सडक र मानवको अन्तरसम्बन्धमा प्रवेश गर्ने विषय आफैँमा जटिल छ । जन्मनको लागि जन्मनुपूर्व अस्पतालसम्म र मृत्युपछि घाटसम्म लान पनि सडक आवश्यक पर्ने भएकोले सडक र मानवबीचको अन्तरसम्बन्ध अवर्णनीय छ । जीवन र सडकलाई पर्यायवाची भन्दा पनि अत्युक्ति हुँदैन । जहाँ जीवन छ त्यहाँ सडक छ । जहाँ सडक छ त्यहाँ मात्र जीवन छ । अझ स्पष्ट भन्नुपर्दा जहाँ गुणस्तरीय सडक छ त्यहाँ मात्र गुणस्तरीय जीवनका सम्भावनाहरू सुनिश्चित हुन्छन् । त्यसैले सडकको निर्माण मात्रै होइन गुणस्तरीय सडकको विषय महत्वपूर्ण हुन्छ ।
संसारका अविकसित देशहरूमा बनेका सडक प्रायः गुणस्तरहीन भएकोले त्यहाँका जनताको जीवन र गतिविधिहरू समेत गुणस्तरहीन छन् । सायद नेपाल संसारकै गुणस्तरहीन सडक भएको देशमा पर्छ । सडकको गएगुज्रेको गुणस्तर नै नेपाल र नेपालीको मुख्य दुर्भाग्य हो । गुणस्तरहीन सडक विकास र समृद्धिको प्रमुख शत्रु हो । विकास र समृद्धि मात्रै होइन जनताको गुणस्तरीय जीवनको परिकल्पनासम्म गर्न पनि सडकको गुणस्तरीयता न्यूनतम् शर्त हो । त्यसैले देशको विकास र नागरिकको उत्थानको मुख्य आधार गुणस्तरीय सडक भएकोले विकासको एकमात्र भरपर्दो आधार नै गुणस्तरीय सडक हो । के नेपालका सडकहरू गुणस्तरीय छन् ? किमार्थ छैनन् । त्यसैले नेपालीहरूको जीवन पनि गुणस्तरीय छैन ।
अहिले नेपालमा प्रमुख उपेक्षित क्षेत्रहरू मध्ये सडक पनि पर्छ । देशभरका कुनै पनि सडकहरू सवारीसाधनका लागि उपयुक्त छैनन् । प्रायः सबै सडकहरू सडकका नाममा कलंक हुन् । यी सडक नभएर मानिसका लागि मृत्युको पासो वा सोसरह हुन् । काम, व्यवहार, लेनदेन, व्यापार, जागिर, कृषि, धार्मिक क्षेत्रका अतिरिक्त जन्मन तरखरमा रहेकादेखि मृत्यु वरण गर्नेहरूका लागि सडकको आवश्यकता र महत्व उत्तिकै हुन्छ । सडकको दुरावस्थाको सिकार सिङ्गो समाज र देश हुन्छ । त्यसैले संसारका विकसित देशहरूले सडकलाई विशेष प्राथमिकता दिएका कारण ती देशहरूको सडक यातायात कष्टकर नभएर आनन्ददायी छ ।
अहिले उच्च पदस्थहरूले सडकमार्ग कम प्रयोग गर्छन् । गरिहाले भने पनि खाल्डाखुल्डीहरू नै थाहा नपाउने विलासी सवारीसाधन चढ्ने भएकोले उनीहरूलाई सडकको कष्टको के चासो ? कालोपत्रे भनिएको सडकमा पनि निर्धक्क गाडी हाँक्न पाइँदैन ।
यो वर्षको दशैंको टीकाका लागि हाम्रो चितवन जाने कार्यक्रम पूर्वनिर्धारित थियो । दशैँको टीकापछि काम विशेषले धनगढीको बाटो हुँदै कञ्चनपुरको पुनर्वास नगरपालिकासम्म जाने पूर्वनिर्धारित कार्यक्रमका साथ हामी आफ्नै सवारी साधनमा नवमीको दिन बिहानै काठमाडौंबाट चितवनतिर लाग्यौँ । काठमाडौंको नागढुङ्गाबाट जब गाडी ओरालो लाग्यो सडकका खाल्डाखुल्डी मात्रै होन ठाउँ ठाउँका भडखालाहरूले कार हाँक्ने विषय मृत्युसँग पौँठेजोरी खेले जस्तै अनुभव हुन्थ्यो । सडकका खाल्डाखुल्डी जोगाउने उपाय नहुँदा नहुँदै पनि चालकले कोसिस जारी राख्नु उसको धर्म हो । तर गाडी खाल्डाखुल्डीमा जाकिनुको विकल्प नभए जस्तै सरकारप्रति रुष्ट हुनुबाहेक अर्को विकल्प चालकसँग हुँदैन ।
मैले सवारीसाधनहरूलाई तीन वर्गमा वर्गीकरण गरेको छु । साहुको, बाउको र आफ्नो । साहुको वा सरकारको गाडी हाँक्ने र यात्रा गर्नेलाई बाटोका खाल्डाखुल्डीको त्यति परबाह हुँदैन । बाउको गाडी हाक्नेले पनि तुलनात्मक रूपमा कम परवाह गर्छ । जसले आफ्नो गाडी आफैँ हाँक्छ प्रत्येक खाल्डाखुल्डीमा मन चस्कन्छ । गाडी खरिद गर्दा संसारकै चर्को धन्नै ३०० प्रतिशत भन्सार महसुल तिर्न बाध्य पार्ने । भारतीयहरूले खरिद गर्दा एकपटक तिरे हुने सडक करलाई हामी वर्षैपिच्छे चर्को सडक कर बुझाउन बाध्य छौँ ।
त्यस अतिरिक्त चर्को बिमाशुल्क पनि असुलिन्छ । अब यसरी चर्को शुल्कहरू असुल्ने सरकारले ती सवारीसाधनहरू गुड्ने सडक पनि गुणस्तरीय उपलब्ध गराउन पर्ने कि नपर्ने ? सुधारका लागि पनि हडताल नै गर्नुपर्ने ? नेपाललाई नै राजधानी काठमाडौंसँग जोड्ने एकमात्र राजमार्गको हविगत र दुर्दशा देख्दा यो देशमा सरकार नै नभएको अनुभूति भयो । अझ दुर्गममा सडकको हालत कस्तो होला ? खाल्डाखुल्डीको उपचार सम्भव छ । उपचार गर्ने चाहना नै नभएकोले जनताको दुर्दशा हुनु अनौठो होइन । नेपाल सरकार कर थप्न र लापरबाही गर्न ब्यस्त हुँदा जनताको सुख जताततै सरकारबाटै लुटिन्छ ।
अहिले उच्च पदस्थहरूले सडक मार्ग कम प्रयोग गर्छन् । गरिहाले भने पनि खाल्डाखुल्डीहरू नै थाहा नपाउने विलासी सवारीसाधन चढ्ने भएकोले उनीहरूलाई सडकको कष्टको के चासो ? फेरि कालोपत्रे भनिएको सडकमा पनि निर्धक्क गाडी हाँक्न पाइँदैन । चालकको जिम्मेवारी निर्वाह गर्दैगर्दाको अवधि भनेको आफ्नै मलाम आफैँ गएको अनुभूति हुने अवस्थाको चित्रण गर्नुपर्ने दुर्भाग्यको कारण भनेको कर्तव्यप्रति पूर्णतः गैरजिम्मेवार, गैरजवाफदेही र अनुत्तरदायी सरकार हो । प्रधानमन्त्रीजीले सय दिनको मूल्यांकनमा साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्ने उखान चरितार्थ गर्नुभयो ।
यस्तो सडकमा गाडीहरू सुचारु छन् भन्ने प्रधानमन्त्रीको सयदिने उपलब्धिको वक्तव्यप्रति घोर आपत्ति गर्नुपर्ने अवस्था छ । यस्तो दुर्घटना र दुर्दशाको भुमरीमा जाक्ने सरकारको विरोधमा जनता सडकमा आउनुपर्ने अवस्थालाई समयमा नै सरकारले रोक्न सकेन भने उसलाई पछुताउनेसम्म समय पनि मिल्ने छैन ।
अहिलेका सरकारका लक्षहरू भनेको विरोधीलाई दमन र आफ्नो झुठो प्रशंसा गर्नु हो । जनजीविकाको उत्थानसम्बन्धी लक्ष नै नभएको सरकारले सत्तरी प्रतिशत उपलब्धि देख्नु र भन्नु नै जनतालाई उल्लु बनाउने रणनीति हो । प्रधानमन्त्रीजी तपाईं काठमाडौंबाट नागढुङ्गा, खानीखोला हुँदै मुग्लिनसम्म र नारायणगढबाट बुटवलसम्म विलासी गाडीमा होइन जनताले प्रयोग गर्ने सवारीसाधनमा यात्रा गर्नुहोस् । तपाईं लगायत अहिलेसम्मका सरकारहरू कति असफल छन् कसैले भन्न पर्दैन सडकले नै भन्छ । हेलिकप्टरमा हिँड्नेहरूले सडकको बेदना बुझ्दैनन् ।
नारायणगढ-बुटवल खण्डको बिग्रिएको सडकको समाधान कहिले ? सडकको खाल्डाखुल्डीहरूको स्थलगत अवलोकन र त्यसको उचित रेखदेख र मर्मत गर्ने छुट्टै निकायलाई जिम्मेवारी दिऊँ । समाधान किन निस्कँदैन ? फेरि सडकको अर्को समस्या भनेको सडक निर्माणमा गुणस्तरीयताको विषयमा निगरानी नहुनु पनि हो । ठेकेदार र सरकारका जिम्मेवारहरू बीचको अवैध सम्बन्ध अर्को प्रमुख रोग छ । सडकहरूको यस्तो दुर्दशा भएको अवस्थामा सय दिनको सरकारको उपलब्धि ७० प्रतिशत भयो भन्दा प्रधानमन्त्रीजीसँग लाज नामको वस्तु नभएको प्रमाणित भएन ?
ठेक्काको अवधि समाप्त भएर दुईपटक म्याद थप्दा पनि नारायणगढ-बुटवल खण्डको सडकको सुधार र विस्तारको काम ५१ प्रतिशत मात्र भएको जानकारीले सरकार पूर्णतः असफल भएको प्रमाणित हुन्छ । बाटो ठेक्का दिँदा कमिसन कुनले धेरै दिन्छ भन्ने जिम्मेवारहरूको सोच र कार्यशैली नै हाम्रो दुर्भाग्यका कारणहरू हुन् । प्रधानमन्त्री र मन्त्रीहरू नै जनतामैत्री नभएर ठेकेदार मैत्री हुँदा सडक मात्रै हैन सबै क्षेत्रहरू समस्या ग्रस्त छन् । सडकको ठेक्का एकजना ठेकदारलाई दस/पन्ध्र किलोमिटरको दरले दिने व्यवस्था गर्दा पनि छिटो सम्पन्न हुनसक्छ । सडकका कारण नेपालीहरू मात्रै अभागी नभएर नेपाल भित्रिने सवारीसाधनहरू समेत अभागी भएको अनुभूति अर्को आश्चर्य भन्नुपर्छ ।
सांसदहरूको यथोचित ध्यान गएको भए सडकको यस्तो चौतर्फी दुर्दशा नेपालीहरूले भोग्नुपर्ने थिएन कि ? सडकलाई जुन देशले चुस्त दुरुस्त राख्न सक्दैन त्यो देशले विकास र समृद्धि शब्दको उच्चारणसम्म गर्ने हक हुँदैन । प्रधानमन्त्रीजी सडकको सुधार अघि विकास र समृद्धिको उच्चारण गर्ने हक तपाईंसँग पनि छैन । बाँके र बर्दियाका आरक्षहरूमा सडकको अवस्था राम्रो छ तर देशकै महत्वपूर्ण राजमार्गमा सवारीसाधनहरू ४० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा गुड्न नदिने सैनिकहरूको नियमले त्यो क्षेत्रमा आवागमन गर्नेहरू निराश हुन्छन् । मुख्य राजमार्गमा यसरी गति सीमित गर्ने विषय वास्तवमा अव्यावहारिक विषय हुन् ।
यसबारे सम्बन्धित पक्षले अविलम्ब पुनर्विचार गरोस् । धनगढी हुँदै कञ्चनपुरको पुनर्वास क्षेत्र जाने क्रममा धनगढी उपमहानगर पालिकाका सडक लगायत अन्य संरचनाहरूको विकासमा र व्यवस्थापनमा गोपी हमालको भूमिकालाई नियाल्ने अवसर मिल्यो । एकजना मेयरले घुस नखाईकन काम ग¥यो भने विकासका कामहरू हुनसक्छन् भन्ने उदाहरणीय कामका लागि गोपी हमललाई धन्यवाद दिनुपर्छ । हिजोका मेयरहरूले नगरपालिकाको बजेटलाई कति दुरुपयोग गरेका रहेछन् भन्ने प्रमाण स्थापित गर्न नगरको बाटो, बिजुली र अन्य नवनिर्मित संरचनाहरूले हमालको सफलतालाई सार्वजनिक गरेको अनुभूति भयो ।
देशभरका जनप्रतिनिधिहरूका लागि वास्तवमा हमालको इमानदार प्रयास अनुकरणीय र उदाहरणीय छ । फर्कदा दुबै आरक्षहरूको तीतो अनुभव फेरि दोहोरियो । जब बुटवल नारायणगढ सडकखण्डमा आयौँ सडकमा त्यसभन्दा कष्टकर यात्रा अन्यत्र कतै नभएको अनुभूति अझै थपियो । नारायणगढ–मुग्लिन खण्डको सडकको ढुङ्गा र पहिरोको त्रास पछि अब मुग्लिनमा प्रवेश गरेपछि फेरि खाल्डाखुल्डीको संसारमा प्रवेश भयो । अझै खानीखोला पछिको सडक यात्रालाई भने चालक र यात्रुहरू आफ्नै मलाम आफै जादै गरिको अनुभूति हुने परिस्थिति फेरि दोहोरियो ।
यस्तो सडकमा गाडीहरू सुचारु छन् भन्ने प्रधानमन्त्रीको सय दिने उपलब्धिको वक्तव्यप्रति घोर आपत्ति गर्नुपर्ने अवस्था छ । यस्तो दुर्घटना र दुर्दशाको भुमरीमा जाक्ने सरकारको विरोधमा जनता सडकमा आउनुपर्ने अवस्थालाई समयमा नै सरकारले रोक्न सकेन भने उसलाई बंगलादेशकी शेख हसिनालाई जस्तै पछुताउनेसम्म समय पनि मिल्ने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच