काठमाडौं । कात्तिक आधा सकिनै लाग्दा काठमाडौं उपत्यकामा चिसो बढिरहेको छ । दिउँसो हल्का गर्मी महसुस भए पनि साँझ–बिहान घरबाहिर निस्किँदा बाक्लो लुगा आवश्यक पर्छ । तर, जाडो होस् कि गर्मी, पानी परोस् कि धुलो उडोस् काठमाडौंको माइतीघरमा महिलाहरूको एउटा समूह अनवरत आन्दोलनमा छ । तराजुको पृष्ठभूमिमा नेपालगञ्जकै निर्मला कुर्मीको न्यायका लागि अनशनरत महिला अधिकारकर्मीहरू दैनिक बसिरहेका भेटिन्छन् । उनीहरू हिजो, आज वा एक/सातादेखि बसेका होइनन् । बर्खा छँदै माइतीघरमा आएका रुबी खानसहितका महिला अधिकारकर्मीहरू करिब तीन महिनादेखि न्याय मागिरहेका छन् । तर, निर्मलालाई न्याय माग्दै उनीहरू आन्दोलनमा होमिएको ८१ दिन हुँदासम्म सरकारले सुनेको नसुन्यै गरेको छ । यसअघि पनि बारम्बार आन्दोलन गरिसकेका उनीहरू निर्मलालाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने बताउँछन् । बरु आन्दोलनको स्वरूप बदलेर अझ कडा रूपमा प्रस्तुत हुने उनीहरूको तयारी छ । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानलाई लिएर सरकारले आन्दोलनकारीसँग चारपटक वार्ता र सहमति गरिसकेको छ । तर, उनीहरूको माग भने अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।
हत्याका मुख्य आरोपी नेपालगञ्ज-१७ का बादशाह कुर्मी कांग्रेस नेता हुनुहुन्छ । गत प्रदेशसभा निर्वाचनमा लुम्बिनीबाट प्रत्यक्ष निर्वाचित उहाँलाई कांग्रेसले गत ९ साउनमा प्रदेश मन्त्रीसमेत बनाएको थियो । तर, सर्वत्र विरोधपछि कांग्रेसले उहाँलाई मन्त्रीबाट राजीनामा गराएको थियो । मुख्य आरोपीलाई राज्यको उच्च पदमा नियुक्त गरेपछि त्यसको विरोधमा अधिकारकर्मी रुबीसहितको टोलीले २५ साउनदेखि माइतीघर मण्डलामा अनशन थालेको थियो ।
निर्मलाको मृत्यु प्रकरण र सम्पत्ति हिनामिनाको अनुसन्धानपछि मुख्य अभियुक्त बादशाहविरुद्ध पाँच कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरी अनुसन्धान प्रतिवेदनले निकालेको थियो । प्रहरीले डेढ वर्षअघि नै बादशाहविरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
२५ माघ ०७५ को राति अचानक बेपत्ता हुनुभएकी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७, परस्पुरकी निर्मला कुर्मीको अपहरणपछि हत्या भएको पुष्टि १४ पुस २०७७ मा भएको थियो । आन्दोलनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले घटनाको अनुसन्धान गरेर प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । मुद्दा दर्ता गर्न भन्दै प्रधान कार्यालयले त्यतिबेलै जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रतिवेदन पठाउन पनि अझै सरकारी वकिलको कार्यालयमा भने पेस हुन सकेको छैन । यसैगरी, गृह मन्त्रालयले बनाएको छानविन समितिले पनि कांग्रेसबाट प्रदेश सभामा निर्वाचित सांसद् बादशाह कुर्मीलाई शंकास्पद मान्दै थप अनुसन्धान हुनुपर्ने भनेको थियो । तर, प्रहरीले यो मामिलामा लामो समयदेखि अनुसन्धान गरिरहेको बताए पनि अदालतमा मुद्दा पुगेको छैन ।
निर्मलाका श्रीमान् महलु कुर्मीको ०६२ मा रहस्यमय मृत्यु भएको थियो । त्यसपछि निर्मला दुई छोरासँगै बस्दै आउनुभएको थियो । ०६६ मंसिरमा १० दिनको अन्तरमा ती दुवै छोराको पनि रहस्यमय मृत्यु भएको थियो । पुख्र्यौली चार बिघा १० कठ्ठा जग्गा मृतक श्रीमान् महलु र जेठो छोरा रामसागरको नाममा थियो । शोककै बेला बादशाह निर्मलाको घर आएर जग्गाको लालपुर्जा मात्र होइन, उनीहरूको नागरिकतासमेत कब्जामा लिनुभएको थियो । बादशाह निर्मलाको छिमेकी हुनुहुन्थ्यो ।
जग्गा हडप्ने उद्देश्यले लालपुर्जा र नागरिकता लिएको विषयलाई स्थानीयले घोर विरोध गरेका थिए । दबाबमा रहनुभएका बादशाहले कब्जामा लिइएको लालपुर्जा र नागरिकता जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाउनुभएको थियो । श्रीमान् गुमाएको चार वर्षपछि उहाँले २०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाले आफ्ना १४ र १८ वर्षका दुई छोरा रामसागर र सुरेश गुमाउनुभएको थियो । दुई छोरा र श्रीमान् गुमाएर शोकाकुल निर्मलामाथि अनि अत्याचार सुरु भयो । उहाँलाई बन्धक बनाएर कुटपिट गर्न थालियो । निर्मलाको नागरिकता, श्रीमान् र छोराको मृत्युदर्ताको प्रमाणपत्र, घरजग्गाका कागजात खोसिए । २०७५ मा निर्मलालाई बेपत्ता पारियो । सीमापारि भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको भनियो । तर, उहाँको शव अझै फेला परेको छैन । त्यसपछि निर्मलाको साढे चार बिघा जमिन विभिन्न व्यक्तिका नाममा पुगेको थियो । निर्मलाका पति र छोराहरूको नाममा साढे चार बिघा जग्गा थियो । निर्मला बेपत्ता भएपछि २५ माघ २०७५ मा प्रहरीमा उजुरीसमेत परेको थियो ।
आन्दोलनको स्वरूप परिवर्तन, कांग्रेस कार्यालय अगाडि प्रदर्शन
निर्मला कुर्मीको अपहरण र हत्या प्रकरणमा शान्तिपूर्ण आन्दोलन गरिरहेका रुबी खानसहित आन्दोलनकारीहरूले स्वरूप फेर्ने चेतावनी दिएका छन् । काठमाडौंको माइतीघरमा ८१ दिनदेखि शान्तिपूर्ण रूपमा न्याय माग्दा सरकारले नसुनेको भन्दै उनीहरूले आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएका हुन् । आन्दोलनको नेतृत्व गरिरहनु भएकी महिला अधिकार मञ्चकी अध्यक्ष खानले काठमाडौंको माइतीघरमा चलिरहेको धर्नालाई निरन्तरता दिँदै थप कडा कदम चालिने बताउनुभयो । ‘सरकारको सय दिनको उपलब्धिमा हाम्रो ८० दिनको पीडा सम्बोधन भएन । यसलाई निरन्तरता दिन न्यायका लागि हामी आन्दोलनकारीहरू सरकार खोज्न वर्तमान र भूतपूर्व प्रधानमन्त्रीहरूको निवासमा र्याली र धर्ना दिन्छौँ,’ उहाँले भन्नुभयो ।
आन्दोलनकारीहरूले वर्तमान र तत्कालीन उपप्रधानमन्त्री र मन्त्रीको निवासमा समेत र्याली र धर्ना दिने उहाँले बताउनुभयो । यति गर्दा पनि सरकारले नसुने माइतीघर मण्डलामा रिले अनशन बस्ने उहाँले चेतावनी दिनुभयो । आन्दोलनकारीहरूले निर्मलाको हत्यासम्बन्धी मुद्दा तत्काल अदालतमा दायर गर्नुपर्ने मागसहित गत साउन २५ गतेदेखि आन्दोलनमा छन् । निर्मलाको हत्याका आरोपितहरूलाई हाजिरी जमानीमा छाडिएको र मुद्दा अदालत दायर गर्न सरकारसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरू शान्तिपूर्ण आन्दोलनमा छन् ।
आन्दोलनको स्वरूप परिवर्तन गरेका रुबी खान नेतृत्वको समूहले सत्तारूढ नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ । खानसहितका महिला अधिकारहरूले कांग्रेसको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि उनीहरूले ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
निर्मलालाई न्याय नदिलाएसम्म आन्दोलन जारी रहन्छ : रुबी खान
आन्दोलनरत रुबी खानले निर्मलाले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको छ । माइतीघर मण्डलामा ८१ दिनदेखि आन्दोलनरत उहाँले निर्मलालाई न्याय नदिलाएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । आफूहरूले सिआइबीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्न भन्दा पनि सरकारले नसुनेकोमा अचम्म लागेको बताउनुभयो । ‘सरकारसँग हाम्रो एउटै माग छ– सिआइबीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस होस् । तर, सरकारले हालसम्म पनि सुनेको छैन । हामीले कानुन कार्यान्वयन होस् भन्न मात्रै चाहेका हौँ । राज्यले किन सुनिरहेको छैन, हामी अचम्ममा परेका छौँ,’ उहाँले भन्नुभयो, ‘तर, निर्मलालाई न्याय नदिलाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच