काठमाडौं । नेपाली कांग्रेसका पार्टी विभागहरू सक्रिय हुन थालेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागहरू ढिलो गरी गठन भएका थिए । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो । विधानअनुसार सभापतिले निर्वाचित भएको ६ महिनाभित्र यी विभाग गठन गरिसक्नुपथ्र्यो । समयमा विभाग गठन गर्नुको सट्टा कांग्रेसले विभागको संख्या ४८ बाट बढाएर ७२ बनाएको छ । जसका कारण पनि विभाग गठनमा ढिलाइ भएको नेताहरूको दाबी छ । ढिला गठन भए पनि विभागहरूले कामलाई भने तीव्रता दिएका छन् ।
७२ वटा विभागमध्ये सभापति शेरबहादुर देउवाले अहिलेसम्म ५६ वटा विभाग मात्रै गठन गर्नुभएको छ । गठन भएका कांग्रेसका पार्टी विभागहरू आमनागरिकका मुद्दामा केन्द्रित हुन थालेका छन् । विशेष गरी शिक्षा, स्थानीय तह समन्वय, वातावरण तथा जलवायु परिवर्तन सरोकार, आपूर्ति तथा उपभोक्ता विभाग, प्रचारलगायत विभागहरू सक्रिय छन् । प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य हुन्छन् । अहिले दशैँ चलिरहेको छ । खाद्यान्नदेखि हवाई तथा बसभाडा मनलाग्दी भएको भन्दै सरकारको आलोचना भइरहेको छ । केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको आपूर्ति तथा उपभोक्ता विभागले मूल्यवृद्धि नियन्त्रण गर्न पटक-पटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।
असोज १० देखि १२ गतेसम्मको वर्षाका बेला बाढीपहिरो र डुबान समस्या निम्तिएको र त्यही मौकामा हवाई भाडासमेत वृद्धि भएकोमा नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको विभाग प्रमुख बरालको भनाइ छ । उक्त विभागले चाडवाडका बेला मूल्यवृद्धि, कालोबजारी, मिसावट रोक्नुपर्ने भनेर गृहमन्त्री रमेश लेखक, उपप्रधानमन्त्री प्रकाशमान सिंह र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राखेर तीन घण्टा अन्तक्रिया पनि गरेको छ । अर्का केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ प्रमुख रहेको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले असोज १९ गते गुह्येश्वरी मन्दिरनजिक पशुपति क्षेत्रमा सरसफाइको कार्यक्रम गरेको थियो । असोज १० देखि १२ गतेसम्मको बाढीले ल्याएको प्लास्टिकलगायत फोहोर संकलन गर्न सरसफाइ कार्यक्रम गरिएको विभागले जनाएको छ । साथै विभागले सोमबार सानेपास्थित केन्द्रीय कार्यालय वरपर पनि सरसफाइ गरेको छ । यसपालि बागमतीको बाढीले कांग्रेस कार्यालय पनि डुबानमा परेको थियो ।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले गत भदौ २६ गते उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखहरूलाई सम्मान गरेको थियो । केन्द्रीय सदस्यसमेत रहनुभएका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि आफूले नेतृत्व गरिरहेको विभागले विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । महामन्त्री गगन थापाले वर्षमा कम्तीमा आधा समय पार्टी संगठनको र आधा समय आमनागरिकसँग जोडिएका मुद्दाहरूमा केन्द्रित गरिनुपर्ने विधानको व्यवस्थाअनुसार नै विभागहरूले काम गरिरहेको दाबी गर्नुभएको छ । पार्टी मातहतका विभागमार्फत कांग्रेसले संगठनात्मक गतिविधिलाई तीव्रता दिने रणनीति बनाएको छ । नेताहरूले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा लड्ने भएकाले आवश्यक तयारीको लागि नेता तथा कार्यकर्ता सक्रिय हुन थालेको दाबी गरेका छन् ।
बाढी प्रभावितको पुनःस्थापनाको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताउनुभएको छ । कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपद्को पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा सभापति देउवासहित गृहमन्त्री रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए ।
कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार बिहान बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटमा डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता एवं कार्यकर्ताहरूलाई आग्रह गर्दै भन्नुभयो, ‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दशैँ तिहारको रमाइलोमा मात्रै होइन जनताको सुख दुःखमा पनि पुग्नुस् ।’ कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औँ महाधिवेशन पर्खनुपर्ने उल्लेख गर्दै कोइरालाले भन्नुभयो, ‘१५औँ महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमानदार र योग्य जो कोहीले अवसर पाउँछ भन्ने मान्यता १५औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौँ ।’ भेटमा दलित संघको आगामी गतिविधि, राजनीतिमा दलित समुदायको निर्णायक उपस्थिति लगायतका विषयमा छलफल भएको थियो ।
गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण
गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका-४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पु¥याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी लिनुभएको छ । सो क्रममा पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थ स्थितिमा पुर्याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्दार, राहत र पुनःस्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच