काठमाडौं । तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ युट्युव च्यानललाई प्रेस काउन्सिल नेपालले कारवाहीका लागि प्रहरीमा सिफारिस गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलले सञ्चार माध्यममा सम्प्रेषण भएका समाचारहरू पत्रकार आचारसंहिताविपरीत भएको भनी प्राप्त भएका उजुरीर जनगुनासाहरूको सुनुवाइका साथै नियमित अनुगमनसमेतले ती च्यानललाई कारबाही गरिएको बताएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको हो ।
एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको उल्लेख छ । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता नभएको पाइएको छ ।
दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह गर्ने गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भयो ।
गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार विषयको अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउनेविरुद्ध कारवाही तीव्र पारिएको जनाएको हो ।
त्यस्तै साउनयता मात्र आचारसंहिता पालनाको निर्देशन अटेर गर्ने एबीपीक्राइमन्यूज डट कम, टीभि अन्नपूर्ण डटकम र सेतोखरी डटकमलाई कालोसूचीमा राखिएको छ । साउनयतामात्र ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
युट्युव च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्न थालेपछि कार्यविधि बनाएर काउन्सिलले नियमन थालेको छ ।
त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
विधिवत् रूपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटक पटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ ।
त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्य लाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डट कम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाएको छ । विभिन्न खालका कारबाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच