कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीको पिपलचोक टोल विकास समितिले सरसफाइमा उदाहरणीय काम गरेको छ । टोल विकास समितिले एक किलोमिटर कालोपत्र सडकको दुबै किनारमा सयपत्री फूल फुलाएको हो ।
टोल विकास समितिले सरसफाइसँगै सौन्दर्य कायम राख्न सडक किनारमा फूल रोपेको छ । असार/साउनमा रोपिएका फूल अहिले सडक किनारभरी ढकमक्क फुलेका छन्। टोलबासीले फूल रोपेर नियमित गोठमेल र रेखदेख गरेका कारण अहिले पूरै टोल फूलहरूको सौन्दर्यले सिँगारिएको छ ।
सडक किनारमा सयपत्री, सुपारी, मखमली र तुलसी रोपेर पूरै बस्तीमा सुन्दरता ल्याउने काम भएको छ । धनगढी उपमहानगरपालिका–६ जालीको पिपलचोक टोल विकास समितिले टोलको मुख्य सडकको दुबै तर्फ सयपत्री, मखमली, सुपारी र तुलसी हुर्काएको छ । करिब एक किलोमिटर मुख्य सडकमा लगाइएको फूल अहिले ढकमक्क फुलेको छ । जसका कारण पिपलचोक टोल अहिले बेहुली जस्तै देखिएको छ ।
सडकको दुबै किनारमा फुलेका रङ्गिचङ्गी फूलले पूरै टोलको शोभा बढाएको छ । टोलमा सरसफाइ अभियान चलाउँदा सबैको सल्लाहले सडक किनारमा फूल लगाएर संरक्षण गरेको टोल विकास समितिकी अध्यक्ष सृष्टि चौधरीले बताउनुभयो । उहाँले सरसफाइसँगै टोलको सुन्दरता बढाउन सडक किनारमा फूल रोपेको बताउनुभयो । ‘हामीले टोलको सरसफाइ गर्दा नै घरबाट बोट लिएर सडक किनारमा फूल रोपेका हौँ’, उहाँले भन्नुभयो, ‘अहिले सडकभरी फूल फुलेका छन् । तिहारमा यिनै फूलहरूले सजाउने योजना छ । बिक्री गर्ने लक्ष्य पनि राखेका छौँ ।’
सडकमा चौपायालाई बन्देज
चौधरी समुदायको बाक्लो बसोबास रहेको पिपलचोक टोलमा कसैले पनि सडक किनारमा चौपाया डो¥याउने गरेका छैनन् । यस्तै, सडकमा निर्माण सामग्री राख्ने कार्यको पनि फूल रोपिएपछि अन्त्य भएको छ । गत असारमा टोलबासीले बैठक बसेर सडक किनारलाई सफा राख्न फूल रोप्ने निधो गरेका थिए । पिललचोक टोल जस्तै ६ नम्बर वडाका अन्य टोलमा पनि सरसफाइमा उत्कृष्ट काम हुँदै आएको छ ।
सफा धनगढी, हरित धनगढी र सुन्दर धनगढी अभियान सफल बनाएर धनगढीलाई देशकै उत्कृष्ट उपमहानगरपालिका बनाउन सरसफाइसँगै सडक किनारामा फूल हुर्काउने काम गरिएको सामाजिक परिचालक पशुपति सुवेदीले बताउनुभयो । उहाँले यो अभ्यासलाई अर्को वर्षबाट अन्य टोलमा समेत लागु गर्न टोल विकास समितिहरू तयार रहेको बताउनुभयो । ‘पिपलचोक टोल विकास समितिले सडकको दुबै तर्फ फूल हुर्काएपछि अर्को वर्षवाट अन्य टोल विकास समितिहरूले पनि फूल लगाउने भएका छन् ।
फूल लगाएपछि यो टोलको कामको प्रसंशा पनि भएको छ, बस्ती सुन्दर पनि देखिएको छ’, उहाँले भन्नुभयो । जालीको पिपलचोक टोलमा सयपत्री फुलेपछि अचेल हेर्न आउनेको संख्या बढेको छ । विहान साँझ सडकमा कसरत गर्न आउने र टिककटक बनाउनेको संख्या बढेको ६ नम्बरका वडासदस्य महेन्द्रबहादुर थापा मगरले बताउनुभयो । उहाँले पिपलचोक टोल विकास समितिले उत्कृष्ट काम गएको बताउनुभयो । धनगढीमा एक दर्जन किसानले आफ्नो बारीमा सयपत्री फुलाएका छन् भने वडा नम्बर ६ र १५ का केही टोलहरूले सडक किनारमा सयपत्री र मखमली फुल्ने फक्रने वातावरण सिर्जना गरेर सिँगार्ने काम गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच