यस वर्ष भाइमसलाको मूल्य ३० प्रतिशतले वृद्धि

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाइमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताउनु भयो । उहाँले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाइमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताउनु भयो । मूल्य बढेकाले यस पटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ ।

व्यापारी बज्राचार्यले भन्नुभयो, ‘अब भाउको हिसाव गराैं भने पोहोरसाल भन्दा यसपाली यो ड्राईफुड मसला करिव ३० पर्सेन्टले महंगीएको छ । कारण के होला ? मेरो विचारमा अस्ती असोज महिनामा आएको बाढीले गर्दाखेरी यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो । त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले म भाउ महंगिएको मैले महशुस गरेको छु । साथै यसमा कर तिर्नुपर्‍यो । यसले गर्दा यसपाली मसलाको भाउँ निकै महंगो छ पोहोरसालको तुलनामा । त्यही भएर मानिसहरुले एफोर्ड गर्न सक्दैन । पोहोर एक किलो लिने मानिसले यस पटक आधाकिलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यस पटक विजनेस डाउन नै देखिन्छ ।’

यता, ग्राहकहरुले पनि यस वर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरुले भाइमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन । पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेकोले व्यापारीहरुले मिलाएर दिए ग्राहकहरुलाई सजिलो हुने ग्राहकहरुको भनाई छ ।

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिव २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।

बज्राचार्यले भन्नुभयो, ‘२५/३० पर्सेन्ट सबै वस्तुको भाउ बढेको छ । काजुमा पनि बढेको छ । किसमिस, बदाम, छोकडा, नरिवल, ओखर सबैमा भाउ एकदम बढेको छ । त्यही भएर व्यापार विगतमा भन्दा यस वर्ष निकै घटेको छ ।’ 

भाइ मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?