काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालस्थित गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ । नेपाल र गणतन्त्र इण्डोनेसियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इण्डोनेसिया सरकारले विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मान गरेको हो । इण्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको अवार्ड इण्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इण्डोनेसियाली परराष्ट्रमन्त्रीतर्फबाट नेपालस्थित इण्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । सम्मानले नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवद्र्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको बताइएको छ । सो अवसरमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताउनुभयो । ढकालले सम्मानका लागि इण्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै पुरस्कारले आफूलाई दुई देशबीच आपसी सहकार्य, विकास र समृद्धिका लागि काम गर्न थप प्रेरणा मिलेको बताउनुभयो ।
नेपाल र इण्डोनेसियाबीच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीलाई भिषा फ्रि सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमण सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले इण्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारीअघि इण्डोनेसिया जाने नेपालीहरूलाई अन अराइभल भिषा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले पुनः सुचारु गर्न इण्डोनेसिया सरकारसँग आग्रह गर्नुभयो ।
यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरूप इण्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुहुन्छ । कार्यक्रममा विभिन्न देशका राजदूत, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच