काठमाडौं । गायक गणेश रसिकका विषयमा लेखिएका आलेखहरूको संग्रह ‘गणेश रसिक : अभ्यर्थना ग्रन्थ’को पनि लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कृतिको लोकार्पण गर्नुभएको हो । भोजपुरे सेवा समाज काठमाडौंको आयोजना तथा एम्बिसन एकाडेमी काठमाडौंको सहआयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कला, साहित्य र संगीतमा समर्पित व्यक्तित्व रसिकलाई अभिनन्दन गरिएको छ । अग्रज सर्जक रसिकको ७९औं जन्मदिनको अवसर पारेर सेवा समाजसहित भोजपुर जिल्लासँग जोडिएका ३० वटा संघसंस्थाले ‘भोजपुर गौरव’को विशेषणसहित अभिनन्दन गरेका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्र, राष्ट्रियता र आमनागरिकका पक्षमा सिर्जित रसिकका सिर्जना रैथाने स्वादका र कालजयी रहेको चर्चा गर्नुभयो । उहाँले देश र समाजलाई रसिकले दिनुभएको योगदानका विषयमा लेखिएका लेख संग्रह गरी ग्रन्थ प्रकाशन गर्नु खुशीको विषय भएको र यसले उहाँका जीवनका आरोह अवरोधका साथै समाज र राष्ट्रलाई दिनुभएको योगदान बुझ्न सहयोग पुग्ने जिकिर गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले रसिकको साहित्यक र सांगीतिकसहित सामाजिक पक्ष समाजका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । साहित्यकार गणेश रसिकले यो सम्मान तथा अभिन्दनका लागि आफू लायक छु या छैन थाहा नभएको तर यसरी अभिनन्दन गर्दा सबैप्रति आभारी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले आफू बिरामी भएर थला परेको जानकारी दिँदै अहिले पनि उपचार जारी रहेको जानकारी गराउनुभयो ।
भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले साहित्यकार रसिकले समाज र राष्ट्रलाई संगीत दिएर, कृति लेखेर महत्वपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो । उहाँले साहित्यकार रसिकले गीतसंगीतमात्रै नभएर कुशल प्रशासक र समाजसेवीका रूपमा समेत आफूलाई उभ्याएको जिकिर गर्नुभयो ।
साहित्यकार शंकर कोइराला र संगीतकार बुलु मुकारुङले साहित्यिक तथा सांगीतिक क्षेत्रमा रसिकले पुर्याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उक्त ग्रन्थको सम्पादन साहित्यकार सुदर्शन श्रेष्ठ र शशि लुमुम्बुले गर्नुभएको हो । कार्यक्रममा रसिकद्वारा रचना गरिएका तीनवटा गीतहरू विभिन्न कलाकारले प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच