काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताबाट बाहिरिएको तीन महिना भयो । सरकारबाट बाहिरिएपछि प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान सत्ता गठबन्धन फुटाउन विभिन्न अस्त्र प्रहार गरिरहनु भएको छ । विपक्षी दलहरूलाई समेटेर सरकारविरुद्ध बलियो मोर्चा निर्माणमा अहिले पनि प्रचण्ड उत्तिकै प्रयासरत रहनुभएको छ । सरकारबाट बाहिरिएपछि अध्यक्ष प्रचण्डले बुधबार पहिलोपटक सम्पादकहरूसँग सामूहिक भेटघाट कार्यक्रम राख्नुभएको छ । सुरुमा करिब आठ मिनेट बाढी, पहिरो र डुबानले मुलुकमा पुर्याएको क्षति, सरकारको उपस्थिति र प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा खेलेको भूमिकाबारे व्याख्या गर्नुभएका प्रचण्डले देशको राजनीतिक मुद्दाहरूका बारेमा पनि खुलेर कुराकानी गर्नुभएको छ । सम्पादकहरूसँगको छलफल अवधिभर एमालेप्रति निकै आक्रामक देखिनुभएका अध्यक्ष प्रचण्ड सत्ताकै अर्को साझेदार दल नेपाली कांग्रेसप्रति भने लचिलो रूपमा प्रस्तुत हुनुभएको छ । उहाँले कतिपय विषय खुलस्त र कतिपय कुरा रणनीतिक रूपमा उठाउनुभएको छ ।
अध्यक्ष प्रचण्डले नेपाल नयाँ शीतयुद्धको इपिसेन्टर बन्ने खतरा रहेको औँल्याउनुभएको छ । अमेरिका र चीनबीचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डको आँकलन छ । पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले दक्षिण एसियामै विगत केही समयदेखि ठूलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखापरेको उल्लेख गर्नुभयो । उहाँले यसमा श्रीलंका र बंगलादेशको उदाहरणसमेत प्रस्तुत गर्नुभयो । नेपालमा चाहिँ सरकार परिवर्तन हुने विषयमा आन्तरिक कारण प्रधान रहेको स्पष्ट पार्दै प्रचण्डले भन्नुभयो, ‘हाम्रोमा चाहिँ हाम्रै मौलिकतामा छ भन्छु म । हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ । यो हाम्रो आन्तरिक राजनीतिक डाइनामिक्सका कारणले भएको छ । तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आँकलन गर्न सकिन्छ ।’
प्रचण्डले विश्व परिस्थिति नयाँ ढंगले अघि बढेको समेत जिकिर गर्नुभयो । केहीले तेस्रो विश्वयुद्ध सुरु भइनैसक्यो भनेर प्रचार गरिरहेको र ठूलै राजनीतिज्ञहरूले तेस्रो विश्वयुद्धको संघारमा रहेको भन्न थालेको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘हाम्रो देशको अवस्थितिको कारणले, चीन र भारतजस्ता विशाल छिमेकीको बिचमा हुनुको कारणले विगतदेखि हामीसँग चुनौती र अवसर पनि रहँदै आएका छन् । यो बीचमा चुनौती बढ्दै गएको अनुभूति गरेका छौँ । विश्वमा आर्थिक शक्ति र विश्व शक्ति बन्ने प्रतिस्पर्धामा चीन र अमेरिका सबैभन्दा अगाडि छन् । रुस पनि सुपरपावरको हैसियत गुम्न नदिनका लागि प्रयास गर्ने कुरा पनि स्वाभाविक छ ।’ देशको भूराजनीतिको मात्र कुरा नभएर हाम्रो भौगोलिक बनावटको कारणले पनि नेपाल जहिले पनि अप्ठ्यारोमा पर्ने देश रहेको उहाँको भनाइ छ ।
ज्ञानेन्द्र र उनको परिवारका कारण पनि राजतन्त्र नफर्किने दाबी
अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको दाबी गर्नुभएको छ । पूर्वराजाको भुटान भ्रमण आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भए पनि कतैबाट हेर्दा पनि राजतन्त्र फर्किने सम्भावना नरहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘भुटानमा जुन किसिमिको स्वागत भयो र त्यसपछि जुन किसिमको राजनीतिक अभिव्यक्ति आयो, संकटकै निरन्तरता ठान्छु । कहाँ पुगेर कसरी अभिव्यक्त हुन्छ भन्ने त अहिले फोरकास्ट (भविष्यवाणी) गर्न सकिँदैन । मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन । इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवादबाहेक हुँदैन । राजा र उनको परिवारको कारणले पनि सम्भव छैन ।’
‘सरकारलाई अहिले गाली गर्दिनँ, तर परिस्थिति धेरै जटिल देख्दै छु’
अध्यक्ष प्रचण्डले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ । अहिलेको संकटमा पनि विगतमा जस्तै सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने उहाँको भनाइ छ । अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘जतिबेला जनता संकटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुर्ननिर्माण र पुनःस्थापनाको चुनौती छ ।’ प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका प्रचण्डले पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत भएको टिप्पणी गर्दै भन्नुभयो, ‘पहिलो र दोस्रो दलको सरकार बनाउनु नै संकटको संकेत हो । सामान्यतया संसदीय लोकतन्त्रमा यस्तो हुन्न ।’
ओलीलाई लक्षित टिप्पणी- ‘बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन’
अध्यक्ष प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाउनुभएको छ । अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन । बहाना हो । किनभने अघिल्लो सरकारले भ्रष्टाचारको विरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अप्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार । संविधान बनाउने बेलामै चाहिँदैनथ्यो भन्ने साथीहरू नै पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ, सरकारको पनि नेतृत्वमा हुनुहुन्छ । सुरुदेखि नै मनपरेको छैन । उहाँहरूले यो संविधान आफ्नोभन्दा बाहिर भएको ठान्नुहुन्छ । उहाँहरूको चाहना संविधान संशोधन हो भन्ने पनि मलाई लाग्दैन । उहाँहरूको चाहना संविधान खारेजी हो । बयलगाडाको सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको सिद्धान्त मनपरेको छैन नि मनभित्र त ।’ उहाँले २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधान खारेजीको प्रक्रिया सुरु गरेको समेत आरोप लगाउनुभयो ।
माओवादी फुटाउन ठुल्ठूला शक्ति लागिरहेको आरोप
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी फुटाउन ठुल्ठूला शक्ति लागेको समेत दाबी गर्नुभएको छ । अध्यक्ष प्रचण्डले माओवादी फुटाउने शक्तिविरुद्ध संघर्ष गरिरहेको दाबी गर्दै भन्नुभयो, ‘माओवादीलाई फुटाउन ठुल्ठूला शक्ति पार्टी लागेका छन्, अहिले पनि निक्कै नै लागिरहेका छन्, यसलाई फुटाउनै पर्छ भनेर । म त्यसको सामना गरिरहेको छु ।’
सहकारी ठगीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल
अध्यक्ष प्रचण्डले सहकारीको बचत अपचलन, दुरुपयोग, ठगीबारे छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा राजनीतिक चलखेल भइरहेको जिकिर गर्नुभएको छ । उहाँले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको बताएपछि सरकार पछि हटेको दाबी गर्दै भन्नुभयो, ‘मैले सुनेको कुरा के हो भने त्यहाँ राजनीतिक चलखेल भइरहेको छ । थोरै अदालतले पनि तुरुन्तै एक्सनमा जान पर्याप्त आधार छैन भनेर कास्कीबाट भनिएको सुनेको छु । मलाई आधिकारिक हिसाबले अदालतबाट थाहा भएको चाहिँ छैन । मलाई यो विषय चाहिँ रास्वपाकै नेताहरूले भन्नुभएको छ । नत्र अस्ति गिरफ्तार गर्ने अन्तिम तयारी भइसकेको थियो भन्ने पनि छ ।’ संसदीय छानविन समितिको प्रतिवेदनले लामिछानेले आफैँ संलग्न भएर सहकारीको बचत अपचलनको आरोप प्रमाणित गर्न नसके पनि गोर्खा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित कुरामा केही प्रश्न उठाएको उहाँको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच