काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म आएको अविरल वर्षाका कारण भएको धनजनको क्षतिलाई न्यूनीकरण गर्न पहल नगरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ । विपत्को पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी, राहत र उद्धारमा चुकेको भन्दै सरकारको चौतर्फी आलोचना भएको हो । मुलुकमा विपत्ति परेको बेला प्रधानमन्त्रीदेखि राहत र उद्धारमा खटिने निकायका प्रमुख नै विदेशमा थिए भने यहाँ भएका जिम्मेवार व्यक्तिले पनि समयमै निर्णय गर्न नसकेको भन्दै आलोचना भइरहेको हो ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा हुनुहुन्थ्यो । उहाँले भ्रमण छोट्याएर स्वदेश नफर्किएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर पनि ‘इन्टरनेसनल इन्फोर्समेन्ट कन्फरेन्स’ मा भाग लिन विदेश हुनुहुन्थ्यो । त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बेलायततिर हुनुहुन्छ । नेपालमै हुनुभएका मुख्यसचिव एकनारायण अर्याल काठमाडौंबाहिर सम्मान तथा उद्घाटन कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो ।
नेपालमा बाढी, पहिरो तथा डुबानबाट नागरिक प्रभावित भइरहँदा भ्रमण छोट्याएर प्रधानमन्त्री स्वदेश फर्कने धेरैको अपेक्षा थियो । तर, त्यसो हुन सकेन । स्वेदश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँगको भेटघाटमा प्रधानमन्त्रीमा कुनै गम्भीरता नदेखिएको टिप्पणी भयो । उहाँले विपद्बाट मुलुकलाई बाहिर निकाल्ने कुनै योजना सुनाउनु त कता हो कता उल्टै गैरजिम्मेवार रूपमा सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गर्नुभएको थियो । जसको सर्वत्र आलोचना र टीका टिप्पणी भयो । यद्यपि, उहाँले सोमबार साँझ मन्त्रिपरिषद्को बैठकबाट बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत दिने निर्णय गराउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने पनि निर्णय भएको छ । त्यस्तै, सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गर्यो । बाढीपहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।
पूर्वसूचना हुँदा पनि सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को पूर्वानुमान हुँदासमेत सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा उहाँले सरकारलाई राहत, उद्धार र पुनःस्थापनमा गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो । ‘मौसमविद्हरूले पूर्वानुमान गरिसकेका थिए आउने दुई तीन दिन भारी वर्षा हुँदै छ भनेर । मैले पार्टी र विपक्षी दलका नेताको तर्फबाट ठूलो क्षति हुनसक्छ सबै तयारी अवस्थामा रहनुपर्यो भनेको थिएँ सरकारलाई तर, सरकारको कुनै तयारी देखिएन’, उहाँले भन्नुभयो ।
सरकारले जे जति गल्ती गरे पनि अब एकजुट भएर पीडितको समस्या समाधान गर्नतिर लाग्नुपर्ने यहाँको भनाइ थियो । ‘अब राहत, उद्धार, पुनःस्थापना घाइतेको उपचारमा सरकार गम्भीर बनोस्, म गाली गर्ने पक्षमा छैन । सबै मिलेर पीडितको घाउमा मल्हमपट्टी लगाउनुपर्छ । सरकारले जेजति कमी कमजोरी गर्यो गर्यो अब युद्धस्तरमा पीडितको पक्षमा काम गरोस्’, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले पार्टीका सबै नेता कार्यकर्ता राहत, उद्धारमा खटिसकेको समेत बताउनुभयो । पार्टीका सांसद र प्रदेश सांसदहरुले १० दिनको तलब राहत कोष जम्मा गर्ने निर्णय भएको जानकारी गराउँदै स्थानीय तहकालाई पनि इच्छाअनुसार सहयोग गर्न आग्रह गरेको जानकारी गराउनुभयो ।
विपद्मा सरकारको उपस्थिति कमजोर : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले विपद्मा सरकारको उपस्थिति कमजोर रहेको बताउनुभएको छ । पर्याप्त पूर्वतयारी नगरिएको उहाँले आरोप लगाउनुभयो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उहाँले गृहमन्त्री रमेश लेखकले ‘समाचार सुनाएको’ टिप्पणी गर्नुभयो । बैठकमा उहाँले बोल्नुअघि गृहमन्त्री लेखकले हालैको अविरल वर्षा सँगैको विपद्, त्यसमा सरकारको कार्यबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री र मन्त्रीले कमजोरी स्वीकार गर्नुपर्नेमा रविको जोड थियो । ‘भएको स्रोत साधनको कमी भएको कि व्यवस्थापन नभएको ? काठमाडौंको भिजिबिलिटी कति थियो थाहा छ ? रेस्क्युमा हेलिकोप्टर उडानका लागि भिजिबिलटी थिएन भन्नुभयो’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले पहिरो जाने कसरी थाहा हुन्छ ? भन्नुभयो । तयारी गर्न सकिएन भनेर स्वीकार गर्नुप¥यो ।’ विपद्का बेला जिम्मेवार निकायका प्रमुख एवं पदाधिकारी देशभित्र नभएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको थियो ।
यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन : थापा
सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले विपद्का बेला सरकारको जिम्मेवार निकायका प्रमुख एवं अधिकारी देशभित्र नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उहाँले सरकारले यस्तो बेलामा आलोचना सुन्नुपर्नेमा जोड दिनुभयो । ‘यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन । मुख्यसचिव, प्राधिकरण (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण) प्रमुख आफ्नो ठाउँमा देखिएनन् । बैठक धेरै भए गुनासा छन्’, उहाँले भन्नुभयो । हालैको अविरल वर्षाको समयमा रात्रि बस सञ्चालन नगर्ने त्यसअघि नै गरिएको निर्णय उहाँले स्मरण गर्नुभयो । तर, रात्रि बस चलाइएको र त्यसको जिम्मा ‘कसैले’ लिनुपर्ने उहाँले बताउनुभयो । उहाँले नक्खु बाढीमा फसेकाहरूको उद्धार गर्न नसकिएको विषयमा पनि छानविन हुनुपर्ने बताउनुभयो । संघ सरकारको ध्यान उद्धार कार्यमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘उद्धारमा संघीय सरकारको फोकस होस्, राहतको जिम्मा स्थानीय तहलाई दिनुपर्छ’, उहाँले भन्नुभयो ।
विपद्को क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद् व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले भन्नुभएको छ, ‘मौसमविद्को रेड अलर्टबाट विपद्लाई पूरै रोक्न नसकिने भए पनि क्षति न्यून गर्न भने अवश्य सकिने थियो । यसमा सरकार फेल भएको छ ।’ यस्तो बेला प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उहाँले भन्नुभएको छ, ‘मौसमविद्को रेड अलर्डबाट विपत्लाई पूरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो । यो विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन् आपत्तिजनक छन् ।’
विपद् पूर्व-तयारीमा सरकारको चरम लापरबाही : केसी
राष्ट्रिय जनमोर्चाले विपद् क्षति न्यूनीकरणमा सरकारले चरम लापरबाही गरेको आरोप लगाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बाढी पहिरोबाट हुनसक्ने जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक नदेखिएको बताउनुभएको हो । ‘बाढी-पहिरोबाट मानव बस्तीहरू, सडक बाटोघाटो, जग्गा जमिनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिइरहेको छ’, केसीले भन्नुभएको छ, ‘यसले सरकारको चरम प्रकारको लापरबाही र दायित्व बोधको अभावलाई देखाउँछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच