
काठमाडौं । नेपालीहरूको प्रमुख चाड दशैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको संख्या बढिरहेको छ । हाल दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उहाँले भन्नुभयो, ‘आइतबार र मंगलबारको तुलनामा सोमबार र बुधबार यात्रा गर्नेको संख्या बढेको छ ।’ दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलंकी, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्री बढे पनि गत वर्षको दशैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिनुभयो । हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली (हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।
बुधबारसम्म सार्वजनिक यातायातमार्फत मात्रै आठ लाख बढीले काठमाडौं उपत्यका छाडेका छन् । यो संख्या आज (बिहीबार) झनै बढ्ने कार्यालयले जनाएको छ । ‘घटस्थापनादेखि बुधबार साँझसम्म ‘काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट आठ लाख बढी यात्रु बाहिरिएका छन्,’ उपरीक्षक कार्कीले भन्नुभयो, ‘रातिसम्मै बाहिरिने भएकाले यो संख्या अझै बढ्न सक्छ । यस्तै, बाहरिने क्रम नवमीको दिनसम्म जारी रहने भएकाले यकिन संख्या अन्तिममा मात्रै भन्न सकिन्छ ।’
सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रसमेत बिहीबारदेखि केही दिनका लागि बन्द हुने भएकाले फूलपातीदेखि उपत्यका छाड्नेको दैनिक संख्या एक लाख २० हजारभन्दा बढी हुने अनुमान गरिएको छ ।
घटस्थापनायता निजी सवारीसाधनबाट घर फर्कनेको संख्या पनि ठूलो छ । ट्राफिक कार्यालयका अनुसार मोटरसाइकलबाट डेढ लाख, अन्य निजी सवारीसाधनबाट एक लाख र हवाईमार्गबाट एक लाखभन्दा बढी यात्रु बाहिरिसकेका छन् । यो सबै जोड्दा करिब १० लाख बढी हुन आउँछ ।
घर जानेहरूको संख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडकखण्डमा यात्रु र सवारीसाधनको चाप बढेको छ । उपत्यकाबाट बाहिरिने विभिन्न नाकामा गाउँ फर्किनेहरूको भिड दैनिक बढ्दै गएको हो । काठमाडौंको कलंकी, बालाजु, नयाँबसपार्क, कोटेश्वरलगायत क्षेत्रमा बाहिरिनेहरूको लर्को लागेको हो । नयाँबसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्मै घर फर्किनेहरूको संख्या उल्लेख्य छ ।
गाडीमा सिट नपाउने समस्या
गाडीमा सिट नपाउने समस्या यसपालि पनि दोहोरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै देशमा गएको बाढी-पहिरोका कारण सडक भत्काएपछि अग्रिम टिकट बुकिङ रोकिएको थियो । बुकिङ रोकिएपछि जतिले टिकट काटे त्यो बाहेकका यात्रुलाई भने घर जान समस्या भएको हो । धेरै यात्रुले जिल्लामार्फत नै गाडीको सिट बुक गराएर काठमाडौंबाट घर गइरहेका छन् । बाटो जीर्ण बनेर राजमार्गमा धेरै समय लाग्दा गाडी निर्धारित समयमा गन्तव्यमा पुग्न नसक्दा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । जीर्ण सडकका कारण यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकिरहेका छैनन् । ठूला र सवारीसाधनको बढी चाप हुने राजमार्ग यतिबेला विस्तारका लागि भताभुंग पारिएको छ । जसमा बाढी-पहिरोले मलजल थपेको छ । जसकारण दशैँको यात्रा निकै कष्टकर बनेको छ । पूर्व–पश्चिम राजमार्गमा धुलो र हिलोका कारण यात्रुलाई सास्ती भइरहेको छ । यसवर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहेको छ । काठमाडौंबाट सदरमुकाम गएर त्यहाँबाट गाउँगाउँमा जानुपर्ने यात्रु झनै समस्यामा परेका छन् ।
जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग
काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारीसाधनको जामका कारण नागढुंगा–नौबिसे सडकको सट्टामा सीतापाइला-धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ । अहिले अधिकांश साना सवारीसाधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । नागढुंगा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरूले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्न सीतापाइला-धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन् । अहिले उक्त सडकको प्रयोग गरेर कति सवारीसाधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तत्थ्यांक नभए पनि दिनमा दुईदेखि तीन सयसम्म सवारीसाधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ । नागढुंगा-नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग पनि बढेको छ । नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौंतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ । धार्के-सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला-रामकोट-भीमढुंगा-महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताउनुभयो । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कुवेत सरकारले तयार पारेको थियो । झण्डै १५ करोड खर्चिएर डिपिआर तयार गरिएको बताइएको छ ।
देश छाड्नेहरू पनि त्यत्तिकै
अर्कोतर्फ दशैँ-तिहारको मुखमा देश छाड्नेहरूको संख्यामा पनि कमी आएको छैन । चाडबाड मनाउन देश तथा विदेशबाट नेपालीहरू गाउँ पुगिरहँदा विदेशिनेहरूको संख्या पनि बढिरहेको हो । रोजगारी र अध्ययनका लागि केही मानिसहरू टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुसी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरू देख्न सकिन्छ । अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरूको भनाइ छ ।
विभिन्न राजमार्गका पाँच खण्ड अझै अवरुद्ध
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढी-पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढी–पहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए पनि अझै पाँचवटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार अन्य आठवटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयवेसी खण्ड पूर्णरूपमा अवरुद्ध छ । सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका-६ को सेलेघाट, भोटेकोशीको रामेछाप-सिन्धुली-खुर्काेट, भोटेकोशीको बाह्रबिसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ । प्रहरीका अनुसार गोदावरीको लेले–टीकाभैरव, तेह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँचथर फिदिमस्थित मेची राजमार्गको रमिते, भीमफेदीस्थित कान्ति लोकथप एकतर्फी रूपमा खुलाइएको छ । रोशीस्थित बिपी राजमार्गको कालढुंगा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभिर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको छ । उक्त विपद्मा परेर अहिलेसम्म २४६ जनाको मृत्यु भइसकेको छ । अझै १८ जना जना बेपत्ता छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच