प्राकृतिक विपद् होस् कि मानवीय जहिले पनि आमनागरिकको रक्षक भनेको राज्य हो र राज्य संयन्त्रमा बसेका व्यक्तिहरू नै जिम्मेदार हुन् । त्यही दायित्वको प्रश्नमा वर्तमान सरकारको चौतर्फी आलोचना भइरहेको छ । यस्तो समयमा सरकारले जस पाउने गरी काम गर्नु निकै दुर्लभ मानिन्छ । केही दिन पहिलेको निरन्तर तीन दिनसम्मको झरीका कारण व्यापक रूपमा धनजनको क्षति हुन पुग्यो । राजधानी काठमाडौं उपत्यकाभित्रै सबैभन्दा बढी क्षति भयो । विपद्काबारे स्वयं प्रधानमन्त्रीले दिनु भएको प्रारम्भिक आँकलन अनुसार १७ अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । बाढीमा परेर घरबारविहीन बन्न पुगेका व्यक्तिहरूका लागि केही सहृदयी व्यक्तिहरूले खाना र बस्नका लागि सहयोग गरिरहेका छन् । तर, सरकारले जति गर्नुपर्ने हो त्यति गरेन भनेर सरकारको आलोचना भइरहेको छ । प्रतिपक्षी दलहरूले सरकारलाई खबरदारी गर्दै जिम्मदार ठहराइरहेका छन् । पीडितहरूले त सरकार भएको अनुभूति नै गर्न पाइएन भनिरहेका छन् । उता सरकार भने आपूmले धेरैभन्दा धेरै उद्धार र राहतका काम गरिरहेको दाबी गरिरहेको छ ।
यथार्थताको धरालतमा उभिएर हेर्ने हो भने दुवै पक्षका कुरामा सत्यता पनि छ भने केही मिथ्या आरोप र प्रचारबाजी पनि नभएको होला भन्न सकिँदैन । नख्खु खोलाका मूलधारमा जस्ताको टहराको छानामा हारगुहार गरेर बसेका व्यक्तिलाई लामो समयसम्म उद्धार गर्न नसकेको यथार्थ हो । चारैतर्फ विपद्को अवस्था थियो, जताततै उद्धारको याचना भइरहेको थियो । साधन र स्रोतले नभ्याउने अवस्था पनि थियो होला । यस्तैमध्ये केही कारणले नख्खु खोलामा गुहार मागिरहेका व्यक्तिहरू अन्ततः खोलामा बगे । नागरिक स्तरको प्रयासबाट केहीलाई बचाइयो तर सरकारका तर्फबाट तिनलाई बचाउने प्रयास भएन भनेर सरकारको बढी अलोचना भएको छ ।
यस्ता आलोचना अन्य ठाउँबाट पनि भइरहेका छन् तर पीडितले आफ्नो पीडाको रनाहामा गरेको आलोचना हो कि वास्तविकताको विश्लेषण गरेर गरिएको आलोचना हो त्यो महत्वपूर्ण हुन आउँछ । झ्याप्ले खोलाका साथै अन्य विभिन्न ठाउँको बाढीपहिरोमा परेर ज्यान गुमाउन पुगेका ती मृतकहरूको ज्यानको शोधभर्ना अब केही गरी पनि हुन सक्दैन । यस प्रकारको प्राकृतिक विपत्तिका कारण एकातिर भविष्य बताउने र अबको केही महिनाभित्रमा राष्ट्रमा धनजनको ठूलो क्षति हुन्छ भन्नेहरूले नाक घोक्य्राउन पाएका छन् भने भीमेश्वरलाई पसिना आएको वर्ष राष्ट्रमा ठूलो खति हुन्छ भन्ने मान्यताले पनि स्थान पाएको छ । केही कमजोरी भने आममानिसहरूबाट हुनपुगेका छन् ।
यसपटक मौसमविद्हरूको मौसम पूर्वानुमान मिल्न पुगेको छ । भारी वर्षा हुने र बाढीपहिरो आउनसक्ने भएका कारण लामो दूरीको यात्रा नगर्नु भनेर उनीहरूले सावधान गराएका थिए । कालु र बाघको कथाको संस्मरण हालको विपद्ले गराएको छ । १७ अर्बभन्दा बढीको क्षति हुनेगरी भएको यसपटकको विपद्मा सरकारले सदारुकताका साथ उद्धार र राहत वितरणका काम गरिरहेको छ भनेर दाबी गरेको छ । दाबीमात्र होइन कतिपय अवस्थामा सबैले प्रत्यक्ष देख्नेगरी सहयोग र उद्धारका काम भएका छन् । प्रयास कम भयो, राहत पुगेन भन्नु एकातिर सही हुन आउला तर सरकारले आफ्ना हजारौं सुरक्षाकर्मीहरू परिचालन गरेको, हेलिकप्टरको प्रयोग गरी सयौं पीडितहरूको उद्धार गरेको, यस क्रममा सुरक्षाकर्मीहरूले कष्ट र जोखिम मोल्नुपरेको, केही उदाहरण त पीडितको उद्धार गर्ने क्रममा सुरक्षाकर्मीले नै ज्यान गुमाउनुपरेको जस्तो धेरै घटनाबाट सरकार उद्धार र राहत वितरणमा लागिरहेको छ भन्ने देखिन्छ नै ।
सरकारले पीडितहरूलाई तत्काल राहतस्वरूप नगद सहयोगसमेत गर्ने घोषणा गरेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री देशबाहिर भएका कारणले गर्दा पनि सरकारको आलोचना भएको हुनसक्छ । झ्याप्ले खोलामा पहिरोमा परेका गाडी र तिनमा भएका मानिसहरूको शव निकाल्न प्रहरी अहोरात्र खटेको थियो भने बीपी राजमार्गको बाटो गरी काठमाडौं भित्रिँदै गरेका मानिसहरूलाई रोसीखोला किनारबाट उद्धार गर्ने काम पनि भएको थियो तर यसो भन्दाभन्दै पनि धेरै मानिसहरूले ज्यादै कष्टका साथ तीन-चार दिनको पैदल हिँडेर र कम्मर-कम्मरसम्म हिलोमा भासिएर यात्रा गरी बनेपासम्म आइपुगेकाहरूलाई सहयोग गर्ने काम सरकारले गरेन भनेर सरकारको आलोचना भएको हो ।
आलोचना भनेको रचनात्मक सुधार हो । त्यसलाई अन्यथा मान्न मिल्दैन । त्यसमाथि पनि सरकारको प्रशंसा होइन आलोचना नै धेरै हुनेगर्छ । सरकार सधैँभरि आलोचनाको आगोमाथि बस्नुपर्ने हुन्छ र सरकारका थाप्लामा सधैं सबैले तातो भुत्भुते खन्याइदिन काम मात्र गर्ने गर्छन् । आलोचना र प्रशंसाले सरकारलाई कुनै फरक पर्नुहुँदैन, आफ्नो काममा सरकार निरन्तर लागिरहनुपर्छ । भोलि घटस्थापना अर्थात् दशैँको सुरुको दिन । चारैतिर बिग्रिएका बाटाघाटा छन् र साम्नेमा दशैँ छ । तिनको स्थायी रूपमा पुनर्निर्माण सम्भव नहोला तर यातायात सुचारु गर्ने अस्थायी प्रबन्धमात्र सरकारले गरिदिन सक्ने हो भने पीडामा पिल्सिएका जनताले आआफ्ना गाउँघरसम्म पुगेर आफन्त सँगसँगै बसेर चाड मनाउन पाउने थिए ।
सहज वातावरण सिर्जना गर्न सरकार अझै सक्रियताका साथ लागिपर्न आवश्यक छ । सरकार भनेको जनताको अभिभावक हो र जनताको पीडामा मलम लगाउन सरकार हर समय तत्परताका साथ तयार रहनुपर्छ । विपद् व्यवस्थापनका लागि तयारीमा रहेका संशाधनहरूको यस्तो अवस्थामा पूर्णरूपमा प्रयोग हुनुपर्छ भने यसका लागि तैनाथ राखिएको जनशक्तिलाई सम्पूर्ण रूपमा परिचालन गर्ने पनि यस्तै अवस्थामा हो । यस्तो बेलामा परिचालित शक्तिका लागि नीति निर्देशनको पनि उत्तिकै महत्व हुने गर्छ । यी सबैलाई समन्वयात्मक ढंगले परिचालन गरेर विपद्मा परेका नागरिकलाई सान्त्वना दिने काम सरकारबाट हुन सक्नुपर्दछ । यसो हुन सक्यो भनेमात्र जनताले सरकारप्रति अपनत्व अनुभव गर्न पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच