दाङ । घोराही-तुलसीपुर चारलेन सडक अहिले स्वामित्वविहीन भएको छ । सडक स्तरोन्नतिकै सुरुआती क्रममा यो करिब २८ किलोमिटर सडक खण्डको स्वामित्व सडक विभाग मातहतको सडक सुधार आयोजनामा गएको थियो । जसको केन्द्रीय कार्यालय काठमाडौंमा र फिल्ड अफिस लमहीमा छ । लमहीको कार्यालय पनि नेतृत्वविहीन भएपछि अहिले सडक बेवारिसे जस्तै छ । डिभिजन सडकले यसको स्वामित्व लिइरहेको छैन, स्थानीय सरकारको यो सडकमा कुनै दायित्व देखिँदैन, प्रदेश सरकारको पनि होइन । यही कारण अब फेरि सास्ती सुरु हुन थालेको छ, घोराही-तुलसीपुर सडक खण्डमा ।
एक वर्षअघि यहाँबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको जोरबलमा करिब तीन करोडको लागतमा क्षतविक्षत भएको यो सडक टालटुल गरेपछि केही सहज भएको थियो तर टालटुल गरेको सडक फेरि खाडलैखाडल हुन थालेको छ । पुनः मर्मतको कुनै सुरसार छैन । अहिले यो सडकको अवस्था हेर्ने हो भने दिनदिनै बिग्रिरहेको छ । घोराही-तुलसीपुर सडकखण्डको कालाखोला उकालोमा त सवारी चलाउनै सास्ती हुने गरेको छ । ‘कालाखोलाको उकालोमा कुन दिन वीभत्स दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन, त्रासैत्रासबीच सवारी चलाउनु परेको छ’, दाङदेखि काठमाडौंसम्म रात्रिबस चलाउँदै आएका चालक भीमबहादुर डाँगीले भन्नुभयो ।
उहाँको भनाइमा थोरै खाडल हुनासाथ मर्मत हुने हो भने केही महिना सास्ती रोकिने थियो तर यसमा डिभिजन सडकले केही गर्न सकेन । पोहोर साल गर्न मिल्ने, यो वर्ष गर्न नमिल्ने त हुँदैन नि ? उहाँको डिभिजन सडकसँग प्रतिप्रश्न थियो । भीमजस्तै अरू सवारीचालक आजित छन्, यो सडकखण्डमा यातायात चलाउन । जिल्लाका दुई उपमहानगरपालिकालाई जोड्ने यो सडक विगत पाँच वर्षदेखि बेवारिसे हुँदा पनि यहाँका राजनेताको दबाब भने संघीय सरकारसम्म पुग्न सकेको छैन । हरेक निर्वाचनमा चारलेन सडक चुनावी नारा बन्ने गरे पनि चुनावपछि यो सडक स्तरोन्नतिको निरन्तर माग भने यहाँका सांसदबाट हुन नसकेको यातायात व्यवसायीले बताएका छन् ।
डिभिजन सडक कार्यालयको मर्मत कार्यतालिकामा सानातिना खाल्डा पुर्ने कार्यक्रम त छ तर सबै क्षेत्र कालोपत्रे गर्ने कार्यक्रम भने नरहेको डिभिजन सडक कार्यालय घोराहीले जनाएको छ । ‘यो सडक आरआइपी परियोजनाको हो, तैपनि हामीले सामान्य खाल्टाखुल्टी पुर्ने काम भने सुरु गरिसकेका छौँ’, डिभिजन सडक कार्यालय घोराहीका प्रमुख दीपेन्द्र विष्टले भन्नुभयो, ‘तर कालाखोला उकालो जस्तो स्थानमा पूरै कालोपत्रे गर्ने अवस्था भने डिभिजन सडकको कार्यक्रममा छैन ।’ सो क्षेत्रमा सामान्य खाडल पुर्ने मात्रै काम हुने र अन्य स्थानमा सानातिना खाडल पिच गरिने उहाँले बताउनुभयो ।
यो सडकलाई नेपाल सरकारले नै स्तरोन्नति गर्ने बताइन्छ । पहिलो चरणमा यसै आर्थिक वर्ष मदन भण्डारी मार्गमा खर्च हुन नसकेको केही रकमले यो सडकको स्तरोन्नति सुरु गरिने एकजना सरकारी अधिकारीले बताउनुभएको छ । यद्यपि, कति बजेट बचेको छ र कहिले काम सुरु हुन्छ भन्ने विषयमा भने उहाँले बोल्न चाहनुभएन । यो अवस्थाले अझ केही वर्ष जिल्लावासीले चारलेनको खुसी होइन, खाडलै खाडलको सास्ती भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । यो सडक स्तरोन्नतिका लागि करिब एक अर्ब बढी बजेट अनुमान गरिएको छ । सरकारले यति धेरै रकम खर्च गर्ने इच्छाशक्ति देखाउन सकेको भने छैन ।
सन् २०१९ मा दाङका विभिन्न सडक स्तर उन्नति गर्न भन्दै कार्यालय स्थापना भएको थियो । तीस महिनामा काम सक्नेगरी सडक निर्माण सम्झौता पनि सोही वर्षको मे महिनामा भएको थियो । उतिबेला दाङको भालुवाङ-बाग्दुला-भीमगिठी, घोराही-तुलसीपुर, चन्द्रौटा-कृष्णनगर सडक सुधार आयोजनाका नाममा खोलिएको कार्यालयले घोराही-तुलसीपुर सडकको स्तरोन्नति गर्न धमाधम काम सुरु गर्यो । तर, विगत दुई वर्षदेखि परियोजनाको लमही रातो डाँडामा रहेको कार्यालयसमेत अधिकारीविहीन छ ।
भारतको एक्जिम बैंकको ससर्त ऋणमा सुरु भएको सो परियोजनाको बजेट एक करोड सात लाख ९६ हजार अमेरिकी डलर बजेट थियो । अहिलेसम्म घोराही-तुलसीपुर सडकखण्डमा कुल बजेटको चार प्रतिशत मात्र काम भएको परियोजनाले जनाएको छ अर्थात् काम गरेको सबै भुक्तानी निर्माण कम्पनी भारतको तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लगिसकेको छ । जुन करिब करिब १४ लाख अमेरिकी डलर हो । यस बीचमा पटक-पटकको ढिलासुस्ती र अनियमितताका शृंखलाका कारण पटक-पटक म्याद थप्दै आए पनि अन्ततः दुई वर्ष अघि सो कम्पनीसँगको सम्झौता नेपाल सरकारले तोडिसकेको छ ।
पहिलेको कम्पनीसँग निर्माण सम्झौता रद्द भएपछि नेपाल सरकारले फेरि लगानी गर्न भारतीय एक्जिम बैंकलाई आग्रह सहितको पत्र पठायो तर पुनः ऋण सहयोग दिने सम्बन्धमा एक्जिम बैंक केही बोलेको छैन । नेपाल सरकार रित्तो ढुकुटीका कारण यो विषयमा केही निर्णय गर्न सकिरहेको छैन ।
जुन बेला यी तीनै सडकका काम सुरु भएका थिए त्यो बेला लमहीको रातो डाँडाको कार्यालयमा कर्मचारी भरिभराउ हुन्थे । कन्सल्टेन्ट स्ट्याण्डबाई हुन्थे, पेटी ठेकेदारको निरन्तर उपस्थिति हुन्थ्यो तर अहिले रातो डाँडाको परियोजना कार्यालय निभ्न थालेको बत्ती जस्तै छ । सबै कन्सल्टेण्टहरू आफ्नो अर्को विकल्पमा गए । कामविहीन डिजी यहाँ रहिरहनु परेन । अहिले परियोजनाको कार्यालयमा एकजना कार्यालय सहयोगी दामोदर चौधरी र लेखापाल गणेश नेपाली मात्रै हुनुहुन्छ । धन्न कार्यालय समयमा कार्यालय सहयोगीले ल्याण्डलाइन फोनसम्म उठाउने काम गरेका छन्, त्योबाहेक अन्य कुनै काम छैन । ‘हामी दुईबाहेक अन्य कुनै कर्मचारी अहिले हुनुहुन्न, डिजी नभएको त दुई वर्षभन्दा बढी भयो’, लेखापाल गणेशले भन्नुभयो । कर्मचारीलाई तलब खुवाउन पनि कपिलवस्तु शिवपुरबाट डिभिजन सडकका डिई आउनुपर्ने अवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच