गत १५ गते मंगलबारको अंकबाट क्रमशः
टिमलिडर उमात्सु र म सँगसगै हिँडिररेका थियौं । यसरी बिस्तारै हिँड्दैजाँदा घाम अस्ताउने बेलामा हामी नाम्चे बजार पुगेका थियौँ । त्यहाँ साप्ताहिक हाटबजार लागेर मानिसहरू किनमेल गर्दैथिए । विश्वभरि नै प्रचलित रहेको नाम हो नाम्चेबजार पनि । किनभने विश्वकै सर्वोच्च हिमशिखर माउण्ट एभरेष्ट आरोहण गर्न आउनेहरू यहाँ एक वा दुई रात आराम गरेर आफ्नो शरीरमा हाईअल्टिच्युडको वातावरणीय सन्तुलन (एक्लिमेटाइजेसन) मिलाउने गर्छन् अनिमात्र पर्वतारोहण (एक्सपेडिसन) वा साहसिक पदयात्रा (ट्रेकिङ) का लागि हौसिएर अगाडि बढ्छन् ।
त्यसैले माउण्ट एभरेस्टसँगै नाम्चे बजारको नाम पनि संसारभर फैलिएको छ । नाम्चे बजारमा जति नयाँ होटलहरू खोलिए पनि ती सबै प्याक भएर कहिलेकाहिँ चउरमा टेन्ट हालेर पनि बस्नुपर्ने हुन्छ । किनभने खुम्बुक्षेत्रमा रहेका समिट गर्न लायकका अरू आकर्षक हिमचुचुराहरू जस्तै नुप्से, लोत्से, मकालु, अमाडब्लम, पुमोरी, ग्याचुङकाङ आदि आरोहण गर्न विश्वकै साहसिक पर्वतारोही र पदयात्रीहरूलाई आकर्षित गरिरहन्छन् ।
शरद ऋतु र वसन्त ऋतु यस्ता साहसिक कार्यहरूका लागि उपयुक्त ठानिन्छ । कारण वर्षातको अन्त्य भई हावाहुरी पनि त्यति नचल्ने मौसम सफा रहने हुन्छ । त्यस्तै वसन्त ऋतुमा पनि आरोहण र ट्रेकिङ हाइकिङका लागि मौसम अनुकूल हुने भएर यी दुई सिजनमा उपरोक्त साहसिक कार्यका लागि बढी पर्यटक आउने गर्छन् । त्यसैले यहाँका होटलहरू भरिभराउ भएका रहेछन् । हाम्रा टिमलिडरले ट्राभेल एजेन्सीमार्फत पहिलेदेखि बुक गरिराखेको भएर हामीले बस्नेखाने होटल सजिलै पाएका थियौं ।
त्यहाँ त लेक लाग्छ, बिरामी होइन्छ धेरै नै जाडो हुन्छ । अनि साँगुरो टेन्टभित्र खुम्चिनुपर्छ । होटल मालिकले पनि यहाँ जति जना लाइजन अफिसरहरू आउँछन् सबै यहीँ बस्नेगरेका छन् तपाईं मात्रै किन त्यो हिउँको चिसो खान जानुहुन्छ भनिरहेका थिए तर मैले मानिन ।
हाम्रो टिम पनि त्यहाँ एक दिन हाल्ट गरेर अर्को दिन ब्रेकफास्टपछि हिँडेको थियो । टिम लिडर उमात्सुले होटलबालालाई अगाडि राखेर मलाई तपाई यहीँ बस्नुस् हामी ग्याचुङकाङ हिमाल समिट गरेर फर्कँदा अनि यहाँबाट सँगै फर्कांैला । यहाँ बसेर तपाईलाई के के खान र के के पिउन मन लाग्छ यी साहुजीले जिम्मा लिनुहुन्छ, म उहाँलाई फर्कंदा बिल भुक्तानी गरिदिन्छुभन्दा त मलाई भित्रभित्र रिस उठेको थियो । तर, मैले नरम भएर भने मलाई त यहाँ बस्ने मन छैन । मलाई त टिमसँगै गएर बेसक्याम्पमै बस्न मन लागेको छ ।
त्यहाँ त लेक लाग्छ, बिरामी होइन्छ धेरै नै जाडो हुन्छ । अनि साँगुरो टेन्टभित्र खुम्चिनुपर्छ । चुचुरो समिट गर्न भन्ने बित्तिक्कै गर्न सकिँदैन धेरै समय लाग्न सक्छ । होटल मालिकले पनि यहाँ जति जना लाइजन अफिसरहरू आउँछन् सबै यहीँ बस्नेगरेका छन् तपाईं मात्रै किन त्यो हिउँको चिसो खान जानुहुन्छ भनिरहेका थिए तर मैले मानिन, मलाई पनि हिमाल हेर्ने रहर छ । म पनि अनुभव गर्न चाहन्छु ।
फेरि मलाई सरकारले जुन कामका लागि खटाएको छ त्यही कर्तव्यबाट म बिमुख हुन चाहन्न । त्यसपछि कोही पनि केही बोल्न सकेनन् र म तिनीहरूसँग हिँड्दै गएँ । थामे, खुमजुङ त्याङ्बोचे हुँदै हाम्रा साहसिक काफिला हात्ती झैँ लसकलसक अगाडि बढिरहेको थियो कारण थियो ती ७० जना भरिया जसको ढाडमा गहुँर्गो भारी अनि उकालो बाटो । खुमजुङ्मा अस्पताल छ सर एडमण्ड हिलारीले उहिले स्थापना गरिदिएको पर्वतारोही, ट्रेकिङ र हाइकिङ गर्नेहरू बिरामी पर्न गएमा तत्काल उपचार गरी निकोपार्जन यो अस्पताल स्थापना गरेर ठूलो उपकारी काम गर्नुभएको छ हिलारीले ।
प्राथमिक अस्पतालका रूपमा अहिले पनि यो सञ्चालन भइरहेको छ । हाम्रो बेसक्याम्पमा हेडकुकलाई लेक लागी रगत बमन गर्दा यहीँ ल्याएर उपचार गरी निको भएर काममा फर्केको थियो । खासमा यो अस्पताल हाई अल्टिच्युड सिकनेस बिरामीका लागि तुरुन्त उपचार गरी निको पार्न र लड्दापड्दा हातखुट्टा मर्किँदावर्दा ठीक पार्नका लागि स्थापना गरिएको हो । खुमजुङ क्षेत्रमै त्याङबोचे मोनेस्ट्री नामको एउटा ठूलो तिब्बती बुद्धिष्ट गुम्बा अवस्थित छ । तिब्बती भाषामा यसलाई दाबा चोलिङ गोम्पा पनि भनिन्छ । यो गुम्बा ३८६७ मि.अर्थात् १२६८७ फिट अग्लो ठाउँमा अवस्थित रहेको छ । यो १९१६ ई.मा गुलु लामाले तिब्बतको माउ गुम्बा रंगबुकको सहयोगमा स्थापना भएको हो ।
यसमा त्यहाँका शेर्पा समुदायहरू पूजाअर्चना गर्नेगरेका छन् । हामी भन्नाले टिमलिडर र म त्यो गुम्बाको द्वारमा उभिई हात जोर्दै शिर निहुराई आफ्नो गन्तव्यमा अगाडि बढ्यौं । हामी त्याङबोचे मोनेस्ट्रीबाट जसै अगाडि बढ्दैगएका थियौं ग्लेसियर पनि सुरु भएको जस्तो अनुभव भइरहेको थियो तर दृष्टिगोचर भइरहेको थिएन । आवाज भने नदी बगेको जस्तो सुनिइरहेको थियो । हिमनदीको मार्गमा कमलो माटो भेट्टाएको बेला जमिनमुनि घुस्रेर बग्नेगरेको र कडा माटो भए जति भागमा जमिनमाथि नै बग्नेगरेको भएर देखिने गरेको छ ।
हिमालको हिउँ पग्लेर हिमनदीहरू (ग्लेसियर) बनेर निरन्तर बगिरहने हुनाले जमिनमुनि घुस्रेर बगेको बेला नदेखिने गरेको रहेछ तर गर्मीयाममा हिउँ बढी पग्लिने हुनाले नदीको बेग तीव्र र प्रवाह अधिक हुनाल यसले जमिनमुनि क्षयक्रिया (डेन्युडेसन) गरिरहन्छ । यसको परिणाम के देखियो भने कहीँ यस्ले जमिनमुनि उसको मार्गमा रहेका गेगर बोल्डरहरू एक रास एकै ठाउँमा जमिनमाथि थुपारिदिने गरेको देखियो । त्यस्ता थुप्राहरू हाम्रो बाटोमा तीन-चार ठाउँमा देखिएका थिए । केही समयपछि ती थुप्राहरू त्यहाँ भेटिँदैन देखिँदैन । ती थुप्रालाई स्वाट्ट जमिनमुनि तानेर लगी अलि निकै पर फेरि उसै गरी थुपारिदिँदो रहेछ ।
यो क्षयक्रिया जमिनमुनि निरन्तर चलिरहन्छ गर्मी याममा अलि बढी हिउँ पग्लिने भएर अलि बढी हुने गर्छ मेरो जिज्ञसा मेट्न जापानी टिम लिडर उमात्सुले मलाई बुझाइदिए । मैले पनि ७/८ कक्षामा पढ्दा ग्लेसियर र डेन्युडेसनका बारेमा पढेको भएर चाँडै बुझिहालेँ । यसरी नयाँ नयाँ अनौठा चीजवस्तुहरू देखिँदैजाँदा हाम्रो यात्रा कौतुहलपूर्ण हुँदै गइरहेको थियो । हिमनदीको बगरमा हिँड्दैजाँदा एउटा नीलो पानीले भरिएको ताल देखाप¥यो । त्यो ताल यति आकर्षक र मनमोहक थियो कि मेरो मनले इन्द्रलोकको कल्पना गर्नथाल्योे । सोच्न थाल्यो कहिँ यो स्वर्गको इन्द्रसरोवर त होइन जहाँ इन्द्रलोककी अप्सरा (परीहरू) उर्वशी, मेनका, रम्भा, तिलोत्तमा आदि यस सरोवरमा स्नान गरेर इन्द्रको दरबारमा नृत्य प्रस्तुत गर्दा हुन् भन्ने कल्पना गर्न भ्याएँ ।
त्यो तालै त्यस्तो थियो जहाँ वातावरण निरव र शान्त अनि हिमालको सन्ध्याकालीन स्वर्णिम आभा तालको नीलो पानीमाथि पर्दा एउटा अलौकिक दृश्य सिर्जना हुन पुगेको थियो । मानिसको मन सुन्दरताप्रति आकर्षित भइहाल्छ नहुने कुरै आउँदैन । मेरो मनले पनि त्यो ताललाई छेको काटेर अगाडि बढ्न मानेन त्यसैले पाइला पनि अगाडि चलेन । टिमलिडर उमात्सुलाई अब साँझ पनि पर्नलागेकाले यति राम्रो तालको छेउ छाडेर कहाँ बस्न जाने अब यहीँ बसौँ भनेर अनुरोध गरेपछि उनले पनि सहजै स्वीकार गरे । हामीले त्यहीँ टेन्ट खडा गरेर खानपान गरी रात्रि विश्राम गर्यौं ।
राति सपनामा देउताहरूका गुरु बृहस्पति विशिष्ट आसनमा विराजमान र देवराज इन्द्र आफ्नो सिंहासनमा अन्य देवगणहरू यथास्थानमा विराजमान भएर उर्वशी, मेनुका, रम्भा र तिलोत्तमाको नृत्य हेर्दै आनन्दबिभोर भइरहेका छन् । नृत्यको समाप्तिपछि गुरु वृहस्पतिले यहाँ वरिपरि कोही पुण्यात्मा आएको जस्तो आभास भइरहेछ । सतर्क देवराज बलिया दानव र पुण्यात्मा मानवबाट इन्द्रासन खोसिने प्रबल सम्भावना हुन्छ गुरु बृहस्पतिले भन्नुभएपछि त मनोरञ्जनात्मक इन्द्रसभा तुरुन्त देवराजले भंग गरेर चिन्ताग्रस्त हुनपुगे ।
त्यो तालै त्यस्तो थियो जहाँ वातावरण निरव र शान्त अनि हिमालको सन्ध्याकालीन स्वर्णिम आभा तालको नीलो पानीमाथि पर्दा एउटा अलौकिक दृश्य सिर्जना हुन पुगेको थियो । मानिसको मन सुन्दरताप्रति आकर्षित भइहाल्छ । मेरो मनले पनि त्यो ताललाई छेको काटेर अगाडि बढ्न मानेन ।
यता मेरो निद्रा भने इन्द्र्रसभा भंग हुनेबित्तिकै भंग भयो अनि म जुरुक्क उठेर हेर्दा त आफूलाई त्यो अलौकिक ताल छेउमै पाएँ । सोच्न थालेँ स्वर्गमा देवराज इन्द्रले त आफ्नो सत्ता खोसिने भयले आक्रान्त भएर चलिरहेको सभा भंग गरिदिन्छन् भने यहाँ नेपालमा सत्ता जोगाउन प्रतिनिधिसभा भंग गर्दा के आश्चर्य मान्नु । देवराजले त देउता र दानबको गठबन्धन कहिल्यै गरेनन् तर यहाँ त नीति, सिद्धान्त र उद्देश्यै नमिल्नेसँग पनि आफ्नो इमान र नैतिकता बेचेर सत्ताको चास्नीमा डुबिरहन अनर्गल गठबन्धन गरिरहेका छन् ।
तालछेउमै ब्रेकफाष्ट आदि खाएर हामीले अगाडिको बाटो ततायौँ । त्यस तालबाट हामी सिधा उत्तरदिशातर्फ हिँडन छाडेर पश्चिमोत्तर दिशातर्फ हिँड्न थाल्यौं । हिमालको फेदीमा वरपर हिउँ छरिएको देखिन्थ्यो । साबुनको सेतो फिँज जस्तो देखिने हिउँका डल्लाहरू हिमाल चुचुरादेखि त्यसको फेदीसम्मै सेताम्मे भएको दृश्यले हामीलाई रोमाञ्चित तुल्याइरहेको थियो । यसरी हामी हिँडिरहँदा अगाडि बेसक्याम्पमा पुगिसकेका हाम्रा टिममध्येका एकजना रनर हामीलाई खोज्दै आइरहेका थिए । उनले हाम्रो आरोही दलको हेडकुकलाई लेक लागेर रगत बमन गरिरहेका छन्, खुम्जुङ अस्पताल लैजानुपर्ने भएर उताबाट उनलाई बोकेर लाँदैगरिएको छ । हामी लाइजन अफिसर र टिमलिडरबाट एउटा रिक्वेस्ट लेटर लिन आएको, पत्र भए अलि सजिलो हुने थियो भनेर अनुरोध गरे ।
अनि मैले बाटैबाटै एउटा पत्र बनाइदिएर पठाइदिएँ । बेसक्याम्पको नजिक नजिक आइपुगेका थियौँ हामी आधा घण्टा अरू हिँडेपछि बेसक्याम्प पुगेका थियौं । त्यहाँ सबैले व्यक्तिगत पालहहरू ठड्याइसकेका रहेछन् । किचेनको पनि ठूलो पाल ठड्याइसकेका रहेछन् । हामीलाई छुट्याइएको पालमा आफ्नो आफ्नो आधिपत्य जमायौं । ग्याचुङकाङ हिमालको आरोहण एउटा बेग्लै र अद्भूत साहसिक आनन्द दिने हिमालय रेन्जमा लुकेर बसेका ती रत्नहरूमध्ये एक हो जो ७ हजार ९५२ मिटर अर्थात् २६ हजार ०८९ फिटको उचाइमा अवस्थित छ । यसकोे शिखर चुम्नु यसको छिमेकी शिखरहरू सगरमाथा र चोयु चढ्नुभन्दा पनि एउटा बेग्लै अनौठो साहसिक अनुभूति दिन्छ । यो हिमाल विश्वका १५ प्रसिद्ध सर्वोच्च शिखरहरूमध्ये एक हो ।
यसकोे शिखर चुम्न आरोहीहरूलाई निकै चुनौतीपूर्ण रहेको हुनाले यहाँ आरोहीहरूको त्यति भीड देखिँदैन । यो हिमालको चोटीमा चढ्ने टिरेन अरू भन्दा भिन्न र अप्ठ्यारो भएको हुनाले सितिमिती यस शिखरतर्फ आरोहीहरू आकर्षित हुनेगरेको देखिँदैन । हाम्रो बेसक्याम्प १७ हजार ३८८ फिट अर्थात् ५ हजार ३०० मिटरमा खडा गरिको थियो । सगरमाथा साउथ फेसको बेसक्याम्प भने ५ हजार ३६४ मिटर अर्थात् १७ हजार ५९८ फिटमा खडा गर्नेगरेको पाइएको छ । (साभार विकिपीडिया) । क्रमशः ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच