काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट हुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिङ पिङको निमन्त्रणामा आगामी मंसिर १७ गते प्रधानमन्त्री चीन जानुहुने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको भ्रमण मंसिर २० गतेसम्म हुनेछ ।
पछिल्लो सातादेखि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गरिरहेको थियो । मन्त्रालयका एक उच्च अधिकारीले मंसिर १७ मा प्रधानमन्त्री चीन जाने पुष्टि गर्नुभयो । ‘मंसिर १७ गते जाने र २० गते फर्कने गरी प्रधानमन्त्रीको चीन भ्रमणको समय तालिका व्यवस्थापन गरेका छौँ’, उहाँले हिमालय टाइम्ससँग भन्नुभयो ।
प्रधानमन्त्री ओलीले गतमहिना संयुक्त राष्ट्रसंघको महासभा बैठकका दौरान चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको थियो । सो क्रममा वाङले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश र निमन्त्रणा अवगत गराउनुभएको थियो । ओली नेतृत्वको सरकारले हालै एकसय दिन पूरा गरेको छ । सामान्यतया भारतबाट प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रचलन थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताका कारण ओलीको भ्रमणका लागि विलम्ब भएपछि चीन भ्रमणको तयारी गरिएको थियो । चीनबाट फर्केलगत्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने सम्भावना उच्च रहेको परराष्ट्र स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा बेइजिङ जानुहुने बताइएको छ । परराष्ट्रमन्त्रीको भ्रमणपछि प्रधानमन्त्रीको औपचारिक भ्रमणको कार्यक्रम सहितको तालिका सार्वजनिक हुनेछ । प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चीन पिङबीचको भेटवार्ता भने तय भइसकेको बताइन्छ ।
यसपटक प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बिआरआई कार्यान्वयन र आपसी हित प्रवद्र्धन मुख्य एजेण्डा हुनेछ । प्रधानमन्त्री ओली २०७५ मा प्रधानमन्त्री हुँदा चीनसँग भएको पारवाहनलगायत सम्झौताको कार्यान्वयनका विषय पनि भ्रमणको प्राथमिकतामा रहेको छ । भारतबाटै विदेश भ्रमण थाल्ने योजना बनाए पनि तीन महिनासम्म नजुरेपछि प्रधानमन्त्री ओली चीन जान लाग्नुभएको हो । ओलीले राष्ट्रसंघ महासभाकै दौरान भारतीय समकक्षी मोदीसँग न्युयोर्कमा भेटवार्ता गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच