काठमाडौं । सय दिनअघि स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दै गर्दा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी काम गर्ने प्रतिबद्धता गर्नुभएको थियो । लामो समयदेखि सेवा प्रवाहमा भएको सुस्तता, जनशक्ति अभाव र बिरामी चापका कारण सरकारी अस्पतालहरूमा बिरामीले पालो कुरेर उपचार गराउनुपर्ने बाध्यता थियो । प्रारम्भमा स्वास्थ्यमन्त्री पौडेलको घोषणा महत्वाकांक्षी र प्रचार केन्द्रित भएको आरोप पनि लाग्यो ।
बिहीबार मन्त्रीका रूपमा एक सय दिनमा गरेको कामहरू सार्वजनिक गर्दै गर्दा स्वास्थ्यमन्त्री पौडेल आत्मविश्वासी देखिनुभयो । अस्पतालमा बिरामीले लामो लाइन बस्नुपर्ने अवस्था हिजोजस्तै नरहेको उहाँको दाबी थियो । ‘अस्पतालमा लाइन हटाउनकै लागि सरकारी अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्न थालेका छौँ । अप्रेसनका लागि पहिलेजस्तो आठ/दश महिना नै पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको छ’, मन्त्री पौडेलले भन्नुभयो । सरकारले हाल संघीय सरकारी अस्पतालहरूमा दुई सिफ्टमा ओपिडी सञ्चालन सुरु गरेको र छिट्टै तीन सिफ्टमै सेवा सुरु गरिने मन्त्री पौडेलले बताउनुभयो । उहाँले अस्पतालमा लाइन लाग्नुपर्ने अवस्था क्रमिक रूपमा अन्त्य हुँदै गएको र सेवाग्रहीले अनुभूति गर्न पाएको उल्लेख गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयले बितेको सय दिनमा स्वास्थ्य सेवा सुधार, जनशक्तिको समुचित उपयोग र स्वास्थ्य क्षेत्रको बृहत्तर हितका लागि तत्कालिक र दीर्घकालिक कामहरू गरिएको जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार, बागमती, गण्डकी र मधेश प्रदेशमा मुटु रोग उपचार सेवा सुरुआत, संघीय अस्पतालहरूमा दुई सिफ्टको बहिरंग सेवा, अनलाइन प्रणाली लगायतका कामहरू सकरात्मक रूपमा थालिएका छन् ।
वीर अस्पतालमा १४ शøयाको जनल उपचार वार्ड पुनः सुचारु भएको र जलन उपचार निःशुल्क गरिएकाले सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने मन्त्री पौडेलको विश्वास छ । ‘आगलागीमा परेका वा कुनै दुर्घटनाले जलनको समस्यामा परेका बिरामीको उपचार निःशुल्क हुने व्यवस्था गरेका छौँ । यसले पीडितलाई ठूलो राहत दिने अपेक्षा गरेका छौँ’, मन्त्री पौडेलको भनाइ छ । महिला स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने व्यवस्था कार्यान्वयन भएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले यसबाट स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल बढ्ने र कार्यक्षमतामा सुधार हुने दाबी गर्नुभयो । आफू मन्त्री भएपछि नै राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको र सम्बन्धित खेलाडीले लाभ लिन सुरु गरिसकेको उहाँले बताउनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले कार्ययोजना सार्वजनिक गर्ने क्रममै स्वास्थ्य बीमाको सुविधा पाँच लाख रुपैयाँ पु¥याउने घोषणा गर्नुभएको थियो । कार्यान्वयनका लागि चुनौतीपूर्ण मानिए पनि प्रारम्भिक अध्ययनबाट सरकार उत्साहित रहेको मन्त्री पौडेलको भनाइ छ । ‘मैले अध्ययन गरेरै यो विषय कार्ययोजनामा राखेको हुँ । हाम्रो आन्तरिक अध्ययनले यो उपलब्धि हासिल हुने देखाइसकेको छ । केही समय लाग्ला तर स्वास्थ्य बीमाको सुविधा पाँच लाख पुर्याएरै छाड्छौँ’, उहाँले भन्नुभयो ।
हिमालय टाइम्ससँग कुराकानी गर्दै मन्त्री पौडेलले आफूले नागरिकको रूपमा स्वास्थ्य क्षेत्रमा देखेका समस्याहरूलाई मन्त्रीका रूपमा समाधान गर्ने प्रयत्न गरेको बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारीलाई आफूले गहन रूपमा लिएको भन्दै आफ्नो कार्यकालमा जनताले प्रत्यक्ष अनुभूति गर्ने सुधार स्थापित गरेरै छाड्ने बताउनुभयो । ‘हिजोभन्दा आज धेरै सुधार भएकै छ तर अझ धेरै गर्न सकिन्छ भन्ने लागेको छ । जबसम्म स्वास्थ्य मन्त्रीको रूपमा रहन्छु आम जनताको स्वास्थ्य सेवाको अधिकारलाई सहज र सुलभ बनाउन प्रयत्न गर्छु’, मन्त्री पौडेलले भन्नुभयो ।
स्वेदशमै औषधी उत्पादन गर्ने, आयुर्वेदिक चिकित्सालाई प्रवद्र्धन गर्ने, स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार ल्याउने लगायतका कामलाई आफूले प्राथमिकतामा राखेको मन्त्री पौडेलको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच