
भदौ २९ गते अर्थात् सेप्टेम्बर १४ तारिखका दिन बोस्टन एयरपोर्टमा न्यूयोर्कका लागि दिउँसो २ः३० बजेको जहाज छुटेकाले हामी काका-भतिज फर्केर निवासमा आउनुको विकल्प थिएन । समयको सदुपयोग गर्दै हामी हार्डबोर्ड विश्वविद्यालय घुम्न गएका थियौं । दुलही आयुशाले घरबाट हिँड्नेबेलामा एयरपोर्ट छिटो जाँदा बेस होलासम्म भनेको बचन अर्थपूर्ण थियो । भोलिपल्ट त्यही टिकटमा बिहान ५ः३० बजेको हवाई यात्रामा न्यूयोर्क प्रस्थान गरेकाले हामी समयका लागि सचेत थियौं ।
शिवकृष्ण श्रेष्ठको घरमा बास बसेकाले (न्यूयोर्कबाट बोस्टनमा साहित्यिक कार्यक्रमको साहित्यिक अभिनन्दन... निम्तो स्वीकार गर्दै पुनः फर्केको थिएँ) डा.विष्णु भतिज पानीमा सबेरै ७ः०० बजे त्यहाँ आइपुगिसकेका थिए । त्यसदिन हामी सबैजनाले २ दिनसम्म रमाइलोसँग बसेको घर छोड्दै थियौँ । पंक्तिकार र नायक रवीन्द्र खड्काका लागि शिवकृष्णजीले गाडीको टिकट अघिल्लो दिन काटिसकेका थिए । एकजनाको ८० डलर थियो भाडा । गाडी छुट्ने समय ८ : ४५ बजे थियो । बसपार्क पुग्न भतिजले गाडी तीव्र गतिमा हाकेका थिए । ८ः४२ बजे बसपार्कभित्र प्रवेश गरिसकेका थियौं । हामी पुग्ने बित्तिकै अर्लाम घडी बजिरहेको थियो । कम्पाउण्डमा सो बस र हाम्रो गाडीको जम्काभेट भयो ।
बाहिर देखेजस्तो रमाइलो जिन्दगी छैन अमेरिकामा बस्ने अधिकांश नेपालीहरूको । आफ्ना दुःखका कथा लुकाएर बसेका छन् नेपाली । गोराहरूका नजरमा काला कारिन्दा बनेका छन् । यिनीहरूको हेपाइ खाएर डलरको लोभ मानीमानी संघर्षपूर्ण जिन्दगी बिताइरहेका छन् धेरै नेपाली दाजुभाइ दिदीबहिनी ।
डा.भतिजले टिकट देखाउँदै रोक्न आग्रह गरे तर गाडी ढोका नै नखोली अगाडि बढ्यो । कर्मचारीले हामीतिर हेरी, रोक्न मिल्दैन भन्दैथिए । तीन मिनेट बाँकी हुँदै गाडी गन्तव्य कुदिहाल्यो । बस काउन्टरमा गएर बुझ्दा त्यहाँको चलन अनुसार तीन मिनेटअगाडि नै बस कम्पाउण्ड छोडिसक्नुपर्ने रहेछ । एकैपटक बेलुका चार बजेमात्र अर्को गाडी न्यूयोर्कका लागि छुट्नेरहेछ । असोज ६ गते अर्थात् २२ अक्टोबर बिहान ८ः०० बजे न्यूयोर्क एयरपोर्ट पुग्नुपर्ने भएकाले गाडी छुटेको तनावमा थिए डा.विष्णु भतिज । उनको अनुहारको उज्ज्यालोपन हरायो । हामीलाई केही नभनी मनमनै केही सोचिरहेका देखिन्थे । केही व्यक्तिलाई आफैंले फोन गरे तर प्रत्युत्तर सकारात्मक नआएपछि हामी दुवैलाई आफ्नै गाडीमा न्यूयोर्क लैजान्छु भने ।
दुई दिन पहिले एटलान्टिक महासागरको किनारा भएर बोस्टन शहरको ऐतिहासिक किल्ला घुमाउन लगेका भाइलाल बहादुर शाही (हुम्ला)ले केही उपाए नलागे म न्यूयोर्क पुर्याइदिन्छु दाइ भनेका थिए । अघिल्लो दिन उनलाई पनि सम्पर्क गर्दा कार्यालयको हाकिमले बिदा नदिने जानकारी गराइसकेका थिए । यसैगरी सानु बर्मा (सिन्धुली)ले होटलमा परिचय हुँदा दाइलाई म पुर्याइदिन्छु भनेकाले अलिकति आशा लागेको थियो तर उनी पनि बिरामी परेका कारण जान नसक्ने जानकारी अघिल्लो दिन गराएकाले सो योजना पनि अधुरो रहृयो ।
त्यसैले पनि डा.भतिजको भर पर्नुबाहेक दोस्रो विकल्प थिएन । हामीलाई भन्दा भतिजलाई बढी पिरलो थियो । सामान्य लुगामा चप्पल लगाएर बसपार्कसम्म बिदाइ गर्न आएका व्यक्तिलाई हामीले दुःख दिनुपर्यो भन्ने मनमनै सोचिरहेको थिएँ । दुलही डा.अपुशालाई त्यहीँबाट यी घटनाका बारे जानकारी गराएँ । ‘अंकललाई पुर्याइदिनू नत्र जहाज छुट्ला भोलिको’ प्रष्टै उनको बोली सुनियो खुशी हुँदै हुइँक्याए बझांगी सेतो गाडी भतिजले ।
अब हामी तीनजना गफिँदै चारलेनको त्यो चौडा र चिल्लो अमेरिकी सडकमा तीव्रगतिमा प्रस्थान गर्दैछौं । अघिल्लो दिन भिजेकी धरती यसदिन बिहानीपख धारामा नुहाएर निस्केकी युवती जस्तै सुन्दर र लजालु प्रकृतिकी देखिनुलाई मेरो साहित्यिक मनले स्वाभाविक सम्झ्यो । सडकका दायाँ किनाराका बैंसका रंगीविरंगी रूखहरू आआफ्नो रंगीन चेहरा देखाइरहेका थिए । ठट्यौली पारामा डा.विष्णु भन्दै थिए यी बिरुवाहरूले मौसमानुसार आफ्नो रूप फेरिरहेछन् अंकल । शरदकालीन घाममा यी बिरुवाहरूले हामीलाई पनि बिछट्टै मोहनी लगाउँछन । कुनै बिरुवाका पातहरू राता र कुनै बिरुवाका पातहरू पूरै पहेला, कुनै भने हरिया नै देखिन्छन् । यो घनघोर जंगलको विचित्रको रूप र यौवन देखेर लट्ठ नपर्ने को होला र ?
आखिर मानव जीवनसँग प्रकृतिको मिलन कति गहिरो रहेछ भन्ने सन्देश मौन अवस्थाका यी रूखहरूका भान्साले देखाइरहेका छन् नि होइन र अंकल ? पुलुक्क मेरो अनुहार हेर्दे मिठो हाँसोका साथ प्रत्यत्तर खोज्छन उनी । हुन पनि आकाश सफा हँुदैछ, न्यानो घामले त्यो रंगीन जंगललाई चुमिरहेछ, मौन भएर त्यो आकर्षक प्रकृति चुम्बन स्वीकारिरहेछ । हामी दर्शक बनेर सेतो सम्पत्ति (निजी कार)मा सवार भइरहेका छौं । गजबको संयोग मिलेको छ हामीलाई । गाडी छुटे त के भो ? यो मिलन त छुटेन नि, त्यो मनको हाँसो रंगीन अमेरिकी धरतीको सौन्दर्य नासो त छुटेन नि ।
दुई घण्टाको अवधिमा ठाउँठाउँमा चिटिक्क परेका घर, सिगारिएका बगैंचाको पनि दृश्यावलोकन गर्न गाह्रो भएन डा.भतिजसँगैको सिटमा बसेर जिन्दगीको रमिता मानिरहेको पंक्तिकारलाई । मनमनै सोचेँ र प्रश्न पनि गरेँ डा.विष्णु र नायक रवीन्द्र श्रेष्ठलाई अमेरिकी धरतीका यी रूखहरूले यस्तो अनौठो रूप किन फेरिरहेछन् होला ? हुन पनि देउडा गीत संकलनका क्रममा र ०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनताका आन्दोलन सफल पार्न नागरिकका बीचमा जाँदा धेरै जिल्लामा पुग्ने क्रममा आफ्नै देशको सुन्दर प्रकृतिको अवलोकन गर्ने पनि मौका पाएको थिएँ । खप्तड राष्ट्रिय निकुञ्ज, बझाङ तलकोटस्थित धेरै ठाउँका वनजंगलहरू, अछामको मार्खुको जंगलको दृश्य नदेखेको होइन ।
हाउडेको लेक, रानीमत्ताको जंगल, कञ्चनपुरस्थित लालझाणीको जंगल, कैलालीको सीमावर्ती क्षेत्रको दुदुवाको जंगल, डडेलधुराका घना जंगलको अवलोकन पनि नगरेको होइन । पूर्वको कुरा गर्दा धरतीकी रानी इलाममा पनि चियाबगानबाहेक यस्ता रातागाला भएका बिरुवाका पातहरू देखिँदैनन् । धनकुटामा पनि सुन्तलाको सुनौलो रंग फल्ने बिरुवामा पनि यस्तो रूप देखिँदैनन् । पोखराको सौन्दर्यलाई पनि अमेरिकी जंगलले हाँक दिइरहेको जस्तो लाग्यो तर मेरो देशको राष्ट्रिय चरो डाँफेले यी सबै सौन्दर्यलाई फिक्का पार्न सक्छ । जब नौरंगी डाँफे, मेरो देशको हिमाल, उच्च भागका घाँसेमैदान र हरियाली जंगलमा पँखेटा फिजाएर नाच्न थाल्छ तराईमा । मयूरले पनि पंख फिजाएर आफ्नो सक्कली रूप देखाउँछ । धन्य मातृभूमि नेपाल ।
यात्राको क्रमसँगै हामी जंगलको बीचमा रहेको रमणीय बस्ती कनेक्सनमा पुग्यौँ । जहाँ केही दिन पहिले बोस्टन आउने क्रममा नेपाली भान्साघरमा मिठो भोजन गरेका थियौँ । अर्जुन खड्का (दोलखा) ले नबिर्सने गरी नेपाली भोजन गराएर गुन लगाएका थिए । यसपटक पनि उहाँकै घरमा भोजन गर्यौँ । भोको पेट, दिनको १२ बजेको समय, भोजनप्रिय हामी तीन भाइलाई प्रिय अर्जुन खड्काले दिलै खोली भोजन गराए । घरको आँगनीमा काँक्रा फलेका छन्, फर्सी हाँसेका छन्, नेपाली शैली पूर्णरूपमा झल्किएको छ । देवीदेवताका तस्वीर पूजाकोठामा पूजित छन् । त्यसअघि हामी सिनेकर्मी अमृत लामा तामाङको घरमा पुग्यौँ ।
हाम्रो प्रतीक्षामा कुरेर बसेका रहेछन् फरासिला कलाकार तामाङ । घरभित्र बढेमानको बुद्धको मन्दिर छ, ध्वजापताकाहरू कोठामा सजिएका छन् । ध्यान गर्नु, शान्तिपूर्वक जीवन बिताउनु र नेपालमा बुद्ध भगवान जन्मेका हुन् भन्ने सन्देश अमेरिकाभरि फैलाउनु प्रमुख उद्देश्य हो भन्ने सिनेमा निर्माण गरिरहेका छन् लामो कपाल पालेका कलाकार तामाङ । भगवान् बुद्धको मन्दिर देखेपछि भतिज विष्णु त मन्दिरको छेउमा ध्यान गर्न बसिहाले । रवीन्द्र खड्का उनको ध्यान देखेर एकान्तमा सुनाउँदै थिए दाइ, तपाईको भतिज त साँच्चिकै प्रयोगवादी दार्शनिक चिन्तक पो रहेछन् । साथीहरूसँगको झण्डै ४५ मिनेटको मिठो मिलन र बसाइपछि धन्यवादसहित हामी अगाडि बढ्यौँ ।
यात्राको क्रममा अमेरिकी रमणीय दृश्यले छोडेन मलाई । कतै कतै चिटिक्क परेका घरहरू, बारीबगैंचा र धेरैजस्तो ठाउँमा रंगीविरंगी पातहरू नाचिरहेको दृश्य र घनाजंगलका एकनाशका रूखवृक्षहरू । सोधिन मैले भतिजलाई ती हाँसिरहेका बोटहरूका न्वारानका नाम । अमेरिकी न्वारानका नाम र नेपाली नाम पनि कहाँ मिल्छ र ? जात र बंश नै फरक छ, देशपिच्छे यी वायुप्रदायक रूखबिरुवाहरूको । एक प्रसंगमा भतिजलाई सोधेँ यो जंगलभित्र गुयाला, तीनमणा (चुत्रो), कालो ऐंसेलु पाकेको पाइन्छ ?
आफ्नो मुलुकको प्रधानमन्त्री आउँदा हामीले भव्यताका साथ स्वागत गर्नुपर्ने किन यस्तो विरोध गरेका हुन् ? मेरो जिज्ञासाको उत्तर दिँदै ‘कलाकार साहित्यकार इतिहासकर्मीलाई नेपाली नागरिकले साँच्चिकै हार्दिकता देखाउँछन् तर देशको गिर्दो अवस्था देखेर यी नेताहरूको मान, मर्यादा र हार्दिकता दिनै सकिँदैन भन्छन् यहाँ बस्ने तमाम नेपालीहरू’ ।
तीव्र गतिमा गाडी हाँकिरहेका डा.विष्णु जानकारी गराउँदै थिए । गुयाला, तीनमणा (चुत्रो) जस्तै बोट त पाउँछ अंकल । यहाँ रुखमा फलेको कुनै पनि फलफूल खाने चलन छैन । कारण रोग लाग्छ रे ? बजारको प्याक गरेको फलफूलमात्र खाने चलन छ भन्दै थिए । नागरिकप्रति अमेरिकी सरकारको कति ठूलो जिम्मेवारी रहेछ । केही दिन पहिले विष्णुको बस्ने कोठा नजिकै रहेको तलाउको छेउमा पाकेर लटरम्म भएको गुयालाको याद आयो । हामी काका भतिजले टिपेर रूखको चोखो फल खाइरहँदा अमेरिकनहरू हामीलाई हेर्दै थिए ।
अब हामी न्यूयोर्कको छेउछाउ पुग्दै छौं अंकल भनी जानकारी गराउँदै थिए । अघिल्लो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्क आएका थिए । दुवैको विरोधका लागि कालो झण्डासमेत देखाउने तयारी गरेको पाइयो न्यूयोर्कमा बस्ने युवाहरूद्वारा । डा.आरजुलाई भन्दा केपीको चर्को विरोध भएको हो भनी जानकारी गराउँदै थिए डा.विष्णु जोशी । यो प्रवृत्ति मलाई त ठीक लागेन । आफ्नो मुलुकको प्रधानमन्त्री आउँदा हामीले भव्यताका साथ स्वागत गर्नुपर्ने किन यस्तो पारा देखाएका हुन् ? मेरो जिज्ञासाको उत्तर दिँदै ‘कलाकार साहित्यकार इतिहासकर्मीलाई नेपाली नागरिकले साँच्चिकै हार्दिकता देखाउँछन् तर देशको गिर्दो अवस्था देखेर यी नेताहरूको मान मर्यादा र हार्दिकता दिनै सकिँदैन भन्छन् यहाँ बस्ने तमाम नेपाली’ ।
यो उनीहरूको अव्यक्त पीडा हो । बाहिर देखेजस्तो रमाइलो जिन्दगी छैन अंकल यहाँ बस्ने अधिकांश नेपालीहरूको जिन्दगी । प्रत्येकले आफ्ना दुःखका कथा लुकाएर बसेका छन् नेपाली । गोराहरूका नजरमा हामी त काला कारिन्दा हौं । यिनीहरूको हेपाइ खाएर डलरको लोभ मानी मानी संघर्षपूर्ण जिन्दगी बिताइरहेका छन् धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू अंकल भनी पीडाभित्रको पीडा सुनाउँदै थिए भतिज डा. विष्णु जोशी । तर, मैले बुझेअनुसार डा. विष्णुको जागिर त मान, प्रतिष्ठा र सम्मानका लागि रहेछ । रसायनशास्त्रका अब्बल दर्जाका वैज्ञानिक व्यक्ति हुन् डा.भतिज । यस्तो व्यक्तिलाई पाउँदा म त भाग्यमानीको पंक्तिमा पर्दछु ।
न्यूयोर्कका अग्लाअग्ला भवन देखिन थाले । पहेँलो घाम कराला लाग्न (घाम डुब्न) थालिसक्यो । अघिको भन्दा सडक व्यस्त देखिन्छन् । चौडा सडकमा नियमानुसार गाडीलाई छिचोल्दै छन् डा.विष्णु । शहरको बीच भागबाट हामी अघि बढिरहेका छौँ, सुदूरपश्चिम समाज न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टको घर पुग्न । सिपालु व्यक्ति नभइकन देब्रे साइडबाट हाँक्नुपर्ने गाडीमा ड्राइभर बस्नु मुस्किल छ । एकैछिनमा हामी दानसिंह विष्टको घर आइपुग्यौं, जहाँ दानसिंह विष्टका पितामाता सोह्रश्राद्धको सप्तमी तिथिका लागि एकछाके पवित्र भोजन गर्दै थिए ।
दानसिंहले आफैंले बोकेर मेरो लगेज सुत्ने कोठामा राखे । भोकाएका भतिजले पनि भोजन गरे । पारिलो घाममा हामी सबैले बिदाइका तस्वीर खिच्यौं । स्थानीय समयानुसार अपराहृन ५ः०० बजिसकेको थियो । सेतो बझांगी गर्भिलो गाडीमा निकै ठूलो गुन लगाएर न्यूयोर्कबाट पुनः विष्णु बोस्टन फर्के । म बिदाइका हातहरूले ‘शुभयात्रा बाबु’ भन्दै उनी चढेको गाडीलाई बाईबाई गरिरहेको थिएँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच