काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकबाटै औपचारिक रूपमा अबका निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी तालमेलकै नीति अख्तियार गरेको छ । यसका लागि माओवादी केन्द्रले पार्टीको मातहतका कमिटीलाई सर्कुलर नै पठाएर स्पष्ट पारेको छ । गत साउनमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी आम निर्वाचनमा तालमेल नगर्ने र आफ्नो शक्तिमा चुनाव लड्ने निर्णय गरेको थियो । जनतासँग सम्बन्ध टुटेकाले अब तलसम्म जानेगरी कार्यक्रम बनाउने र चुनावसम्म सबै जनासम्म पुग्ने निर्णय भएको त्यतिबेला उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त गएको शनिबार पनि आगामी निर्वाचनहरूमा माओवादी केन्द्र आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने दाबी गर्नुभएको थियो । पार्टीको संस्थागत निर्णय र अध्यक्ष प्रचण्डको सार्वजनिक प्रतिक्रियाविपरीत सोमबार पार्टी मातहतका निकायलाई अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले पठाएको परिपत्रमा भनिएको छ, ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने । यसका साथै सत्तारूढ दल बाहेकका वाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने ।’
हाललाई एकल रूपमा चुनाव लड्नेगरी तयारी गर्ने तर अन्य दलसँग सहकार्य गर्नेबारे पहल भने जारी राख्नेगरी परिपत्र भएको नेताहरूले जनाएका छन् । चुनावी तालमेल गर्न पार्टी मातहतमा परिपत्र जारी गरिसकेपछि पनि माओवादी केन्द्रका पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले भने पार्टीले एकल चुनाव लड्ने दाबी गर्दै भन्नुभयो, ‘आवश्यक परेको खण्डमा हामीले विपक्षी दलहरूसँग पनि सहकार्य गर्न सक्छौँ मात्र भनेको हो । यसलाई चुनावी तालमेल भन्न मिल्दैन ।’
तर, माओवादीले नेपाली कांग्रेस, नेकपा एमालेसहितका सत्तारूढ दलसँग भने तालमेल नगर्ने नीति लिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले यसअघि नै एक्लै निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । अहिले प्रतिपक्षमा रहेका दलहरूमध्ये नेकपा एकीकृत समाजवादी (नेकपा एस) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माओवादीनिकट देखिएको छ । सरकारमा सहभागी दल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि माओवादी केन्द्रसँग नजिक देखिएको छ । रास्वपाले स्थानीय तहको चुनावमा जाने निर्णय गरेसँगै माओवादीको पनि यो परिपत्र आएको हो । विपक्षी दलहरूको समाजवादी मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् ।
यस्तै, माओवादी केन्द्रको नेतृत्वले परिपत्रमा उम्मेदवार चयनको प्रक्रिया पनि तोकेको छ । जसअनुसार उपनिर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने परिपत्रमा उल्लेख छ । यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिश गर्ने भनिएको छ । त्यसपछि पालिकाको पार्टी समितिले निर्णय गर्ने र सो को जानकारी कात्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा लेखी पठाउने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा उल्लेख छ । यसैगरी, रिक्त रहेका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पालिका अन्तर्गतका सबै वडाहरूका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गर्न भनिएको छ । यस्तै, जिल्ला समन्वय समिति प्रमुखका लागि पार्टी जिल्ला समन्वय समितिले सिफारिश गर्ने र प्रदेश समितिले निर्णय गर्नुपर्नेछ ।
सोमबार जारी सर्कुलरमा भनिएको छ, ‘उप-निर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने । यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिश गर्ने र पालिकाको पार्टी समितिले निर्णय गर्ने । रिक्त रहेका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पार्टी अन्तर्गतका सबै वडाहरूका प्रतिनिधि र पालिका पार्टी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गर्ने यदि सहमति हुन नसकेमा पालिका समितिको बहुमतीय प्रणालीबाट छनोट गरी प्रदेश पार्टी सभापतिलाई सिफारिश गर्ने प्रदेश पार्टी समितिले निर्णय गर्ने सो को जानकारी कात्तिक २५ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयलाई गराउने ।’
माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म उम्मेदवार चयन गरिसक्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ । यस्तै, माओवादीले उपनिर्वाचन प्रयोजनका लागि सबै वडाहरूमा मतदाता नामावली अपडेट गराउने, पार्टी निकटका मतदाताहरूलाई जागरूक गराउने, उपनिर्वाचन हुन गइरहेका वडा र पालिकाहरूमा चुनाव प्रचार-प्रसार समिति गठन गर्ने, प्रचार-प्रसारलाई व्यवस्थित गर्न जनभेटघाट, घरदैलो, पिँडीसभा, चौतारीसभा, कोणसभा र आवश्यकताअनुसार अन्य सभाहरू गर्ने पनि निर्णय गरेको छ ।
मत परिणाम घोषणा नहुँदासम्म पार्टीको प्रतिनिधि खटाउन निर्देशन
नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि वडा र पालिकाहरूमा चुनाव प्रचार प्रसार समिति गठन गर्न निर्देशन दिएको छ । अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको परिपत्रमा पार्टी मतदाताहरूको नामावली छुट्न सक्ने भएकाले तुरुन्त पहल लिएर अभिलेखीकरण गराउने पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । पार्टीको नेतृत्वमा सबै जनवर्गीय संगठन, मोर्चाहरू तथा युवाहरूको टोली बनाएर परिचालन गर्ने, मतदानको दिन मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न ध्यान दिन निर्देशन दिँदै परिपत्रमा भनिएको छ, ‘मतदान केन्द्र, मतपेटिकाको सुरक्षा तथा निर्वाचन धाँधलीरहित बनाउन मतदान केन्द्रमा प्रतिनिधि खटाउने र मत परिणाम घोषणा नहुँदासम्म मतगणना केन्द्रमा प्रतिनिधि खटाई विशेष सतर्कता अपनाउने ।’
दलहरूले यो वर्ष चियापान कार्यक्रम नगर्ने
राजनीतिक दलहरूले यो वर्ष चाडपर्वलक्षित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम नगर्ने भएका छन् । गत असोज १० देखि १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानले ठूलो धनजनको क्षति भएकोले यसवर्ष चियापान कार्यक्रम नराख्ने भएका हुन् ।
सत्तारूढ दल नेपाली कांग्रेसले चियापान कार्यक्रम नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो । सरकारको नेतृत्व गरिरहेको दल एमालेले पनि यसवर्ष चियापान कार्यक्रम नगर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । विपद्ले ठूलो जनधनको क्षति गरेपछि देश राष्ट्रिय शोकमा भएको यसवर्ष पार्टीले चियापान कार्यक्रम नराखेको उहाँको भनाइ छ । अहिले पार्टी सिंगो पंक्ति नै उद्धार, राहत र पुनःस्थापनाको कामका लागि खटेको गौतमले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि चाडपर्वलक्षित चियापान कार्यक्रम नराख्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । अध्यक्ष प्रचण्ड र महासचिव गुरुङद्वारा जारी परिपत्रमा भनिएको छ, ‘यस वर्ष विगतका वर्षमा मनाउने गरिएको चाडपर्व लक्षित शुभकामना आदान–प्रदानका कार्यक्रम नगर्ने र सम्पूर्ण पार्टी पंक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित गर्ने ।’ कांग्रेस, एमाले र माओवादीले मात्रै नभई अन्य दलहरूले पनि यसवर्ष चियापान कार्यक्रम राखेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच