
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बुधबार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि बिमर्श कार्यक्रम आयोजना गरिएको छ । रिजउड नेपाली समाज र काठमाडौं फ्युजनको सहयोगमा सुदूर पश्चिम समाज अमेरिकाद्वारा न्यूयोर्कमा आयोजित पुस्तक बिमर्श कार्यक्रमका सहभागी वक्ताहरूले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरू साटासाट गरेका थिए । उनीहरूले आगामी समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना पनि गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले पत्रकार उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताउनुभयो ।
कार्यक्रमका अतिथि साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसँगै कवितासंग्रह ‘आमा म आउँदैछु’का बारेमा टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी मध्य अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठो पीडा र अनुभव सुनाएका थिए । कतिपयले आफू अपहरणमा परेको सुनाएका थिए भने कतिपयले अपहरणबाट जोगिएर बाँचेको बताएका थिए । राज्य र माओवादी दुवै पक्षबाट प्रताडित भएका उनीहरूले फेरि द्वन्द्व नहोरियोस भनेर कामना गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार उपाध्यायले पुस्तकमा पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर समेटिएको बताउनुभयो । उहाँले पत्रकारिताका विद्यार्थीका लागि मात्र नभएर अहिले र भावी पुस्ताका लागि यो पुस्तक द्वन्द्वका १० वर्षको अध्ययन सामग्री भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट ‘मृत्युले भन्यो म छु नि त, छोरी र बा’ शीर्षकको कविता सुनाउनुभएको थियो । उहाँले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, काठमाडौं फ्युजनका सञ्चालक जीवन बम र कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथिलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, गैर आवासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष लक्ष्मी थापा, सुदूरपश्चिम समाजका अगुवा मोहनसिंह विष्टले पत्रकारिता र साहित्यका माध्यमबाट उपाध्यायले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सुदूर पश्चिम समाज अमेरिकाका उपाध्यक्ष नवीन ओझाले पत्रकारिता र सामाजिक क्षेत्रमा अढाई दशकदेखि सक्रिय उपाध्यायसँग माईती नेपालको धनगढीको प्रमुखका रूपमा आफू कार्यरत रहँदा सहकार्य गरेको सुनाउनुभएको थियो । कार्यक्रम सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष राईभान महराले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच