काठमाडौं । रंगीचंगी फूल, सप्तरंगी टीका र झिलिमिली बत्तीसँगै सुरु हुन्छ यमपञ्चक अर्थात् तिहार । तिहार सुरु हुनुअघि नै फूल र झिलिमिली बत्तीको व्यापार सुरु भइसक्छ । बजार थरीथरीका फूल र बत्तीले रंगीन बनिसकेको छ । अझै साँझको बेला काठमाडौं उपत्यकाको रौनक नै बेग्लै हुन्छ । उपत्यकाबाहेक देशभरका अधिकांश गाउँ शहर झिलिमिली छन् । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । तिहारसँगै बजारमा फूलको चर्चा पनि बढेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले १६ किसिमका रोगमुक्त भएको प्रमाणित नगरेसम्म फूलको आयातमा रोक लगाएको छ । यसकारण यसवर्ष सयपत्रीको फूल आयात नहुने भएको हो । सयपत्री फूलको सट्टामा नेपालमै उत्पादित फूलले धान्नुपर्ने अवस्था छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यसवर्ष तिहारमा ४५ लाख माला खपत हुने अनुमान छ । गत वर्षको तिहारमा ४० लाख माला खपत भएको थियो । गोदावरी र मखमली माला स्वदेशमै पर्याप्त रहेकाले भारतबाट माला आयात गर्नुपर्ने अवस्था नरहेको फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले हिमालय टाइम्सलाई बताउनुभयो । सोही कारण भारतबाट अवैध रूपमा आयातित फूल माला काठमाडौं महानगरपालिकाले नष्ट गरेको उहाँले बताउनुभयो । तामाङका अनुसार यसवर्ष गत वर्षभन्दा माला केही महँगो हुन सक्नेछ । गतवर्ष प्रति एक मिटर मालाको मूल्य एक सय रुपैयाँ रहेकोमा यसवर्ष १२० देखि १२५ रुपैयाँसम्म रहने उहाँले बताउनुभयो ।
नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा विस्तार भइसकेको छ । नेपालमा अहिले व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । जसमा एक हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको फ्लोेरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा फूलको वार्षिक कारोबार दुई अर्ब ४२ करोड रुपैयाँ रहेकामा आव २०७९/८० मा तीन अर्ब सात करोड रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा आव २०८०/८१ मा १९ दशमलव ८६ प्रतिशतले वृद्धि भई तीन अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एसोसिएसनका अनुसार आव २०७५/७६ मा ६० करोड ५९ लाखको फूल आयात भएको थियो भने आव २०७९/८० मा ६८ करोड १८ लाख रुपैयाँको फूल आयात भएको थियो । यसैगरी, आव २०७५/७६ मा २३ करोड ७७ लाख रुपैयाँको फूल निर्यात भएको थियो भने आव २०७९/८० मा ३३ करोड ६ लाख रुपैयाँको निर्यात भएको थियो ।
बजारमा प्लाष्टिकका प्रतिबन्धित फूल
फूलहरूको पर्व तिहार सुरु भएसँगै बजारभरी छ्याप्छ्याप्ती प्लाष्टिकका प्रतिबन्धित फूल देखिन थालेका छन् । सरकारले नेपालभरी प्लाष्टिकको फूल गुच्छा उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको छ । तर, शहरमा प्लाष्टिकको फूल, माला पाउनु सामान्यझैँ देखिन्छ । देशका मुख्यमुख्य शहरमा छ्याप्छ्याप्ती प्लाष्टिकका प्रतिबन्धित फूल देखिन थालेका हुन् । प्लाष्टिकका फूल धेरै देखिन थालेपछि स्थानीय तहले सूचना निकालेर नियमन गर्न थालेका छन् । सरकारले १ वैशाख २०७२ देखि नै काठमाडौं उपत्यकाको चार किल्ला तोकेर प्लाष्टिकका झोला प्रयोग निषेध गरेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ९० लाख रुपैयाँ बराबरका ५६ टन आयात भएको देखिन्छ । चीन र भारतसहित २० देशबाट थोरै थोरै प्लाष्टिकका सजावटका सामग्री आएको देखिन्छ । प्राकृतिक फूल भने गत आव २७ करोडको आएको दखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार एक करोड दुई लाख १२ हजार रुपैयाँ भएको छ भने आयाततर्फ २७ करोड ७९ लाख पाँच हजारको कारोबार रहेको छ ।
फूल बेच्न काठमाडौं महानगरले तोक्यो ४६ ठाउँ
काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूल बेच्न प्रतिबन्ध गरेको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लाष्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले जानकारी दिनुभयो । मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको पनि जानकारी दिनुभयो । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाएको थियो । यसवर्ष फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नुहुने छ’, मेयर शाहले भन्नुभएको छ ।
व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न÷नगराउनसमेत मेयर शाहले अनुरोध गर्नुभएको छ । कसैले लुकिछिपी बिक्री गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले जनाएको छ । सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्न महानगरले अनुरोध गरेको छ । यसअघि नेपालमा प्रतिबन्धित सयपत्री फूलको माला स्टोर गरेको आशंकामा महानगरले बालाजु औद्योगिक क्षेत्रको तीनवटा कोल्ड स्टोरमा छापा मारेको थियो । छापा मारेर ३६९ पोकामा अर्थात् झण्डै एक हजार पाँच सय माला नियन्त्रणमा लिएको हो । महानगरको टोलीले औद्योगिक क्षेत्रमा रहेको क्वालिटी ड्रिङ्स एण्ड कोल्डस्टोर र कोहिनुर कोल्डस्टोरको स्वामित्वमा रहेको तीनवटामा गरी चारवटा कोल्डस्टोरमा छापा मारेर माला निकाल्न नमिल्ने गरी सिल गरेको छ ।
मसलाको भाउ आकासियो
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई विभिन्न खानेकुरा दिने चलन छ । तर, तिहार सुरु नहुँदै बजारमा ड्राई फ्रुट्सको मूल्य बढेको छ । दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिसजस्ता भाइमसलाको मूल्य अचाक्ली बढेको हो । ड्राई फ्रुट्सको मूल्य २० प्रतिशतसम्म बढेको छ । भाइ मसला अघिल्लो वर्षको तुलनामा अत्यधिक मूल्यवृद्धि भएको व्यापारीहरू बताउँछन् । उनीहरूका अनुसार दशैँ अगाडि एक हजार २५० मा पाउने बदाम अहिले एक हजार सात सय पुगेको छ । आठ सयमा पाउने मखाना एक हजार नौ सय पुगेको छ । यसैगरी, एक हजार ६ सयमा पाउने काजु दुई हजार १०० पुगेको छ । तिहारमा बढी मसला बिक्री हुने भएकाले कतिपय व्यापारीले आफूखुसी मूल्य बढाउने गरेको गुनासोसमेत आउने गरेको छ । नेपालमा भाइमसला भारत, चीन, भियतनाम, अमेरिका, इण्डोनेसिया, थाइल्याण्डलगायत देशबाट आयात हुने गरेको छ ।
आज काग तिहार
तिहारअन्तर्गत आज काग तिहार मनाइँदै छ । यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो चिजबिज खान दिएर मनउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठोमीठो खान दिई खुशी पार्ने गरिएको हो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ । बिहीबार बिहान अरुणोदय कालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यसदिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसैदिन गर्नुपरेको समितिले जनाएको छ । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन । गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवद्र्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच