काठमाडौं । तीन दिनसम्म परेको अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोलगायत प्राकृतिक विपदबाट १७ अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले उक्त तथ्यांक प्रस्तुत गर्नुभएको हो ।
उहाँका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् ।
बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।
कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले जानकारी दिनुभयो ।