नेपालको समृद्ध सांस्कृतिक विरासत कैयौं शताब्दीको अन्तरालमा विकसित भएको हो । नेपाली संस्कृति विश्वमै उत्कृष्ट मानिन्छ । यसका आफ्नै मौलिक गुण र विशेषता छन् । नेपालमा विभिन्न जातजाति, भाषाभाषी, भेषभूषा, धर्म, संस्कृति, प्रथा–परम्परा, रहनसहन, आचार–विचार, गीत-नृत्य, साहित्य र कलाकौशल छन् । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो ।
यहाँ अनेकतामा एकताको अलौकिक संगम रहेको देख्न पाइन्छ । अनेक धर्म, भाषा, जाति, सम्प्रदायका मानिस एउटै मालामा गाँसिएको देश हो नेपाल । यहाँका हरेक जाति, धर्म र सम्प्रदायको आ-आफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वका रूपमा नेपाली समाजमा चलनचल्तीमा रहेको छ । हिमाल, पहाड, माधेस, पूर्व-पश्चिम सबै ठाउँमा आ-आफ्ना मूल्य-मान्यता र रीतिरिवाज अनुसार चाडपर्व मनाउने गरिन्छ । नेपालमा मनाउने चाडपर्वहरू अनगिन्ती छन् । ती सबै चाडपर्वहरू हाम्रो चिनारी र पहिचान हुन् । हाम्रो सामाजिक विविधतालाई यिनै चाडपर्वले एकतामा रूपान्तरण गरेको छ ।
हाम्रा चाडपर्वहरूले धर्म एवं आध्यात्मिक भावनालाई दर्शाएर हामीलाई यो लोक र परलोक सुधार गर्ने प्रेरणा प्रदान गरेका छन् । हाम्रा घरपरिवारका सबै साना ठूला सदस्यहरूलाई नजिक्याउने, मिलजुल बढाउने, सँगै बस्ने, एक अर्काको सुखदुःखमा सहभागी हुने अवसर प्रदान गर्दै आएका छन् ।
हिन्दु धर्मको बहुलता रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्वहरू परिरहेका हुन्छन् । समग्र नेपालमा वर्षभरिका धेरै दिन प्राय कुनै न कुनै धर्म–संस्कृतिले रंगिएका पर्व, उत्सव अनि यसभित्रका खुशी र उमंगका दिन नै पर्दछन् । जुनसुकै समाजको सांस्कृतिक जीवनमा चाडपर्व एक प्रमुख अंगका रूपमा क्रियाशील रहेको देखिन्छ । संसारको जुनसुकै भागमा पनि कुनै न कुनै रूपमा चाडपर्व प्रचलनमा रहेको पाइन्छ । किन मनाइन्छ त चाडपर्व ? चाडपर्वलाई सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ । प्राय चाडपर्वहरूले एकातिर प्रकृतिसँग तादम्यता राख्दछन् भने अर्कोेतिर परस्पर, सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गरेको देखिन्छ ।
चाडपर्व पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने सेतु हो । हाम्रा प्रत्येक चाडपर्वहरू मनाउनुको पछाडि विशिष्ट अर्थ र अन्तर्निहित उद्देश्य छन् । हाम्रा चाडपर्वहरूले हामी, हाम्रो समाज र संस्कृति तथा परम्परालाई प्राचीनकालदेखि डोहोर्याउँदै ल्याएको छ । हाम्रो समाज, हाम्रो राष्ट्रिय एकता र अखण्डताका लागि चाडपर्व महत्वपूर्ण छन् । धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतीकका रूपमा छन् । हाम्रो सामाजिक सौहार्द्रतामा बेलाबखत परेको खाडल पुर्दै आएका छन् भने समाजमा देखिने मतभेद अन्त्य गर्न मद्दत गर्दै आएका छन् । समग्रमा भन्दा हाम्रो संस्कृतिलाई जीवन्त राख्ने माध्यम हाम्रा चाडपर्वहरू नै हुन् । हाम्रा चाडपर्वको महत्व युगौंयुगदेखि जस्ताको त्यस्तै रहेको छ ।
हाम्रा चाडपर्वहरूले धर्म एवं आध्यात्मिक भावनालाई दर्शाएर हामीलाई यो लोक र परलोक सुधार गर्ने प्रेरणा प्रदान गरेका छन् । हाम्रा घरपरिवारका सबै सानाठूला सदस्यलाई नजिक्याउने, मिलजुल बढाउने, सँगै बस्ने, एकअर्काको सुखदुःखमा सहभागी हुने अवसर प्रदान गर्दै आएका छन् । धेरै दिनसम्म नभेटिएका साथीसँगी इष्टमित्र भेट्ने, आफूले पाएका ज्ञान बाँड्ने, सामाजिक कार्यमा सहभागी हुने र समाजलाई सहयोग गर्ने कार्यले समाज जोड्ने सूत्रलाई कसिलो पारेको छ । प्रत्येक चाडपर्वका पछाडि वैज्ञानिकता लुकेको छ । हाम्रा चाडपर्वहरूमा मौसम अनुसार व्रत, अनुष्ठान, खाने-लाउने, कसको पूजा गर्ने कुरा परम्परित रूपमा रहेको छ । प्रत्येक चाडपर्वका पछाडि रहेका पौराणिक कथाहरूले हाम्रो जीवन सुखी र हितकर बनाउने सन्देश दिने गरेको छ ।
हामी अहिले विभिन्न चाडपर्वको समयमा छौं । चाडपर्व मनाउने यात्रामा छौं । यतिखेर हामी सबैलाई दशैँको माहोलले छपक्कै छोपिसकेको छ । दशैँलाई नेपालमा राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ । मान्यजनको आशीर्वाद, निधारभरि टीका र कानमा जमरा लगाउनु दशैँ पर्वका विशेषता हुन् । असोज महिनाको शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन पूजापाठ र मनोरञ्जन गरेर मनाइने दशैँमा दशमीलाई विशेष महत्व दिने गरिन्छ । चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि हेर्न सकिन्छ । चाडपर्वका बेला घर, कोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ । दशैँतिहार अगाडि घर लिपपोत तथा सरसफाइमा विशेष ध्यान दिने चलन छ । फोहोर ठाउँमा लक्ष्मीको बास हुँदैन भन्ने मान्यता धार्मिक भावनासँगै स्वास्थ्यप्रतिको सचेतनासँग पनि जोडिएको छ ।
परिवारको सुख, समृद्धि, विद्या-बुद्धि र सम्पत्तिलगायत भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै के बुढाबुढी, के केटाकेटी, के धनी, के गरिब सबैले आ-आफ्नो आस्था र गच्छे अनुसार चाडपर्व मनाउनुपर्छ । तर, हिजोआज चाडपर्वमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन बढेको छ ।
हाम्रा चाडपर्व र हाम्रो जीवनशैलीबीच प्रत्यक्ष सम्बन्ध जोडिएको छ । हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छौं त्यसमा परिवर्तन गर्न जरुरी छ । वैज्ञानिक रूपमा बनाइएका चाडपर्वको सही सदुपयोग गर्न जरुरी छ । ऋषिहरूले चाडबाडमा उपासनाका विधि बनाएका छन् । अहिले हामीले ती विधिको पालना गरेका छौं कि बिर्सिँदै गएका छौं । एकपटक हामी सबैले गम्भीर भएर सोच्न जरुरी छ । चाडपर्वको समय फुर्सदको समय हो । यस समयलाई हामीले जीवन उपयोगी कुरा गरेर सदुपयोग गर्न सक्नुपर्छ । त्यसै आफ्नो स्वास्थ्य, मन, हृदय र चेतनाको रक्षा गर्ने अवसरको रूपमा चाडपर्वलाई लिनुपर्छ ।
परिवारको सुख, समृद्धि, विद्या-बुद्धि र सम्पत्तिलगायत भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै बुढाबुढी, के केटाकेटी, धनी-गरिब सबैले आ-आफ्नो आस्था र गच्छेनुसार चाडपर्व मनाउनुपर्छ । हिजोआज चाडपर्वमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन बढेको छ । हुनेखाने र हुँदा खानेले मनाउने चाडपर्वमा फरक देखिन थालेको छ । आधुनिकताको नाममा चाडपर्वको मौलिकता नै उपेक्षामा पर्न थालेको छ । दिनप्रतिदिन मौलिक संस्कृति र परम्परा हराउँदै गएको छ । सामान्य ढंगबाट चाडपर्व मनाउँदा पनि हुनेमा देखासिकीका कारण ऋण लिएर भए पनि फजुल खर्च गर्ने चलन बढ्दै गएको छ ।
साथीभाइ, आफन्त, नातागोता भेटघाट गरी रमाइलो गरी मनाउनुपर्ने चाडपर्वहरू आजकाल परिवारका सदस्यसमेत भेटघाट नगरी आ–आफ्नै तरिकाले मनाउन थालिएको छ । हिजोआज चाडपर्वको खान्की पनि स्वास्थ्य निर्माण गर्नेभन्दा बिगार्ने प्रकारको हुन्छ । जुवा, तास र मदिरा सेवन गरी चाडपर्व मनाउने चलन बढ्दै गएको छ । त्यस्तै झगडा गर्ने, हिंसा गर्ने र आपराधिक घटना पनि चाडबाडको समयमा बढेका छन् । यस्ता क्रियाकलापले समाजमा विखण्डनसमेत ल्याउन थालेको छ ।
हामीले बचाए हाम्रो संस्कृति जीवन्त रहन्छ । भविष्यमा आउने पुस्तालाई वास्तविक संस्कृतिको अनुभव गराउन र पुस्तौंपुस्तासम्म हाम्रो संस्कृतिलाई हस्तान्तरण गर्न सकिन्छ । कुन चाडपर्व के-कस्तो किसिमले मनाइनुपर्ने हो, पर्वको वास्तविक महत्व कुन कुरामा गाँसिएको छ भन्ने कुरा आजको परिवेशमा सबैले थाहा पाउन त्यतिकै जरुरी छ । हाम्रा रीतिरिवाज र चाडपर्वलाई बचाउनु आजको आवश्यकता हो ।
चाडपर्वलाई सस्तो, सर्वसुलभ, लोकप्रिय बनाउन के गर्नु पर्ला ? के-के संस्कृति हुन् र के-के विकृति हुन् ? सही पहिचान गर्न जरुरी छ । हाम्रो चाडपर्वमा रहेका राम्रा गुण र विशेषता हाम्रा हुन् । तिनीहरूको रक्षा एवं सम्बद्र्धन गर्ने कर्तव्य हाम्रै हो । हाम्रो चाडपर्वमा रहेका दोष, विकार, विकृति, रुढिवाद र अन्धविश्वासलाई हटाउँदै हाम्रा चाडपर्वलाई उन्नत र सर्वग्राही बनाउने दायित्व पनि हाम्रै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच