तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि लिइन्छ । तिहारको अवधिभरि सबैले आआफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ ।
तिहार दिदी–भाइको चाडको रुपमा परिचित छ । दीपैदीपको उज्यालोसंगै लक्ष्मी अर्थात श्रीसम्पतिको आगमनलाई सहजता प्रदान गर्न दिपावली गर्ने प्रचलन छ, यसर्थ यसलाई दिपावली पनि भन्ने गरिन्छ । तिहारको तेस्रो दिनलाई लक्ष्मीपूजा भनिन्छ । यस दिन लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । यसै दिन साँझ लक्ष्मीपूजा गरिन्छ । घरआँगन सफासुग्घर राखिन्छ । रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ ।
दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्धलाई अन्योन्याश्रीत बनाउनमा तिहारको महत्व रहन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मीठा परिकार खुवाउने गर्छन् । दाजुभाइको निधारमा दिदीबहिनीले लगाइदिएको सप्तरंगी टीका अनि गलामा लगाइदिएको मखमली–सयपत्रीको मालाले दीर्घायूको कामना गरिएको हुन्छ । भाइटीकाले दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने मुख्य उद्धेश्य लिएको हुन्छ । विवाह गरेर पराइघर गएकी चेली र माइतीबीचको नातालाई बलियो बनाउन तथा अझ सुमुधुर बनाउने, ममतामयी नाताको डोरीलाई अझ बलियो बनाउने उद्धेश्यले नै यो चाडको जन्म भएको हुनुपर्छ । आफ्ना दाजुभाइका बिरोधीलाई तिहारमा दिदीबहिनीले घरको दैलोमा राखिएको ओखर फोरेर शत्रुलाई पराजित गरेको अनुभूतिसंगै तेल–दुबोले छेकेर दाजुभाइको सुरक्षा–संरक्षण गर्ने धार्मिक विश्वास छ । मानिसका जीवनमा अत्यन्त उपयोगी पशुपन्क्षी अनि चौपायाको पूजा गरी मनाइने पर्व हो तिहार । बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि प्रचलित छ । जसअनुसार वैदिककालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए । उनको दानशीलताबाट देवताहरुसमेत भयभीत भएका थिए । भयभीत भएका देवताले विष्णुको आराधना गरी बलि राजालाई पातालमा भास्न लगाएको कथा पुराणहरुमा वर्णन गरिएको छ ।
भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेषमा तीन पाउ राख्न पुग्ने स्थान माग गरे । पहिलो पाउले अन्तरिक्ष ढाक्यो । दोस्रो पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेका थिए । शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामन पुराणमा वर्णन गरिएको छ ।
तिहारमा देउसी भैलोले हाम्रो घर गाउँ , टोल छिमेकका मानिसहरु बीचको आपसी सम्बन्धमा मेलमिलाप गराउछ । अहिले पछिल्लो समयमा आएर देउसी भैलोबाट संकलित आर्थिक संकलनले सामाजिक जिम्मेवारी पुरा गरेको पाइन्छ । समाज विकासमा देउसी–भैलोले संस्कृतिको जगेर्ना, मनोरञ्जन प्रदानगर्नुका अलावा सामाजिक तथा समुहगत आवश्यकताको पनि पूर्तिगर्ने माध्यम बनेको छ । सामुहिक उत्तरदायित्वलाई समुहगत रूपमा पुरा गरिनुको साथै समाजमा एकअर्को विचको सम्बन्ध सुधारमा देउसी–भैलोको सकारात्मक भूमिका हुन्छ ।
‘तमसोमा ज्योतिर्गमय’ भन्ने वैदिक मन्त्रका आधारमा तिहारलाई उज्यालो पर्वका रुपमासमेत वैदिककालदेखि नै मनाउन सुरु गरिएको हो । लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहार सुरु हुनुभन्दा एक हप्ताअघिदेखि नै गर्न थालिएको छ । दीपावलीसमेत भनिने तिहारमा दीपहरुको माला बनाएर बाल्दा अन्धकारमात्र नभई अज्ञानसमेत नासिन्छ ।
तिहारमा रमाइलोका लागि पटाका पड्काइन्छ । तर, पटाका पड्काउँदा हामीले धेरै कुरामा ध्यान भने दिनुपर्दछ । धेरै धूवाँ आउने पटाकाले श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्न सक्छन् । त्यसैले सावधान रहनुपर्छ । खासगरी बालबालिकाहरू पटाका पड्काउन लालायित हुन्छन् । त्यसैले उनीहरूलाई कम धूवाँ भएको इको फ्रेन्ड्ली पटाका दिनुपर्छ । पटाका पड्काउँदा आगो टिप्ने खालका पहिरन लगाउनु हुँदैन । पटाका पड्काउँदा इयर प्लग्स लगाउन सकिन्छ । यसले कानलाई पटाकाबाट निस्कने तिखो आवाजबाट जोगाउँछ । भरसर पटाका पड्काएर रमाइलो गर्ने बानिबाट टाठा बस्न सकेकै राम्रो हुन्छ ।
त्यसैगरी तिहारको महत्वपूर्ण संस्कृतिका रुपमा देउसी र भैलोलाई हेरिने गरिन्छ । यसमा एक जना भट्याउने हुन्छ भने समूहका अन्य साथीहरूले देउसी अथवा भैलो भनेर भट्याउनेलाई साथ दिन्छन् । खासगरी देउसी–भैलोमार्फत देउसी खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर आशिष दिने चलन छ । घरधनीले पनि त्यस्ता समूहलाई आफ्नो गच्छेअनुसार फलफूल, रोटी, दक्षिणा आदि दिन्छन्, तर हिजोआज देउसी–भैलोको नाममा विकृति–विसंगति ह्वात्तै बढेको छ । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड समेत हुन थालेको छ । जसले धेरै पैसा दिन सक्छ, उसको घरमा मात्र जाने चलन पनि बढ्दो छ । कति त देउसी–भैलोको नाउँमा घरै बसीबसी पैसा उठाउनसमेत पछि पर्दैनन् ।
संस्कृतिले विकास बोकेको हुन्छ । सामाजिक सांस्कृतिक चालचलनले देश तथा समाजलाई डोहोर्याउने काम गर्छ । हाम्रो संस्कृति परम्पराभित्रको चाडपर्व तिहारमा पशुपंक्षीदेखि मानिससम्मको पूजा गरिन्छ । देउसीभैलो लगायतका परम्पराले सामाजिक एकतालाई बल पुर्याउँछ ।
तिहार भित्रको सुगन्धको रुपमा रहेको देउसे भैलेका यी आवाजहरु ‘रातो माटो चिप्लो बाटो लड्दै पडदै यहाँ सम्म आयौं – हामी त्यसै आएका होइनौं बलिराजले हुकुम दिए–यहाँ मात्र होइन सारा संसार घुम्नु पर्छ , डुल्नु पर्छ –हे घोडा बाध्ने तबेला हाम्लाई भयो अबेला’ जस्ता शब्दमा कति मिठास लुकेको छ ? अनि नाङ्लोमा फूलअक्षेतासहित चामल भेटिसहितको कात्तिकको दान देउसेभैलेलाई दिने हाम्रो परम्परा भित्रको मिठास अरु के मा पाउन सकिन्छ र ? परापुर्वकालदेखि मान्दै आएको धर्म संस्कृतिलाई राज्य पक्षबाट संरक्षण पर्छ । राज्य पक्षले आफ्ना हरेक सम्यन्त्र प्रगोग गरेर भएपनि संस्कृति परम्परा, सामाजिक मूल्यमान्यताको संरक्षण सम्बर्धनमा कुनै कसुर बाँकी राखिनु हुन्न । सुरक्षा चुनौतीका कारण देउसेभैलोलाई सीमितता गर्नु हुँदैन । सुरक्षाको नाउँमा सम्प्रदायलाई नै आँच पुग्नु पक्कै पनि राम्रो होइन । राज्यमा बसोबास गर्ने हरेक समुदायको मौलिक परम्पराको संरक्षण सम्वर्धन बराबरी ध्यान दिनुुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच