काठमाडौं । संसदीय राजनीतिमा मूलतः दुई पक्ष हुन्छन्, एउटा सरकार समर्थक र अर्को विरोधी वा प्रतिपक्ष । कुनै दल तटस्थसम्म बस्न सक्छन्, तर त्यो धेरै लामो जाँदैन । सत्तापक्षीय दलहरूले सरकारको समर्थन विपक्षीहरूले विरोध गर्नु उनीहरूको राजनीतिक धर्मजस्तै हो । अहिले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकार छ । दुई तिहाइको बलियो सरकारमा लोसपा र जनमतलगायत केही साना पार्टी पनि टाँसिएका छन् । अनि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित रास्वपा, राप्रपालगायत दलहरू विपक्षमा छन् । सरकारको सय दिन पुगेको अवसरमा समर्थन र विरोधका समान स्वरहरू सुनिरहेका छन् । तर, केही सत्तारूढ दलकै माथिल्लो तहका नेताले समेत सरकारको खुलेर समर्थन गरेका छैनन् । उनीहरूले सरकारको समर्थनभन्दा आलोचना बढी गरिरहेका छन् । त्यसैमध्येका एक हुनुहुन्छ, कांग्रेस नेता डा. शेखर कोइराला । कांग्रेसमा इतर समूहको नेतृत्व गर्नुभएका कोइराला सत्तापक्ष भित्रकै प्रतिपक्षी हुनुहुन्छ । उसो त उहाँ पार्टी भित्रकै पनि प्रतिपक्षी हो । सरकारले लक्ष्यअनुसार काम गर्न नसकेको उहाँको टिप्पणी छ । राजनीतिक स्थायित्व र आर्थिक सुधारको लागि एमालेसँग मिले पनि अहिलेसम्म त्यस्तो अनुभूति गर्न नपाएको उहाँले टिप्पणी गर्नुभयो । शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै उहाँले सरकार फरक बाटोमा हिँड्न खोजेको आशंकासमेत गर्नुभयो । ‘सरकार फरक ढंगले हिँड्न खोजेको हो कि ? भन्ने लाग्छ । हामीले सरकारलाई गतत बाटोमा हिँड्न खोज्दै छौ भनेर सचेत गराइराख्नु पर्छ,’ उहाँले भन्नुभयो ।
मूलतः सरकारले अघि बढाउन खोजेका तीनवटा विषयमा उहाँले असन्तुष्टि जनाउनुभएको छ । कुलमान घिसिङलाई हटाउने प्रयास, राजनीतिक दलसम्बन्धी अध्यादेश र उपसभामुख प्रकरणलाई लिएर उहाँले असन्तुष्टि जनाउनुभएको हो । उद्योगीसँग बक्यौता उठाउनुपर्नेमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । ‘अहिले कुलमानको इस्युमा सरकार अघि बढेको छ । अर्बौँको बक्यौताको कुरा छ । ऋण लिएर देश चलिरहेको छ र सरकार भन्छ तिमी अहिले बक्यौता नलेऊ बक्यौता लिएन भने देश चल्छ कसरी ?’ उहाँले प्रश्न गर्नुभयो । त्यसैगरी, उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा पनि उहाँले असहमति जनाउनुभयो । ‘इन्दिरा राना उपसभामुख हुनुहुन्छ । उहाँको कमी कमजोरी छैन भन्दिनँ । तर, यस्तो कमी कमजोरी पनि होइन, कि उहाँलाई पदबाटै हटाइदिनुपर्छ ।’
त्यस्तै, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएकोमा समेत उहाँले असन्तुष्टि जनाउनुभयो । ‘अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ । राम्ररी काम गरेर अघि बढ्नु नि । भर्खर सय दिन भएको छ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर के गर्न खोज्नुभएको छ ? किन चाहियो ? यस्ता इस्युहरूले हामीलाई चिन्तित तुल्याइरहेको छ ।’ उहाँले सरकारका कामप्रति असन्तुष्टि जनाएको यो पहिलोपटक भने होइन । सय दिन नपुग्दै उहाँले सरकारका काम सन्तुष्ट हुने खालका नभएको बताउनुभएको थियो ।सय दिन पुग्नै लाग्दा उहाँले सरकारका कामले जनतामा आशा जगाउन नसकेको टिप्पणी गर्नुभएको थियो ।
एमालेसँग सत्ता सहकार्य गरे पनि कांग्रेसले मुख्य प्रतिस्पर्धी भुल्न नहुने उहाँले स्मरण गर्नुभयो । ‘हाम्रो प्रतिस्पर्धी एमाले हो । सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । सरकारमा पनि छौँ । गाह्रो यहाँ छ । सरकारमा बसेकाहरूले सहकार्य गरून् । हामी बाहिर भएकाले प्रतिस्पर्धीको रुल पनि खेल्नुपर्ने हुन्छ । होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ । यो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ ।’
तर, यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले भने सरकारको एक सय दिनको कामप्रति आफ्नो पार्टी सन्तुष्ट रहेको बताउनुभएको थियो । सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ थियो । ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । गति पनि लिएको छ,’ उहाँले भन्नुभएको थियो ।
गत असार १७ गते संसद्का प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको आधारमा असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्दै लक्ष्यको ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको थियो । यता, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र सहितका विपक्षी दलहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र जनजीविकाको सवालमा सरकार पूर्ण असफल भएको टिप्पणी गरिरहेका छन् ।
सरकारले सय दिनमा लक्ष्य अनुसारको काम गर्न सकेन : डा. कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीलाई अहिले सरकार ढल्ने चिन्ता मात्रै रहेको उहाँले उल्लेख गर्नुभयो । सरकार ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने उहाँको जिकिर थियो । ‘दुई तिहाइको सरकार छ । कांग्रेसले सहयोग गरिरहेको छ । अनि सरकार कसरी ढल्छ ? कसले ढाल्ने ? सरकारले ढल्ने कुरा गरेर भुलभुलैयामा पार्ने प्रयास भइरहेको छ । यो चिन्ताको विषय हो । यो सरकार ढले अस्थिरता निम्तिन्छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेस सरकार ढाल्न चाहँदैन । यसले देशलाई अगाडि बढाउन, आर्थिक विकास र सुशासनमा बाधा पुगिरहेको छ । यसलाई कांग्रेसले गम्भीर रूपमा लिएको छ । हामी यो सरकार आगामी चुनावसम्म जाओस् भन्ने चाहन्छौँ ।’
राजनीतिक स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाएको कोइरालाले बताउनुभयो । दुई दलको सहमतिअनुसार दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनुभयो । ‘उहाँहरू बीचको सहमतिअनुसार दुई वर्ष ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो,’ उहाँले भन्नुभयो । चुनावी गठबन्धन रणनीतिक हुने भए पनि अहिलेदेखि नै एक्लै लड्ने तयारी गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कांग्रेस-एमालेले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले डेमोक्रेसी, देश र जनताको लागि काम गर्न कांग्रेस र एमाले मिलेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई पार्टी आ-आफ्नो प्रतिबद्धतामा स्पष्ट रहेको बताउनुभयो । एमाले र कांग्रेसले लोकतन्त्रलाई मर्न नदिने उहाँको भनाइ थियो । लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको उहाँले दाबी गर्नुभयो । ‘कांग्रेस र एमाले नेपालको राजनीतिक र परिवर्तन साकार पार्न लड्न सदैव अग्रणी र असाधारण योगदान गरेका पार्टी हुन् । यी दुई पार्टीले डेमोक्रेसी मर्न दिँदैनन्,’ उहाँले भन्नुभयो, ‘डेमोक्रेसी, देश, जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो ।’ सरकारले कसैलाई भोकै पर्न र मर्न पनि नदिने उहाँले बताउनुभयो ।
सुशासन अभियान रोक्न कोशिस गर्नेहरू सफल हुँदैनन् : मन्त्री गुरुङ
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । एमाले बेँसीसहर नगरपालिका-८ ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बाढी पहिरोपीडित, सहकारीपीडित, कृषक, व्यवसायी, निर्माण व्यवसायीलगायत सबैलाई सहयोग पुग्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो । सरकार सुशासनमा दृढताका साथ अघि बढेको भन्दै रोक्न कोशिस गर्नेहरूको अभियान सफल नहुने उहाँले दाबी गर्नुभयो । दोषी प्रमाणित भए जोकोहीले सजाय भोग्न तयार हुनुपर्ने उहाँले प्रष्ट पार्नुभयो । सहकारी ठगीसम्बन्धी छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने प्रष्ट बटमलाइन रहेको उहाँले सुनाउनुभयो । ‘सहकारी ठगीमा सत्तापक्ष र विपक्षी भन्ने हेरिन्न, छानविनको दायरामा परेका सबैमाथि अनुसन्धान अघि बढ्छ, सडकमा जतिसुकै भिड देखाए पनि केही हुनेवाला छैन,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच