काठमाडौं । साढे छ वर्षअघिदेखि अलपत्र अवस्थामा रहेको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान(खाद्य मोबाइल ल्याब भ्यान) सरकारले सञ्चालनमा ल्याएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्न साढे छ वर्षअघि खरिद गरिएको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान बुधबार शुभारम्भ गर्नुभएको हो । सरकारको उद्देश्यअनुसार वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यानको सदुपयोग हुने विश्वास व्यक्त गदै उहाँले जनताले गुणस्तरहीन खाद्य र पेयजन्य पदार्थ खानुपर्ने अवस्थामा केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जनतालाई अखाद्य वस्तुबाट जोगाउने उद्देश्यले नै ठूलो लगानीसहित सरकारले वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान खरिद गरेको उहाँको भनाइ थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागस्थित खाद्य मोबाइल ल्याब भ्यानको शुभारम्भ गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमुना भ्यानको सहयोगमा परीक्षण हुन्छ । परीक्षणका क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त भ्यान खरिद गरेको हो । आजदेखि यो सञ्चालनमा आएको छ । आमउपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएमा कारबाही हुन्छ ।’
जनताको स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने भन्दै उहाँले समस्या भए पनि जुन उद्देश्यका लागि राज्यले लगानी गरेको हो, त्यसलाई अलपत्र बनाउन नहुने भएकोले भ्यान सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले सुरुमा उपत्यका र त्यसपछि राजमार्ग केन्द्रित रहेर अनुगमन थाल्न निर्देशनसमेत दिनुभएको छ । विभिन्न प्रकारका खाद्य उद्योगबाट उत्पादित खाद्य तथा पेयजन्य पदार्थको अनुगमनस्थलमै विश्लेषण गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्ने उद्देश्यले विभागलाई २०७५ वैशाखमा चारवटा अत्याधुनिक प्रयोगशालासहितको मोबाइल भ्यान खरिद गरिएको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको खाद्य तथा प्रविधि गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २०७५ सालमा उक्त भ्यान खरिद गरेको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच