काठमाडौं । नेपालीहरूको दोस्रो महान् पर्व तिहार हाम्रो घरआँगनमा आइपुगेको छ । हाम्रो पात्रोमा शरद ऋतु पर्वै पर्वले भरिएको ऋतु हो । हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको नेपालमा नेपालीहरूको महान् पर्व दशैँपछि अर्को महान् पर्व तिहार नेपालीहरूको घरआँगनमा आइसकेको छ । राष्ट्रिय पर्वका रूपमा हर्षोल्लासपूर्ण वातावरणमा मनाइने तिहारको सांस्कृतिक र धार्मिक महत्व छ । यो अत्यन्त महत्वपूर्ण र उल्लासमय पर्व भनेर नेपालीहरूबीच रहिआएको छ । तिहारलाई दीपावली पनि भनिन्छ । यो पर्व पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई ‘पञ्चक’ भनेर पनि भन्ने गरेको पाइन्छ । तिहार दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता बढाउने एक महत्वपूर्ण पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती, धेरै थरिका फूलले सिँगार्ने गरिन्छ । शहरबजार पनि बत्ती, फूल, मिठाइ र मसलाको परिकारले सिँगारिएको देख्न सकिन्छ । गरिब, धनी, नेतादेखि सर्वसाधारण नेपालीसम्मको तिहार मनाउने आ-आफ्नो योजना हुन्छ । कलाकारहरूलाई पनि तिहार नलाग्ने कुरै भएन । तर, चाडमा पनि चलचित्रकर्मीहरू आफ्नो चलचित्रको प्रमोसनमा व्यस्त हुन्छन् । गायकगायिकाहरू देशविदेशमा सांगीतिक कार्यक्रम गर्नमा व्यस्त हुन्छन् । कतिपय कलाकार भने चाडपर्वमा घरपरिवारसँगै रमाउन चाहन्छन् । सधैँ अरूलाई मनोरञ्जन दिलाउन दिनरात व्यस्त रहने कलाकारको यो तिहार मनाउने योजना कस्तो छ । कलाकारको तिहार योजना उहाँहरूकै शब्दमा :-
तिहारमा श्रीमहालक्ष्मीको आराधना : कृष्ण मल्ल, केन्द्रीय अध्यक्ष नेपाल फिल्म सोसाइटी
केही अस्वस्थताका कारण सबै भेटघाट तथा कामहरू स्थगित गरेको छु । तिहार अर्थात् दीपावली सबैभन्दा रमाइलो चाड हो । टोल–टोलमा देउसी भैलोको मिठो गीतले मन नै प्रफुल्लित बनाउँछ । घर–घरमा दीपावली..., तिहारको सेल.... आहा । म र मेरो परिवार पनि श्रीमहालक्ष्मीको आराधना गरेर मनाउँछौँ । त्योभन्दा अगाडि काग, कुकुरको पूजा गरेर मनाउँछौँ । म कहाँ तीनवटा कुकुर छन्, तिनीहरूको पूजा गर्छौं । आजकल छेउछाउमा गाईगोरु पाइँदैन । आजकल तास कमै खेल्दछु । तिहारको नराम्रो पक्ष भनेको पटाका जथाभावी पड्काएर कुकुरलाई तर्साउँछन् । पर्यावरण बिगार्छन् । यसलाई नियन्त्रण गर्न जरुरी छ । ठूला जुवा खालहरू पनि नियन्त्रण गर्न जरुरी छ ।
म प्रायः तिहारमा बुटवलमै हुन्छु : देवीका वन्दना, वरिष्ठ गायिका
तिहार मलाई सबैभन्दा मनपर्छ । म प्रायः तिहारमा बुटवलमै हुन्छु । एकदमै रमाइलो गरेर मनाउन मन लाग्छ । घरमा देउसी भैलोको टिमहरू आउनुहुन्छ । नाचगान गर्दै आशीर्वाद दिएर जानुहुन्छ । तिहारमा सबै परिवार जम्मा भएर हाँसीखुसी मनाउँछौँ । तिहारमा केटा मान्छेहरू मादक पदार्थ सेवन गरेर तासजुवा खेल्ने गर्छन्, यसलाई रोक्नुपर्छ भन्ने लाग्छ । यो एकदमै ठूलो विकृतिका रूपमा मौलाउँदै गएको छ । पारिवारिक जमघट हुने, लक्ष्मीको आराधना गर्ने, आशीर्वाद लिने–दिने, सेल रोटी, मिठाईलगायतका परिकार पकाउने यो पर्वका विशेषता रहेका छन् ।
यसपालि हाम्रो तिहार छैन : सरिता लामिछाने, कलाकार
यसपालि ससुरा बुबा र सासू आमा बित्नुभएकाले हामी जुठोमा छौँ, हाम्रो तिहार छैन । तिहार उज्यालोको पर्व हो । दाजुभाइ दिदीबहिनीको पर्व हो । आपसी सद्भाव बढाउने पर्व हो । मानिसदेखि पशुपक्षीसम्मको पर्व हो । यसलाई त्यही रूपमा मनाऔँ भन्न चाहन्छु । पछिल्लो समय विकृति बढ्दै गएका छन्, यसलाई सबै मिलेर रोक्नुपर्छ भन्न चाहन्छु ।
रीतिरिवाज छाड्दिनँ, देखावटी हाइफाई मान्दिनँ : सुब्रत आचार्य, निर्देशक
चलिआएको चलनअनुसार नै म तिहार मनाउँछु । म रीतिरिवाज छाड्दिनँ, देखावटी हाइफाई मान्दिनँ । तिहारको मात्र होइन, सबै चाडपर्वको राम्रो पक्ष भनेको आफ्नो संस्कृतिलाई जोगाउनु नै हो । अनि आधुनिकताको नाममा तिहारलगायतका चाडपर्व सोसियल मिडियामा खुम्चिँदै गएका छन् । पुराणमा उल्लेख छ कि भगवान् शिवले आफ्नी अर्धांगिनी माता पार्वतीसँग मात्र रमाइलोका लागि पासा खेलेका थिए । मलाई तास, जुवा खेल्न पटक्कै आउन्न तर पनि लक्ष्मीपूजाको राती भने म मेरी अर्धांगिनीसँग तास खेलेको जस्तो गर्छु । तिहारलगायतका हाम्रा चाडपर्वले परिवार, आफन्तहरूसँगको सम्बन्धमा मिठास ल्याउँछ । तिहारलाई म विशेष गरी दाजुभाइ तथा दिदीबहिनीहरूसँगको सम्बन्धलाई रिन्यु गर्ने पर्व पनि मान्छु ।
देउसी भैलो खेल्दै उत्सवमय तरिकाले मनाउने योजनामा छु : सन्तोष श्रेष्ठ, कीर्तिमानी संगीतकार
तिहारलाई विशुद्ध तिहारकै रूपमा मनाउने सोचाइमा छु । तिहार उज्यालोको पर्व हो । तिहार प्रकृति पूजाको पर्व हो । तिहार दाजुभाइ दिदीबहिनीको मेलमिलाप एवं आपसी प्रेमको पर्व हो । तिहार सांस्कृतिक मनोरञ्जनको पर्व पनि हो । तिहारमा देउसी भैलो खेल्दै रमाइलो अनि उत्सवमय तरिकाले मनाउने सोचाइमा छु । कुनै पनि सांस्कृतिक पर्व नराम्रो लाग्दैन । हामीले अवलम्बन गर्ने तरिकामात्रै नराम्रो हुनसक्छ । अहिले देखासिकीले मानिस अत्तालिएको देखिन्छ । त्यसो देख्दा कता-कता नरमाइलो महसुस हुन्छ । तिहारमा जुवा तास अहिलेसम्म खेलेको छैन । मलाई यतातिर आकर्षण पनि छैन । बरु भेटघाटमै रमाइलो लाग्छ । एकअर्कामा भेटघाटमा रमाउनु पनि तिहारको विशेषता पनि हो ।
यसपालिको तिहारमा हल भिजिट र दर्शकसँगको भेटघाट : मुकुन भुसाल, नायक
यसपालिको तिहारमा हाम्रो चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ सिनेमाघरमा आउँदै छ । आज लक्ष्मी पूजाको दिनदेखि यो सिनेमा यहाँहरूमाझ आएको छ । यसैको प्रमोशनमा यतिबेला व्यस्त रहेको छु । यसपालि मेरो दिदीले टीका लगाउन मिल्दैन । त्यसैले म काठमाडौंमा नै हुन्छु नत्र म नेपालगञ्ज जान्थेँ । यसपालिको तिहारमा हल भिजिट र दर्शकसँगको भेटघाट नै प्राथमिकतामा छ । तिहारको राम्रो पक्ष भनेको यसले समाजमा सद्भाव कायम गर्छ, सबैतिर खुसियाली बाँड्छ, भेटघाट हुन्छ, आत्मीयता बढ्छ भने मलाई मन नपर्ने पक्ष भनेको जुवा तास र मादक पदार्थ सेवन हो । रमाइलोका लागि दिदीभाइ, दाजुभाइ जम्मा भएर खेल्नु छुट्टै कुरा हो तर यसलाई विकृति नबनाऔँ भन्न चाहन्छु । यो खुसी र उज्यालोको पर्वलाई त्यसै अनुसार मनाऔँ भन्न चाहन्छु ।
पाँच-सात वर्षपछि यसपालि तिहार नेपालमै : कृष्ण काफ्ले, गायक
करिब पाँच-सात वर्षदेखि चाडपर्वका अवसरमा प्रायजसो सांगीतिक कार्यक्रमले गर्दा विदेशमै हुने गर्थें त्यसैले यसपालिको दशैं तिहार परिवारसँगै मनाउने सोच बनाएर नेपालमै छु । दशैँ एकदमै रमाइलो भयो । मेरा लागि तिहार त झनै रमाइलो चाड हो । चारैतिर झिलिमिली, गाउँघरै उज्यालो देखिँदा लाग्छ कि सबै नेपालीहरूको अनुहारमा खुसियाली छाएको छ । धेरै वर्षपछि घरमै भाइटीका लगाउँदै छु । भाइटीकाको सात रङजस्तै र चारैतिरको झिलिमिली उज्यालोको रमाइलो जस्तै मनमा अनेकौँ उमंग छाएको छ । जुवा, तासमा मेरो रूचि छैन । यो पर्वको परम्परा र विशेषतामै आफूले आनन्द पाउने गर्छु । यसलाई तोडमोड गरेर, विकृति फैलाउने र समाजलाई असर गर्ने गरी मनाउनबाट रोक्नुपर्छ भन्न चाहन्छु । सम्पूर्णमा शुभ तिहार तथा छठ पर्वको हार्दिक शुभकामना भन्न चाहन्छु ।
देउसी भैलो खेल्ने, सेल पकाउने, कागदेखि दाजुभाइसम्मको पूजा गर्ने : सारिका घिमिरे गायिका/नायिका
तिहार उज्यालो पर्व हो । यो मलाई धेरै मन पर्छ । यो पटकको तिहारका लागि मेरो त्यस्तो खास केही योजना छैन । विगतका वर्षझैँ सामान्य तवरले मनाउँछु । कागदेखि दाजुभाइसम्मको पूजा गर्ने यो अरूभन्दा अलि बेग्लै खालको पर्व हो । देउसी भैलो खेल्ने, खेलेको हेर्न, देउसी भैलीलाई दक्षिणा दिने, सेल पकाउने, यस्तै-यस्तै छ मेरो यो वर्षको तिहार योजना । तिहार फूल र झिलिमिली बत्तीको पर्व हो । मलाई एकदमै मन पर्ने पर्व हो तिहार । तिहारमा पाक्ने रोटीको आफ्नै महत्व छ । म आफूलाई पनि सेलरोटी पकाउन एकदमै मनपर्छ । यस अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु ।
यो सालको तिहार बहिनीहरूसँग कैलाली अत्तरियामा : सनम कठायत, मोडल
उपर मुस्ताङ क्षेत्रतिर केही म्युजिक भिडियोहरूको छायांकनको व्यस्तताका कारणले गर्दा करिब तिहार सुरु भइसक्दासम्म म यात्रामा नै छु । तिहारका लागि मूल घर डोटी पुग्ने मनैबाट चाह हुँदाहुँदै पनि यो साल सम्भव नहुने जस्तो छ, त्यसैले यो सालको तिहार कैलाली अत्तरियामा मनाउनेछु । दिदीको घरायसी व्यस्तताका कारण भेट नहुने कुरा छ त्यसैले यो पटक मेरा बहिनीहरूसँग भाइटीका मनाउने योजनामा छु ।
तिहार मलाई एकदमै मन पर्ने पर्वमध्ये एक हो । झिलिमिली बत्तीहरू, मौलिकदेखि आधुनिक भावका देउसी भैलोहरू, भ्रातृत्व र एकताका लागि भेटघाट, सौहार्द्रको भाइटीका अनि चरणबद्ध पूजाले तिहारको महिमा र महत्व अझै विशेष लाग्छ । तिहार भन्नेबित्तिकै बालपनको देउसी भैलो साथै गाउँ अत्यन्तै मिस हुन्छ । हाम्रो मौलिक पर्व तिहारलाई उज्यालो र सौहाद्र्रको प्रतीकका रूपमा मनाऔँ, सम्पूर्णमा तिहारको हार्दिक शुभकामना ।
पारिवारिक जमघट गरेर तिहार मनाउँदै छौँ : दीपक घिमिरे, अन्तर्राष्ट्रिय मोडल
तिहारमा दिदीबहिनीको हातको टीका लगाउने, लक्ष्मीको पूजा गर्ने गरेर मनाइन्छ । पारिवारिक जमघट गरेर तिहार मनाउँदै छौँ हामी । हाम्रो मौलिकता बचाइराख्नुपर्छ । यसमा देखिएका विकृतिलाई हटाउनुपर्छ । कलरफुल पर्वलाई क्षणिक आनन्दमा लागेर पछि पछुतो हुनेगरी नमनाऔँ भन्न चाहन्छु । हाम्रा चाड पर्व, संस्कृति हाम्रो पहिचान हुन्, यसलाई त्यही रूपमा जोगाइराख्नुपर्छ । तिहारका परिकार पनि विशेष हुन्छन् जुन हाम्रो आफ्नो पन हो, देउसी भैलो खेल्दै रमाइलोसँग तिहार मनाऔँ भन्न चाहन्छु ।
साथीभाइ र घरपरिवारसँग तिहार मनाउने योजना छ : फुपू तेञ्जिङ शेर्पा, प्रबन्ध निर्देशक, आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन र शेर्पा ग्रुप
दशैँमा अलिक व्यस्त भइयो । साथीभाइ र घरपरिवारलाई समय दिन भ्याइएन । तिहारमा म उहाँहरूसँग धेरैभन्दा धेरै समय व्यतित गर्ने योजनामा छु । मद्यपान खासै गरिँदैन, रमाइलोका लागि घरपरिवार र साथीभाइसँग हल्का तास भने खेल्ने गरिन्छ । मिठो मसिनो खाना बनाएर भेटघाट गर्दै रमाइलो गर्ने योजना छ । तिहारको मलाइ मन पर्ने पक्ष भनेको उज्यालो नै हो । सानो छँदा निकै रमाइलो गरिन्थ्यो । म प्रायः मादल बजाउँथेँ कहिलेकाहीँ त मादल बजाउँदा बजाउँदै निदाउनेसम्म हुन्थ्यो । तिहार सबै समुदायले आ-आफ्ना प्रकारले मनाउने गर्छन् । यसले सामाजिक सद्भाव कायम गरेको छ भन्ने लाग्छ ।
यसपालिको तिहार काठमाडौंमै : वीरेन्द्र भाट ‘विपिन’, निर्देशक/छायांकार/सम्पादक
मेरो यसपालिको तिहार काठमाडौंमै हुन्छ । तिहार (दीपावली) भनेपछि मलाई निकै मन पर्ने पर्व पनि हो । आहा जताततै झिलिमिलीसँगै परम्परागत देउसी भैलो खेलेको निकै मज्जा लाग्छ । तिहार प्रेम, सद्भाव र उज्यालोको पर्व हो । तिहारले एकातिर मानव तथा पशुपक्षीबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई प्रगाढ बनाउँछ ।
म तिहारमा मात्रै होइन कहिले पनि जुवा तास खेल्दिनँ, कौडा, जुवा तास एवं लंगुरबुर्जा जस्ता सट्टेबाजीको म निकै विरोधी छु । तिहारको नराम्रो पक्ष भनेको पटाका पड्काउँछन् जसले गर्दा वातावरणमा प्रदूषण बढ्छ र कतिपय ठाउँमा पटाकाले दुर्घटना पनि निम्त्याउँछ । परम्परागत देउसी-भैलोजस्तो मीठो भाकालाई तोडमोड गरेर जे पायो त्यही गाउने प्रवृत्ति मन पर्दैन । लक्ष्मी पूजा गर्ने निहुँमा आफ्ना धन सम्पत्ति देखाउने प्रवृत्ति पनि फिटिक्कै राम्रो पक्ष होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच