काठमाडौं । पितृ पक्ष अर्थात् श्राद्ध आरम्भसँगै सुरु हुन्छ दशैँको गन्ती, किनीि श्राद्ध सकिएकै भोलिपल्टबाट सुरु हुन्छ नेपालीहरूको महान् चाड बडादशैँ । आज (बिहीबार) देखि विधिवत् रूपमा दशैँ सुरु भएको छ । दशैँमा हरेकका अनेकथरी योजना हुन्छन् । घरबाट टाढा रहेकाहरूको पहिलो योजना हुन्छ, ‘घर कहिले जाने ?’ घर जाने पक्का भएपछि मात्रै उनीहरूका अरू योजना अगाडि बढ्छन् । तर, यसपालि घटस्थापनासम्म पनि धेरैको घर कहिले र कसरी जाने ? भन्ने टुंगो लागिसकेको छैन । कारण हो, गत तीन दिन परेको अविरल वर्षा र त्यसले निम्त्याएको महाविनाश ।
वर्षासँगैको बाढीले काठमाडौं उपत्यकासहित आसपासमा व्यापक क्षति गरेपछि दशैँको मुखमा धेरै नागरिक निराश बनेका छन् । बाढीपहिरो प्रभावितको दर्दनाक पीडा एकातिर छँदै छ, अर्कोतिर घर जान पाइने/नपाइने अनिश्चितताले धेरैलाई दशैँले छोएकै छैन । विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा रहेका देशैभरका लाखौँ नागरिक यसपालि घर जान पाउँछन्/पाउँदैनन् केही टुंगो छैन । वर्षासँगैको बाढीपहिरोले उपत्यकाबाट बाहिरिने मुख्यसहित अधिकांश सहायक सडक अवरुद्ध भएपछि उनीहरूको यात्रा अनिश्चित बनेको हो ।
उदयपुरको कटारी घर भई नयाँ बानेश्वर बस्ने निशा राईलाई घटस्थापना अघिल्लो दिनसम्म पनि दशैँ आएजस्तो लागेकै छैन । दशैँमा पनि घर जाने टुंगो नलागेकाले दशैँको कुनै रौनक नरहेको उहाँले बताउनुभयो । ‘अघिपछि जान नपाए पनि दशैँमा त पक्का जान्छु भन्ने हुन्छ । तर, यसपालि दशैँ मुखैमा आइसक्दा पनि घर जाने टुंगो छैन,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘अग्रिम टिकट खुलेजस्तो मात्रै भयो । दोस्रो दिन जाँदा पाइएन । अहिले त बन्द नै जस्तो छ । केहीगरी टिकट पाइहाले पनि जाने बाटै छैन । बाढीपहिरोले जताततै अवरोध मात्रै छ ।’ तर, अन्तिमसम्म पनि घर जान प्रयास गर्ने उहाँको भनाइ थियो ।
उहाँ मात्रै होइन, सुदूरपश्चिको कञ्चनपुर घर भएका रमित विष्टको अवस्था पनि उस्तै छ । घटस्थापना अघिल्लो दिनसम्म पनि उहाँले घर जाने टिकट पाउनुभएको छैन । घर जाने टिकट नपाउँदा दशैँ आएजस्तै नलागेको उहाँले पनि बताउनुभयो । ‘आज (बुधबार) सम्म घर जाने टिकट पाएको छैन । सडक अवरुद्ध छ । त्यहीमाथि बसको टुंगो छैन,’ उहाँले भन्नुभयो, ‘हवाईमार्ग पनि पूरै प्याक भइसक्यो । एक त टिकटै महँगो, त्यही पनि नवमीसम्म टिकट छैन । यसपालिको दशैँ खल्लै होलाजस्तो छ ।’
निशा र रमितजस्तै पीडा काठमाडौंमा रहेका लाखौँको छ । हरेक वर्ष दशैँ तिहारमा १५ देखि २० लाख मानिसहरू उपत्यकाबाट बाहिरिने गरेका छन् । यसपालि पनि १८ लाख हाराहारी मानिसहरू उपत्यकाबाट बाहिरिने आँकलन थियो । तर, बाढीपहिरोले बाटो अवरुद्ध हुँदा घटनास्थापनासम्म पनि एक लाख बाहिरिन सकेका छैनन् । जसोतसो गएकाहरू तीन/चार दिनसम्म बाटोमै छन् । बाटोमा तीन/चार दिन रोकिएका यात्रुका पीडा सुनेरै धेरैले बस पाइहाले पनि जाने आँट गरेका छैनन् । अझै बागमतीसहित पूर्वी नेपालमा वर्षा भइरहेकोले उनीहरूको यात्रा झन् अनिश्चित बन्दै गएको छ । यसअघिकै वर्षाले गलेको जमिन थोरै पानी पर्दा पनि पहिरो जाने अवस्था छ । अझै दुई/तीन दिन वर्षा जारी रहे धेरैले दशैँमा काठमाडौं बाहिर जाने नपाउने निश्चितजस्तै छ । यही अवस्थामा यात्रुलाई गन्तव्यमा पुर्याउन नसकिने यातायात व्यवसायीले यसअघि नै स्पष्ट पारिसकेका छन् ।
हवाई चाप घटाउन बिहान साढे ४ बजेदेखि नै आन्तरिक उडान
बाढीपहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान साढे चार बजेदेखि नै खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज (बिहीबार) घटस्थापनादेखि नै लागू हुनेगरी बिहान ४ बजेदेखि विमानस्थल खुला हुने भएका हुन् । यो क्रम पूर्णिमासम्म लागू हुने प्राधिकरणले जनाएको छ । उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् । अरू दिनमा आन्तरिक उडान राति १० बजेसम्म भइसक्थे । तर, बाढीपहिरोपछि आइतबारयता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय उडानहरू अहिले बिहान ६ बजेदेखि राति २ बजेसम्म हुने गरेका छन् । काठमाडौंमा दैनिक सय हाराहारी दुईतर्फी अन्तर्राष्ट्रिय उडान हुन्छन् ।
दशैँमा घर पुग्ने वातावरण मिलाउन माग
नेपाली कांग्रेस कोशी प्रदेश समितिले बाढी पहिरोका कारण बाटो अवरोध भएर दशैँमा घर आउन नसकेका नागरिकहरूलाई घर आउन सक्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ । कांग्रेस कोशी समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेशवासीलाई दशैँमा घर आउन सक्ने वातावरण मिलाउन सरकारसमक्ष माग गरेको हो । कांग्रेस कोशीले दशैँअगावै अवरुद्ध सडकहरू सञ्चालनको व्यवस्था मिलाउन माग गरेको छ । विषम् परिस्थितिमा मृतक परिवारलाई विशेष राहतको व्यवस्था मिलाउनसमेत कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टले माग गर्नुभयो ।
यात्रामा सावधानी अपनाउन प्राधिकरणको आग्रह
नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक हो । तर, मनसुन बाहिरिएको छैन । मनसुन बाहिरिने बेला बुधबारदेखि पुनः देशका विभिन्न ठाउँमा वर्षा हुन थालेको छ । यो वर्षा शुक्रबारसम्मै जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, अविरल वर्षाको सम्भावना भने नभएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । ‘गत साताजस्तो लगातार झरी पर्दैन, कति सर्वसाधारणमा त्रास फैलिएको पाइयो तर आत्तिनु पर्दैन,’ उहाँले भन्नुभयो । महाशाखाले जारी गरेको तीनदिने मौसमी बुलेटिनमा देशभर मनसुनी वायु र भारतको उत्तर-पूर्व असाम र आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उल्लेख छ । पुनः वर्षा हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन आग्रह गरेको हो । असोज १० गते देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ । प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
झ्याप्ले खोलामा कार पुरिएको आशंका, पुनः खोजी गरिँदै
धादिङ र काठमाडौंको सिमानानजिकै धुनिबेँसी नगरपालिका-९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ । तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो । झण्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो । दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो । सवारीसाधन चापकै कारण जोखिमपूर्ण स्थानमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको वर्षासँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो । झ्याप्ले खोलामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुईवटा माइक्रोबस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।
बाढीपहिरो प्रभावित आठ जिल्लामा कार्यदल संयोजक खटाइयो
गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहतका लागि थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा आठजना सहसचिव खटिएको गृहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट बढी प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा उनीहरूलाई खटाइएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको हो । कार्यदललाई अति भारी वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतमा समन्वय र सहजीकरण गर्ने, बाढीपहिरोबाट भएका मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग समन्वय गर्ने र विपद्पीडित नागरिकको सुरक्षित बसोबास तथा उनीहरूलाई राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन् । कार्यदललाई असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न भनिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच