बडादशैँ सकिएको १५/२० दिन मात्र भएको छ तिहारको चटारो सुरु भइसक्यो । कुकुरतिहार र लक्ष्मीपूजा आज एकैदिन परेको छ । दशैँ हिंसाप्रधान र तामसी खालको पर्वका रूपमा मानिँदै आएको छ तर तिहार भने फूल र बत्तीको पर्वका रूपमा परम्परादेखि चलिआएको छ । यो पर्व बढी मनोरञ्जक भएका कारण यस पर्वप्रति प्राय सबै जातजाति, वर्ग र सम्प्रदायका मानिसहरू आकर्षित बन्दै आएका छन् । तिहारमा मांशाहार कम हुने गरेको छ र यस पर्वलाई सात्विक भोजन र उत्सवमय संस्कार संस्कृतिका कारण रामरउस र रमाइलो गरी मनाउने गरिन्छ । यसपटक दशैँ अगाडिको प्राकृतिक प्रकोपका कारण पीडाका बीच पर्व मनाउनुपर्ने बाध्यता आइपरेको छ ।
यस पटकको दशैँको पूर्वसन्ध्यामा देशव्यापी रूपमा अविरल र भारी वर्षा भएका कारण व्यापक मात्रामा धनजनको क्षति हुनपुग्यो । धेरै नेपाली त्यसै काकारण शोकमा परे । अब विस्तारै त्यो घाउमा खाटा बस्दै गएको छ । हिउँदको प्रारम्भ भइसकेको छ । वर्षा, भेल, बाढी पहिरोको सम्भावना अब टरेको छ । त्यस कारण यो मनोरञ्जक पर्व उत्साहका साथ नेपालीहरू माझ मनाइनेछ भन्नेमा विश्वास गर्न सकिन्छ । यो फूलको पर्व हो । हामी विस्तारै खाद्यान्नमा जसरी नै अन्य उपभोग्य वस्तुहरूमा समेत पराधीन बन्दै गइरहेका छौँ । हाम्रो देशमा उत्पादन नहुने भाइमसलाका विभिन्न प्रकारहरू विदेशबाट आउनुलाई अस्वाभाविक मान्न सकिँदैन तर हाम्रो विलासिता बढ्दै जानाले तिनको उपभोग पनि आवश्यकताभन्दा बढी नै भइरहेको छ ।
यीबाहेक हाम्रो आफ्नै देशमा जति पनि मात्रामा उत्पादन हुने फूलमा पनि हामी परनिर्भर र पराधीन बन्दै गएको अवस्था छ । सयपत्री, हजारपत्री, मखमली, गोदावरी हाम्रै रैथाने फूलहरू हुन् तर तिनमा समेत विकासे प्रजातिको उत्पादन गरिएको हुँदा हाम्रा रैथाने जातिको लोप हुने अवस्था सिर्जना भएको छ । विकासे जाति हेर्दा राम्रो देखिने भएकोले हामी त्यसप्रति आकर्षित बन्दै गएका हुँदा रैथाने जातिको संरक्षण हुन सकेको छैन । विकासे जातिबाट पूmल उत्पादन गर्न नसकिने भएकोले परनिर्भरता वर्षैपिच्छे अझै बढ्दै गएको हो । यसतर्फ हाम्रो सचेतता देखिनुपर्छ र देखिन थालेको पनि छ । केही वर्षदेखि हाम्रोतर्फबाट विदेशी नक्कली कागज र प्लाष्टिकका फूलहरूलाई निषेध गरिँदै छ ।
यसले गर्दा हाम्रो स्थानीय प्रजातिका फूलहरूको व्यापार बढ्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले पनि यस्ता नक्कली पूmलको व्यापारमा प्रतिबन्ध लगाएको कारणले समेत स्थानीय फूलको व्यापारमा सहयोग पुगेको छ । तर, आयातीत फूलको मूल्यका तुलनामा स्थानीय प्रजातिका पूmहरूको मूल्य भने बढी पर्ने यथार्थतालाई भने नकार्न सकिँदैन । जसरी यस पटकको दशैँमा आयातीत स्याउभन्दा हाम्रै देशमा उत्पादित स्याउ प्रयोगमा आयो तर मूल्य केही बढी भए पनि नेपालीहरूको सचेतनाले त्यसको बिक्री बढी हुन आयो, फूलमा पनि यही नीति अपनाउन सके उचित हुनेछ । अहिले बजार पूmल, तिहारका भाइमसला, झिरझिरे, झिलिमिली लगायतका सामग्रीहरूले भरिएका छन् र चहलपहल पनि दशैँको भन्दा बढी छ तर सरकारले रोक लगाएको भने पनि पटकाहरूको व्यापार भइरहेको छ ।
साँझपख त छरछिमेकमा पड्काइएका पटकाको कारण टोलमा आतंकको अवस्था सिर्जना हुने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्नु जरुरी छ । यमराज र यमुनाको कथा, बलि राजाको कथा आदि जोडेर बनाइएका कथा र तीसँग सम्बन्धित भनेर चलाइएका परम्पराहरूका कारण तिहार विशेष मनोरञ्जक पर्वका रूपमा वर्षौंदेखि नेपाली समाजमा स्थापित पर्वका रूपमा चलिरहेको छ । केही राजनीतिक भड्काउका कारण दशैँको विरोध गर्नेहरू समेत तिहारमा सहभागी भएर गीत सिर्जना, गायन, नृत्य तथा देउसीभैलोमा संलग्न भइरहेको पाइन्छ । जति दशैँका सम्बन्धमा अनर्गल कुप्रचार हुने गरेका छन् तिहारका बारेमा त्यस्तो भएको पाइँदैन । तिहार वा दीपावली वर्षमा एकपटक आउने पर्व हो ।
यसलाई भरपूर मनोरञ्जक बनाउनु बुद्धिमतापूर्ण हुन आउँछ । स्वास्थ्य नै कमजोर हुनेगरी खानपान, मांस र मदिराको प्रयोग गर्नु उचित होइन । जुवातास लगायतको पैसाको बाजी राखेर खेलिने खेलहरूमा भन्दा देउसीभैलो, नाचगानमै रमाउँदा पैसाको नोक्सानी पनि नहुने र मनोरञ्जन पनि पाइने भएका कारण त्यसतर्फ सोच्नु र संलग्न हुनु बुद्धिमानीपूर्ण काम हो भनेर सोच्नु उचित हुने कुरामा दुई मत छैन । मदिरा पान गरेर झैझगडा गर्नाले र जुवातास खेल्नाले घरबास तथ सिंगो यात्रीबस नै हारमार भएको घटना विगतमा चर्चामा आएको थियो । यस्ता दुःखद् अवस्थाको सिर्जना हामीबाटै हुने हो । हामी आफू सचेत बनौँ र यस्ता दुःखद् अवस्था सिर्जना नगरौँ ।
त्यसैले त्यस्तो अवस्था निम्त्याउने काम नगरौँ । तिहार जस्तो मनोरञ्जक पर्व मनोरञ्जनका साथ मनाऔँ र दुखद् बनाउनतर्फ उद्यत नबनौँ । विवेकपूर्ण शैलीमा चाड मनाउँदा हामीलाई नै हितकारी हुने हो । स्वदेश वा विदेशमा रहनुभएका आमनेपाली जो जहाँ भए पनि तिहार वा दीपावली २०८१ भव्यताका साथ मनाऔँ । हाम्रो तर्फबाट सबैमा सुखशान्ति समृद्धिको कामना । हाम्रा समग्र सम्पादक, पत्रकारहरू, प्रशासनिक कर्मचारीहरू, लेखा तथा बजार व्यवस्थानमा कार्यरत कर्मचारीहरू, संवाददाता, समाचारदाता, विज्ञापनदाता तथा सम्पूर्ण पाठक शुभचिन्तकहरूमा इम्प्रेसन पब्लिकेसन तथा मिडिया प्रालिको तर्फबाट शुभ दीपावली, न्हृयुदया भिन्तुना, म्हृपूजा, नेपाल संवत्, छठलगायत सम्पूर्ण चाडपर्वहरूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच