रत्यौली
रात+यौली रत्यौली । रात मूल शब्द हो । मूल शब्दमा लाग्ने प्रत्यय तद्धित प्रत्य हो । रातका बेला गरिने नृत्योत्सव, नाट्यादिलाई रत्यौली भनिन्छ । नेपाल हिमालका काखमा रहेको महाभारत र त्यसका सहायक पर्वतश्रेणीले पूर्वपश्चिम लामबद्ध भएर निर्माण गरेका साना, थोरै समथरभूभागमा बसोवास गरेर बस्ने अनेक थरी जातजातिका आ-आफ्नै प्रकारका संस्कारिक र महोत्सवादि रहेका हुन्छन् । पहिलेका लोक तथा ग्राम्यजीवनमा जुन प्रकारका चालचलन थिए तिनमा अहिले आएर केही परिवर्तन पनि भएको स्थिति देख्न पाईन्छ । आर्य सनातन वैदिक धर्मावलम्बी समाजमा आठ प्रकारका विवाह प्रचलित रहेका भए पनि धेरै पहिलेदेखि नेपाली समाजमा मागी बिहा, रोजी बिहा र हारजित बिहा गरी तिन प्रकारका बिहा प्रचलित थिए ।
जन्मपत्रिका अनुसार गण, नाडी गुण आदि जुराएर केटी पक्ष र केटा पक्षका अभिभावकले व्यवस्था गरेर गर्ने बिहा मागी बिहा हो । लमी बनेर जानेले ‘हजुरका आँगनमा फूलेका फूलको वास्ना हाम्रा घरसम्म पुगेको हुनाले त्यो फूल टिप्न पाइन्छ कि भनेर आएका’ भनी केटातिरबाट केटी माग्न गएका मान्छेले भन्छन् र केटी पक्षबाट सकारात्मक भए ‘हामी पनि गंगाजलले सूर्यलाई अर्घ चढाउन तयारै छौं’ भन्छन् । यसरी बिहा गर्ने तय भएपछि केटी लिन केटाका घरबाट बरियाँत प्रस्थान गरेपछि त्यसै रात गाउँभरिका केटी, बुढी अधबैंसे आदि विभिन्न उमेरका नारीहरू बिहाघरमा जम्मा भएर नानावलीका अभिनय गीत नाच आदि गर्दछन् र यसैलाई रत्यौली भनिन्छ ।
नारीपुरुष भएका ठाउँमा भन्न नसकिने खालका कामोत्तेजना प्रवद्र्धक गीत, भनाइ, भेषभूषा र अभिनयका कारणले कृष्णका रासलीलाको सद्यनमुना बनेको जस्तो लाग्दोरहेछ । द्वापर युगको शरत्पूर्णिमाका दिनको वृन्दावन रत्यौली घरजस्तो बनेको रहेछ । रत्यौली घरमा पुरुष देखापरेका खण्डमा स्त्रीसमूह सीमातीत कार्य गरेर त्यसको हुर्मत काड्न पछि पर्दैनन् ।
रोजी बिहालाई भागी/भगाई/ लतारी आदि अनेकौं नाम चलेका भेटिन्छन् । यसरी गरिने बिहामा रत्यौलीको आयोजना सम्भव नहुने भएको हुनाले र अचेल दिउँसो बिहा गर्ने चलन चलेको हुनाले रत्यौली लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । हारजित बिहा भनेको दोहोरी खेलेर केटाले जीते केटी लैजाने, केटीले जिते केटो जोइला जाने गरी गीत गाउने प्रथा थियो । यसलाई प्राधान्यका आधारमा छोटी बस्ने र छोटा बस्ने भन्ने किसिमका नाम पनि गाउँघरका लोकसमाजमा सुन्न देख्न पाइन्छ । अचेल रोजी बिहालाई मिश्रित भन्न पनि सकिन्छ । पहिला केटाकेटी एक आपसमा लोभिन्छन् अनि अभिभावकले भोज भतेर गरेर स्वीकृति दिन्छन् भने त्यो रोजी बिहाको संशोधित रूप हो ।
रत्यौलीको आरम्भ
हुन त कतिपय विद्वान्ले मेरा कुरालाई हृलासा जानु कुत्तीको बाटो पनि भन्लान् । मलाई रत्यौलीको खेल कसले पहिला सुरु गरेछ भनेर पत्ता लाउने धुन चल्यो । आदि काव्य ‘वाल्मीकि रामायण’ पल्टाएर पढ्दै गएँ काहिं कतै पनि भेटिन । वेदव्यासले लेखेको ‘अध्यात्म रामायण’ पढेँ त्यहाँ पनि रत्यौलीको कुरो भेटिएन । तुलसी दासले लेखेको ‘रामचरित मानस’ पढेँ त्यसमा अयोध्या र जनकपुरमात्र होइन बाटामा पर्ने समग्र गाउँवस्ती खुशीमा नाच्ने गाउने रमाउने गरेका प्रसंग आएका छन् तर ती सबै बिहानदेखि बेलुका नसुतुन्जेल चलेका देखिन्छन् । हाम्रो जस्तो रात माया मारेर लोग्नेस्वास्नी, नाठानाठी, प्रेमीपे्रमिका बनेर बिहाघरको रौनक बढाउने कुरामा परिसीमित भएको वर्णन भेटिन । यसपछि भने लीलानायक श्रीकृष्णले के के गरेछन् ? भनेर ‘श्रीमद्भागवत’ को दशमस्कन्ध पढ्न लागेँ ।
शरद पूर्णिका रातमा वृन्दावनमा कृष्णको बाँसुरीका माधुरीलहरमाले तानिएर बालकलाई दूध चुसाउँदै गरेकी गोपिनी बच्चाबच्ची रुवाउँदै कुदी । लोग्नेका गोडामा चिल्लो लाउँदै गरेकी गोपिनी त झन् लोग्नेलाई चटक्क छाडेर बुर्कुसी मार्दै पुगी वृन्दावनमा । दूध तताउन लागेकी दूध त्यसै अँगेनामा नै छाडेर छर्तोस कस्दिरहिछ । कुनैले त कपडा लाउनै बिर्से, कुनै अर्धनग्न नै स्याँस्याँ र फ्याँफ्याँ गर्दै पुगे अरे । वेदव्यास पनि अर्नालिएका रहेछन् कति मजले वर्णन गर्न सकेको ? अचेलका वृन्दावनेले मान्छेलाई तारे, तिल्के, झाले, माले बनाएर व्यवसाय चलाएको रहस्य पनि बुझेको जस्तो लग्न थाल्यो मलाई । त्यहाँ गएका नेपाली पनि ठग, ट्रष्टी, लुच्चा लफंगा बनेर नेपालमा पनि गाउँबस्ती सबै वैकुण्ठ बनाउँछौ भनेर ठग्न लागेका देखिन्छन् ।
अहिले त पशुपतिको आँगन पनि तिनको रत्यौली मैदान बनेको देख्न पाइन्छ । अर्को एउटाले पितृपक्षमा देशैभरिबाट लुठालुठी जम्मा गरी रत्यौली खेल्न लाग्दा पञ्चांग निर्णायक समितिको पनि ध्यान आकर्षित भएको देखियो । यिनमा पनि कतै फ्रायडको अव्यक्त इदका आकर्षणले तानेर त होइन ? भन्ने प्रश्न उठ्यो मेरा मनमा । धन्य छन् कृष्ण जसले सारालाई रत्यौली रातमा मात्र होइन दिउँसै नाच्ने, रमाउने र कमाउने अवसर सिर्जना गरिदिए छन् त्यसैले त भगवान हगि । अन्ये अंशावतारा...कृणस्तु भगवान स्वयं । श्रीमद्भागवतको २९औं अध्यायमा कृष्ण शरद्पूर्णिका रातमा वृन्दावनमा गएर पूर्ण चन्द्रमाका आभामा मुरली बजाउँछन् । त्यो मुरलीको ध्वनि सुनेपछि गोपिनीहरू
‘निशम्य गीतं तदनंगवर्धनं व्रजस्त्रियः कृष्ण गृहीतमानसाः
आजग्मुरन्योन्यमलक्षितोद्यमाः स यत्र कान्तो जवलोलकुण्डलाः ।।४।।
डर, भय सबै छाडेर गोपिनीहरू बाँसरीको ध्वनितिर कामातुर बनेर कुद्न लागे । कानमा लाएका कुण्डल हल्लाउँदै कसैलाई केही थाहै नदिईकन । कृष्णलाई कतिबेला भेटेर उनका बाहुपासमा बेरुउँ भन्ने मात्रै ध्याउन्न मनमा लिएर गाई दुहुँदै गरेका त्यत्तिकै छाडेर, पतिका गोडा मिच्दामिच्दै त्यत्तिकै छाडेर, आफ्ना बालकलाई स्तनपान गराउँदा गराउँदै बालकलाई भुइँमा फालेर, कोही त अद्र्धनग्न अवस्थामा पनि कोही अधोवस्त्रका भरमा सुझबुझ सारा गुमाएर कुदेको वर्णन चभागवतमा वेदव्यासले गरेका रहेछन् । यता लोक जीवनमा पनि रत्यौलीका दिन राति नारीहरू काखे बालकबाहेक पुरुष जातिलाई देख्न,सुन्न चाहँदैनन् । किनभने सारा स्त्री र पुरुषले विवाहपछि गर्नेकर्मको अभिनय नारीनारीकै बीचमा उनीहरू सम्पादन गर्दछन् ।
नारीपुरुष भएका ठाउँमा भन्न नसकिने खालका कामोत्तेजना प्रवद्र्धक गीत, भनाइ, भेषभूषा र अभिनयका कारणले कृष्णका रासलीलाको सद्यनमुना बनेको जस्तो लाग्दोरहेछ । यसरी हेर्दा द्वापर युगको शरत्पूर्णिमाका दिनको वृन्दावन रत्यौली घरजस्तो बनेको रहेछ । यस्ता रत्यौली घरमा पनि कुनै पुरुष देखापरेका खण्डमा जोसुकै भए पनि स्त्रीसमूह सीमातीत कार्य गरेर त्यसको हुर्मत काड्न पछि पर्दैनन् । उता कृष्ण पनि कामवद्र्धक मुरली बजाएर बोलाउँछन् । पहिले कालिन्दी पूजाका बेला गोपिनीका निर्वाङ्ग अंगदर्शन गरिसकेका कृष्ण एकातिर यो रातको बेला किन आएका यहाँ वनमा ।
यहाँका फूल आदिको शोभा हेर्यौ अब तुरुन्त अबेला नगरीकन जाओ आ–आफ्ना घरमा किनभने बालक रुन लागेहोला, तिमीहरूका पतिले तिमीलाई खाज्न लागेहोला नारीका लागि पतिसेवाभन्दा अर्को कर्तव्य केही हुँदैन भनेर उल्लीबिल्ली पार्छन एकातिर भने अर्कातिर गोपिनीले संसारकै जो पनि हो त्यसलाई हामीले वरण गरेर के गल्ती गर्यौ भन त प्रिय ? भनेपछि कृष्णलाई यिनले मलाई आफ्नो ठानेर एकअर्कीमा राग, द्वेष बढाउन लागे भनेर लुकिदिन्छन् । अनि गोपिनीको बेहाल वर्णन पनि कम स्वादिलो छैन । सानामा एक दिन मैले मेरा गाउँमा केही उरन्ठेउला साथीका उलामालमा लागेर गाउँमा भएको बिहा घरको रत्यौली बारीका डिलका झ्याप्प परेका रुखमा बसेर हेरेको थिएँ ।
त्यो बेला मैले चिनेका आइमाई नै दौरासुरुवाल कोट लाएर अनि अर्की चाहिँ चालो फरिया लाएर गरेका याबत अभिनय हेरेको थिएँ । बिहानी पख जब यिनीहरू खानपान गरेर हिँडे बिहाघरका मान्छे पनि सुत्न गए अनिमात्रै रखबाट झरेर गोठमा गएर सुतेर भोलिपल्ट बिहानमात्र घर गएको थिएँ । मनोवैज्ञानिक दृष्टिले त्यो बेलाको सासु-ससुरा र पतिदेवर आदिको कडा अनुशासनमा बाँधिन विवश नारी सर्वतन्त्र स्वतन्त्र भएर यावत् कर्म गर्दा रहेछन् । त्यो बेलाका ती दृश्य आज मेरा मानस पटलमा तरोताजा भएर उदाए जब म रत्यौलीको इतिवृत्त खोज्दै कृष्णको रासलीला पढ्न लागेँ । तर, नौनी, दही आदि चोरे खाँदा र गाई चराउँदादेखि नै ठट्टा मस्करी गरेर गोपिनीलाई आफूतिर आकर्षित गरेका थिए । उनीहरूका बीचको लज्जा या अन्य औपचारिकताका सारा पर्दा च्यातिएका थिए ।
गाउँका लोग्ने मान्छे रातभरि नआउने गरी हिँडेका रात नारी नारी नै पुरुष र स्त्री भएर खेल्ने रत्यौलीको खेल यस पटक दम्भमान र सत्ताबहादुरका मगनमस्तेपनामा प्रकृतिले रत्यौली खेलेको देखियो । झ्याप्ले खोलो कति छट्टू रहेछ भने तीन–तीनवटा यातायातका साधनभित्रका मान्छेलाई रत्यौलीको परिकार बनाए छ ।
अर्कातिर अध्यात्म दर्शनको जालो पनि छ, परात्पर ब्रहृम र जीवको । यता रत्यौली पनि त आजीवन जे कर्मका लागि कार्यारम्भ भएको छ त्यही त्यो गाउँका सासूबुहारी छोरीचेली सबै भूमिकालाई छाडेर कामोद्दीप्त नारीपुरुषका अभिनय र कृत्य प्स्तुतिमा रात बिताउँछन् भने यो इद, अहंको पूर्ण प्रकटीकरणको अवसर हो । यसमा पराहमको कुनै स्थान रहँदैन । अघिपछि रातो दिन झै झगडा र टोकसोमा घरलाई नर्क बनाउने सासूबुहारी, नन्द आमाजु पनि रत्यौलीमा रासक्रीडामा रसिला बनेर प्रकट हुँदारहेछन् । सम्भवतः लोकजीवनका यस्ता कृत्य देखेका व्यासले अलिकति पौरस्त्य अध्यात्म दर्शनका चास्नीमा रासलीलाको जिलेबी (फि) बनाएर दुनियाँलाई चखाएछन् ।
प्रकृतिक रत्यौली
गाउँका सबै कुरो बुझ्ने लोग्ने मान्छे रातभरि नआउने गरी हिँडेका रात नारी नारी नै पुरुष र स्त्री भएर खेल्ने रत्यौलीको खेल यस पटक भने दम्भमान र सत्ताबहादुरका मगनमस्तेपनामा प्रकृतिले पनि रत्यौली खेलेको देखियो । झ्याप्ले खोलो कति छट्टू रहेछ भने तीन-तीनवटा यातायातका साधनभित्रका मान्छेलाई रत्यौलीको परिकार बनाएछ । यसरी खेलेको रत्यौलीको पत्तो ओली सरकारले ४८ घन्टापछि मात्रै चाल पायो । आफ्ना नाकका टुप्पामा बसेको मच्छड धपाउन पनि-सि-जि-पिङ र अमेरेकी प्रभुको आदेश पर्खनेले चलाएका सत्ताका बेला प्रकृतिले रत्यौली खेल्ने रात र नेपालको पुरुषत्व नै हराएको बेला भेटेर काठमाडौंमा नै पानीजहाज ल्याएर ओली सही छन् यहाँका साँगुरा खोलाले चाहे सरकारी भ्याकेटको सन्देश सुन्छन् ।
सर्वोच्च र बालेन ओशेप्र कोही चाहिएन । हामीले चलखेल गर्ने हाम्रो आँगनमा हामी ओशेप्रलाई कमाउने धन्दा चलाउन दिंँदैनौ भने खोलाहरूले । रत्यौली खेल्ने हाम्रो आँगनमा धावा नबोल भन्ने सन्देश काठमाडौंका खोलाले पनि दिए । धन्यवाद छ यी खोलालाई जसले मान्छे काटेर, मान्छे मारेर समानता र समृद्धि ल्याउने सपना देख्छ तिनै तिनै आलोपालो प्रम भएका बेला तिनैका आराध्य कमैयापुत गरिब मारे, बगाएर, डुबाएर ओलीको योजना साकार पारिदिए । जय रत्यौली नायिका प्रकृतिलाई । हाम्रो देशका कर्मचारीले हाम्रा प्रमको निर्देशन नमाने पनि प्रकृतिले त मानिदियो । लगभग दुई सयजाना स्वर्ग गए प्रकृतिका गानका तरंगको लिस्नु चढेर ।
पचासौं बेपत्ता छन् रत्यौलीका पानमा उन्मत्त भएर कतै कसैले चाल नपाउने ठाउँमा बसेर ओलीजीका सामाजिक सञ्जालका फरमान पढेर बसेका होलान् । निर्देशन खोजेन प्रकृतिले, निर्देशन मानेनन् बस, हायस व्यवसायीले किनभने प्रकृति ऋतमा चल्छ व्यवसायी मुनाफा खोज्छ । ओशेप्रका कुरा मानेर दुवैको जीवन चल्दैन थ्यो । हो, नामर्दको मुख आफैंले पालेका कुकुरले पनि चाट्छ । नामर्ददकी जोई मर्दकी सेविका भनेको यही हो । ओशेप्रलाई सत्ता र शक्तिमा पु¥याउन बोकेको फल समग्र नेपालीले पनि पाए । विशेष गरी डाँडेलधुरे, झापाली र गोरखालीले सोचून् तिनका कुकृत्यको दुस्परिणाम नेपालीले कतिन्जेल भोग्ने ? दुई-चार हजार दाम, दुई गिलास ठर्रा र दुई-चार चोक्टामा देश र जनताको भाग्यमाथि खेल्ने भाइमारा मतदाता भएका देशको कहिल्यै पनि भलो हुँदैन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच