काठमाडौं । सहकारीको रकम अपचलन अभियोगमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासत बसाइ थप लम्बिएको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्धकसमेत रहनुभएका लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै उहाँको हिरासत बसाइ लम्बिएको हो । मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि सरकारी वकिलको कार्यालयले २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । म्याद थपको समय कात्तिक १४ गतेदेखि गणना भएर कात्तिक २३ मा सकिनेछ ।
लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की पुर्याइएको थियो । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि सात दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उहाँलाई अदालतमा उपस्थित गराइएको हो । यसअघि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट कमला काफ्लेले बहस गर्नुभएको थियो । जाहेरीवालाको तर्फबाट बहस गर्दै युवराज पराजुलीले सहकारी ठगीको संगठित अपराधबाहेक लामिछाने अरू अपराधमा समेत संलग्न देखिन सक्ने भएकाले म्याद थप गर्नुपर्ने बताउनुभएको थियो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले १८ दिन हिरासतमा राख्दा पनि अनुसन्धान नसक्नु बदनियत रहेको दाबी गर्नुभएको थियो । उहाँले म्याद थप गर्नु आवश्यक नभएको जिकिर गर्नुभएको थियो ।
रविसँगै मिडियाका सञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशीलाई पनि थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोही कसुरमा पक्राउ पर्नुभएका लीला पछाईं र रामबहादुर खनाललाई १० दिन हिरासतमा राख्न म्याद थप गरिएको हो । जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले फेरि म्याद थप गर्न आवश्यक नभएको जिकिर गर्नुभएको थियो ।
पोखरामा प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी, रास्वपा समर्थकमाथि अश्रुग्यास प्रहार
सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी गर्दै मंगलबारसमेत पोखरामा प्रदर्शन गरेका थिए । पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका थिए । सो क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको शहीद चोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी भएको थियो । लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि मंगलबार अदालत लैजाँदै गर्दा बाहिर रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास चलाएको थियो । त्यसपछि आक्रोशित कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
लामिछानेलाई बुटवल ल्याउने तयारी
सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेलाई बुटवल ल्याउने तयारी गरिएको छ । तर, कसरी ल्याउने भन्ने विषयमा प्रहरी अझै निचोडमा पुगेको छैन । छठमा भिडभाड हुने भएकाले २२ गतेपछि पनि ल्याउन सकिने गरी रुपन्देही प्रहरीको तयारी छ । प्रहरीले रुपन्देही जिल्ला अदालतबाट कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न हिरासतमा रहेका लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिइसकेको छ । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानविन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका-९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा दुई करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ । दुई करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले एक करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उहाँ गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै, गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि दुई करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ ।
रविमाथि सरकारले प्रतिशोध लिन खोजेजस्तो देखियो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा संसदीय विशेष छानविन समितिले सफाइ दिएको जिकिर गर्नुभएको छ । समितिले सफाइ दिए पनि सरकारले प्रतिशोधपूर्वक रविलाई पक्राउ गरेको उहाँले बताउनुभयो । प्रचण्ड निवास खुमलटारमा देउसी खेल्न पुगेको इन्द्रेणीका कलाकारको टोलीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्दाखेरि सबै सुरक्षा निकायबाट सहकारी ठगीको विषयमा रविको संलग्नताबारे बुझेको स्मरण गर्नुभयो । त्यसबेला रविको कुनै गल्ती नरहेको रिपोर्ट सबैतिरबाट पाएपछि संसद्मा उभिएर बोलेको उहाँले बताउनुभयो । ‘छानविन समितिले सहकारीमा रवि लामिछाने दोषी देखिएनन् भनेर सफाइ दियो । समितिका अध्यक्षले नै सहकारीमा रविको दोष देखिएन भनेर सार्वजनिक रूपमा बोल्नु पनि भएको छ,’ उहाँले भन्नुभयो, ‘तर गोर्खा मिडियामा सहकारीको पैसा प्रयोग भएकोमा भने अनुसन्धान हुनुपर्छ भनेर समितिले भन्यो । त्यही विषयमा रविलाई गिरफ्तार गरिएको छ । त्यसमा पनि रविको दोष छ भने कारबाही गर्न हुँदैन भन्ने मेरो कहीँ कतै भनाइ छैन । दोषी छ भने कारबाहीको दायरामा आउनुपर्छ । तर, अहिले सरकारले गरेको पूर्वाग्रही छ भन्ने भनाइ हो मेरो । रविलाई मात्रै गिरफ्तार गरेर प्रतिशोध लिन खोज्याजस्तो देखिया छ, त्यो बेठीक छ भन्ने मेरो भनाइ हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच