको नेता देशको नेतृत्व गर्न किमार्थ योग्य हुँदैन । नेताले आफ्नो योग्यताको प्रदर्शन स्वयंले योजना र कार्यक्रम र नयाँ रणनीतिका माध्यमले गर्नुपर्छ । योजनाशून्य नयाँ रणनीति नभएकाबाट हामीले अपेक्षा गर्नु नै हाम्रो मुख्य भूल हो । नेतृत्व गर्ने स्वयं योग्य भएको प्रमाण उसको चरित्र नैतिकता, जीवनशैली र कार्यशैलीको आधारमा मापन हुन्छ नकि उसको बकमफुसे भाषण र उसका कार्यकर्ताको प्रशंसाले नाप्ने विषय किमार्थ होइन ।
अहिले प्रकृतिले घोषणा गर्यो तिमीहरूले अहिलेसम्म विकास र समृद्धिको संज्ञा दिएका सबै सडक जनतालाई मृत्युवरन गर्न बाध्य बनाउने मृत्युको पासो रहेछन् । जनतालाई मृत्युको पासो उपहार दिनेहरूको नेतृत्व नालायक छ भन्ने पहाड र खोलानालाको घोषणालाई अब पनि नबुझे कहिले बुझ्ने ? प्रकृति पनि अक्षमहरूका विरुद्धमा देखियो भने अब सबै पार्टीका अक्षमको दिनगन्ति सुरुवात भएको त होइन ? समय बलवान् हुन्छ नकि मानिस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच