काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अस्वस्थताका कारण प्रधानमन्त्री ओलीको मंगलबारको पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गरिए । सोमबार साँझदेखि ज्वरो आउने समस्या देखिएपछि चिकित्सकहरूको परामर्शमा प्रधानमन्त्री ओलीले सरकारीनिवास बालुवाटारमै आराम गरिरहनु भएको छ ।
प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले ज्वरो देखिएकाले निवासमै आराम गर्नुभएको र स्वास्थ्य परीक्षणका लागि रगतको नमुना पठाइएको बताउनुभयो । ‘प्रधानमन्त्रीको अत्यावश्यक बाहेकका भेटघाट स्थगन गरिएको छ’, उहाँले भन्नुभयो ।
मंगलबारका नियमित कार्यतालिका स्थगित गरिए पनि गृहमन्त्री रमेश लेखकले भेटेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । ‘गृहमन्त्रीले बालुवाटार पुगेर प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बुझेर स्वास्थ्य लाभको कामना गर्नुभयो’, गृहमन्त्रीनिकट स्रोतको भनाइ छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उहाँमा डेंगु संक्रमणको आशंका गरिएको छ ।
दुईपटक मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको पाँच वर्षअघि एपेण्डिक्सको शल्यक्रिया पनि गरिएको थियो । सन् २००८ मा पहिलोपटक उहाँको मिर्गाैला प्रत्यारोपण भएको थियो । त्यसको केही समयपछि मेनिन्जाइटिसको शिकार बन्नुभएका उहाँले थाइल्याण्डमा लामो समय उपचार गराउनुभएको थियो । त्यसयता प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर उतारचढाव आउने गरेको छ । २०७६ साल फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
चीन जाने तयारी
अचानक अस्वस्थ भए पनि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीलाई तीव्रता दिएका छन् । अनौपचारिक संवादपछि चीन सरकारले प्रधानमन्त्रीलाई औपचारिक निम्तो पठाएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी मंसिर १७ गतेदेखि २१ गतेसम्म औपचारिक भ्रमणका लागि ओलीलाई निम्तो पठाएको परारष्ट्र स्रोतले जनाएको छ । दुवै देशका अधिकारीहरूको निरन्तरको संवाद र तयारीपछि प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको मिति तय भएको हो । प्रधानमन्त्री ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुभएको थियो । अमेरिका भ्रमणकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग प्रधानमन्त्री ओलीले साइडलाइन वार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नियमित एजेण्डाबाहेक बिआरआई कार्यान्वयनको मुद्दालाई चासोका साथ हेरिएको छ । भारतबाट पहिलो औपचारिक भ्रमण गर्ने योजना बनाए पनि भारतीय पक्षले समय नमिलाएपछि प्रधानमन्त्री ओली आफैँले चीन भ्रमणका लागि अग्रसरता लिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच